प्रदेश नं २ : कोरोना सङ्क्रमितको वृद्धिले सर्वसाधारण त्रसित

प्रदेश नं २ : कोरोना सङ्क्रमितको वृद्धिले सर्वसाधारण त्रसित


जनकपुर ।

प्रदेश नं २ मा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले यहाँका बासिन्दा सन्त्रासमा छन् । यस प्रदेश अन्तर्गतका आठवटै जिल्लामा कोरोना सङ्क्रमित भेटिएको र यसको सङ्ख्यामा गुणात्मक रुपमा वृद्धि भएका देखिँदा बासिन्दामा सन्त्रास देखिएको हो । ०७६ चैत ३० गते यस प्रदेशमा पहिलोपटक पर्सा र बारा जिल्लामा तीन÷तीनजना गरी छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ठीक एक महिनाको अवधिमा १२ गुणाले वृद्धि भई वैशाख ३० गतेसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या ७२ पुग्यो ।

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा चौध जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि अब यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्यामा १२२ पुगेको छ । नयाँ थपिएका कोरोना सङ्क्रमितहरुमा महोत्तरीको दुई, धनुषाको दुई र रौतहटको १० जना रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यसैबीच, यस प्रदेशमा आजसम्ममा पाँच हजार ३६९ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सो मध्ये चार हजार २८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ९५८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यस प्रदेशको १८३ वटा क्वारेन्टाइनमा दुई हजार ६७३, होम क्वारेन्टाइनमा चार हजार ७६४ र आइसोलेशनमा १०६ जना बसेका छन् । सङ्क्रमितमध्ये दुईजना उपचारबाट निको भई घर फर्केका छन् भने अन्यको उपचार भइरहेको छ ।

यस प्रदेशको आठवटै जिल्लाको सीमाना भारतको विहार राज्यसँग जोडिएको छ । अब विहारमा व्यापक रुपमा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ । विहारको सीमावर्ती ग्रामीण क्षेत्रमा कोरोनाको प्रभाव बढेमा यस प्रदेशको सीमावर्ती गाउँहरु पनि अछुतो रहन नसक्ने डरले मन पिरोलिन थालिएको जनकपुरको पशुपतिनाथ झाको धारणा रहेको छ ।

यस प्रदेशका ठूलो सङ्ख्यामा भारतमा रोजगार गर्न र अध्ययन गर्न भारत पुगेका व्यक्तिहरु फर्कने र उनीहरुमध्ये कतिपय व्यक्ति कोरोना सङ्क्रमित हुन सक्ने डरले पनि यहाँका बासिन्दा चिन्तित हुन थालेका छन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरमा शुरुको अवधिमा लकडाउनलाई अलि हलुका रुपमा लिएको, जब जनकपुरमा कोरोना सङ्क्रमितहरु फेला पर्न थालेपछि जनकपुरवासी बढी सतर्क भएको र लकडाउनको पालना गरिरहेको अरुण झाले बताए। कतिपयले एकले अर्कालाई कोरोना सङ्क्रमित होला कि मनको भयले यतिखेर घरबाट ननिस्कने, निस्केको अवस्थामा सामाजिक दूरी कायम गर्नेतर्फ सचेत भएको देखिएको छ ।

भारतमा दैनिक चार हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिने क्रम जारी रहेको छ। भारतको दिल्ली, मुम्बई, अहमदावाद, पञ्जाव लगायतका प्रदेश कोरोनाबाट बढी सङ्क्रमित छन् । सोही कारणले गर्दा भारतबाट आउने नेपाली नागरिकलाई स्थानीय क्वारेन्टाइनमा राख्नका लागि प्रदेश सरकारले थप क्वारेन्टाइन स्थापना गर्ने तयारीमा जुटेको छ ।

यस प्रदेशमा अहिलेसम्म १८३ वटा क्वारेन्टाइन छन् । चार हजार ५७६ जना बस्ने सो क्वारेन्टाइनमा यतिखेर दुई हजार ३८२ जना बसेका छन् । भारतबाट आउने मानिसलाई राख्न थप क्वारेन्टाइन बनाउनका लागि सरकारले पहल शुरु गरिसकेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए ।रासस

Skip This
Logo