#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20812596747330635185813713408
नेपाल2443291761316728

काठमाडौंका सडकमा बाक्लिए सार्वजनिक यातायात (भिडियाेसहित)

काठमाडौं ।

लकडाउन खुकुलो भएसँगै सरकारले गत असार १६ गते छोटो दूरीमा सार्वजनिक यातायात निश्चित मापदण्ड तथा प्रोटोकल अपनाएर सञ्चालन गर्न अनुमति दिएपछि उपत्यकाका सडकमा सार्वजनिक यातायातहरू बाक्लिँदै गएका छन् । तर,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायत अन्य मजदुर सङगठनहरुले सरकारसँग विभिन्न माग राख्दै तत्काल गाडी सञ्चालन गर्न नसकिने भन्दै अहिलेसम्म गाडी सञ्चालनमा ल्याएका छैनन् ।

महासंघसँग आवद्ध नभएका मयूर यातायात, कान्तिपुर, संयुक्त यातायात, सुन्दर यातायात, महानगर र सरकारी स्वामित्वको साझाले समेत बस सञ्चालनमा ल्याएका छन् भने ट्याक्सी तथा ट्याम्पोले पनि विभिन्न रुटमा केही दिन देखि सेवा सञ्चालनमा ल्याएका छन् । काठमाडौं उपत्यकामा साझा यातायातले ८ रुटमा २६ वटा बस सञ्चालनमा ल्याएको छ । तर, तत्काल उपत्यकाबाहिर सेवा दिन सक्ने अवस्था भने नरहेको साझाले जनाएको छ । सरकारले तोकेको ५० प्रतिशत भाडा वृद्धी भन्दा केही कम भाडा दरमै साझाले सवारी सञ्चालनमा ल्याएको हो ।

यसरी केहि यातायातले गाडी सञ्चालनमा ल्याए पनि यातायात व्यवसायी महासंघ तथा मजदुर सङगठन भने ठूला नेता तथा सरकारसँग लभिङमा व्यस्त हुन थालेका छन् । उनीहरुले बुधबार नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवालाई र बिहिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

त्यस्तै ,बुधबार यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दुरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव अगाडि सारेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले वातावरण सहज बने लामो दूरीको यातायात सञ्चालन गर्ने प्रस्ताव गरिएको बताए ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीम ढकालले सवारी सञ्चालनका लागि जारी भएको प्रोटोकलका विषयमा छलफल भएको बताएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारी सञ्चालन गर्दा कोरोनाले पार्न सक्ने प्रभाव नियन्त्रण र न्यूनीकरणका विषयमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । सरोकारवालासँगको वृहत छलफलपछि सवारी सञ्चालनका लागि ‘एक्सनप्लान’ बनेको उनको भनाइ छ ।

व्यवसायीहरुले बैँक तथा वित्तिय संस्थाको किस्ता स्थगन गर्नु पर्ने, पुनःकर्जाको व्यवस्था गर्नु पर्ने, कागजात नविकरणलाई सहजता बनाउनु पर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गर्नु पर्ने, श्रमिकहरुको क्षतिपूर्ति सहितको कोरोना विमा हुनु पर्ने, मजदूरलाई स्वास्थ्य सामाग्री तथा पिपिईको व्यवस्था मिलाउन माग राख्दै आएका छन् । यातायात व्यवसायी र प्रधानमन्त्रीको भेटमा यातायात क्षेत्रको समस्या समाधानका लागि सरकार गम्भीर रहेकाले यसको सहजीकरणका लागि सरोकारवाला निकायलाई निर्देशन दिने प्रधानमन्त्रीले बताएका महासंघले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु