#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21062471752580641542513894466
नेपाल2495795802516837

स्वाब सङ्कलन सुस्त, सङ्क्रमण घट्दै

सांकेतिक तस्वीर

धनगढी । कोभिड–१९ को जाँचको दायरा बढाउनुपर्ने माग उठिरहेको समयमा सुदूरपश्चिम प्रदेशमा दैनिक स्वाबको नमूना सङ्कलन सुस्त भएको छ । आरडीटी पोजेटिभ देखिएका, लक्षण देखिएका शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका क्रममा सङ्क्रमितको सम्पर्कमा आएकाको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो पटकको मापदण्ड पालना गर्नुपर्ने भएकाले स्वाबको नमूना सङ्कलनमा कमी आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

मन्त्रालयको तथ्याङ्कका अनुसार, पछिल्लो दुई दिनमा जम्मा ६ सय १ जनाको मात्र नमूना सङ्कलन भएको छ । दुई हप्ता अघिसम्म दैनिक पाँच सयदेखि छ सयसम्म शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन हुने गरेको थियो । पर्याप्त नमूना सङ्कलन नभइरहेको र यसअघि परीक्षणका लागि सङ्कलित नमूनाको चाप पनि घट्दै गएको छ । शनिबारसम्म जाँच गर्नुपर्ने नमूना ९ सय ११ मात्र बाँकी छन् ।

गत जेठ महिनामा उकालो लागेको सङ्क्रमण दर पछिल्ला दिनमा घट्दै गएको छ । शनिबार कञ्चनपुरका तीन जनामा मात्र कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ । यससँगै प्रदेशमा कूल सङ्क्रमित ३ हजार ७ सय ५८ पुगेका छन् । यसबाहेक सुर्खेतस्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

जिल्लागत रुपमा हालसम्म कैलाली ९ सय ९४, अछाम ५ सय ९२, बैतडी २ सय ९८, बझाङ १ सय ५९, बाजुरा ४ सय ४६, डडेलधुरा २ सय ६९, दार्चुला १९, डोटी ५ सय ३५ र कञ्चनपुरमा ४ सय ४६ जना सङ्क्रमित पुगेका छन् । ९ सय ९४ सङ्क्रमित पुगेको कैलाली जिल्ला देशभरमै सम्भवतः सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाका रुपमा देखिएको छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भारतबाट आउनेहरुको सङ्ख्या र क्वारेन्टाइनमा बसेकाहरुको संख्या घट्दै गएको जस्ता कारणले सङ्क्रमण दर घटेको बताए उनले भने–‘सीमामा आइपुग्नेहरु को कहाँ गइरहेका छन् भन्ने यकिन जानकारी थाहा नहुँदा पछिल्ला दिनमा स्वाब सङ्कलनमा पनि कमी आएको छ ।’

आगामी चार पाँच दिनभित्रमा प्रदेशका सबै क्वारेन्टाइनहरुमा बसेका शङ्कास्पदको स्वाबको नमूना सङ्कलन गर्ने गरी तयारी गरिएको डा. अवस्थीले जानकारी दिए । सीमा नाकाबाट आउनेहरुको उचित व्यवस्थापन नभई पछिल्ला दिनमा आफू खुशी ढङ्गले गन्तव्यमा जाने गरेको देखिएकाले सङ्क्रमण अब समुदायमा देखिने जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ । प्रदेशमा पहिलोपटक गत चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । गत वैशाख महिना शुरु हुँदासम्म पाँच जना सङ्क्रमित फेला परेकामा यसपछिको झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर देखिएको थियो ।–रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार