#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19569958724554628056512564839
नेपाल2221470633015814

गाउँघरबाट पनि हराउँदै लुतो फाल्ने चलन, साउन एक भएन विशेष

नुवाकोट ।

साउने सङ्क्रान्तिका दिन नुवाकोटका विभिन्न ठाउँमा लुतो फाल्ने चलन हराउँदै गएको छ । श्रावण कृष्ण एकादशीका दिन आज नुवाकोटका विभिन्न स्थानमा साउनमा हर्ष र उमङ्गका साथ लुतो फाल्ने चलन थियो । अहिले समयमा जिल्लाका धेरै ठाउँका स्थानीयवासीले लुतो फाल्न बिर्सिसकेका छन् ।

जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय रहेका छन् । जिल्लाका सबै ठाउँमा प्रायजसो लुतो फाल्ने चलन लोप भइसकेको छ । आजकल मानिसले सास्ंकृतिक कुरा भुल्दै गएको तारकेश्वर गाउँपालिका–४ बुधसिंहका पण्डितले रुद्रप्रसाद देवकोटाले बताए । देवकोटा भन्छन् , “साउनको पहिलो सोमबारदेखि शिवको ब्रत बसी पूजाआराधना गरिन्छ । पार्वतीले साउन महिनाभरि निराहार कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुन् । बुधसिंहमा पहिला, पहिला लुतो फाल्ने चलन थियो । पूजाआराधना गरेर ब्रत बसी साँझका समयमा साइत हेरेर मात्र फाल्ने चलन थियो । अबको पुस्ताले न लुतो फाल्छ, न साउने सङ्क्रान्ति नै मनाउँछ ।’

उनका अनुसार लुतो फाल्ने दिन गाउँका महिला, घरमूलीलाई भ्याईनभ्याई हुन्थ्यो । लुतो फाल्ने सामग्री जङ्गलमा गएर जुटाउनै दिनभरि लाग्ने गर्थ्यो ।

स्थानीयवासी झङ्कबहादुर वस्तीले १५÷२० वर्ष अघिसम्म लुतो फाल्ने चलनलाई चाडकै रुपमा लिने गरेको बताए। वस्ती भन्छन् , ‘लुतो फाल्नकै लागि जमानामा म आफैँ लुतो फाल्ने सामग्री हाम्रै वन, जङ्गल र बारीका कान्ला, खोल्चामा खोज्दै हिँड्ने गरेको थिएँ । अब त चलन पनि हरायो, कोही छोरा विदेश, कोही आफ्नै जागीरको सिलसिलामा शहर केन्द्रित भए ।अब को लुतो फाल्ने दिन भनी सम्झेर गाउँमा आउँछन् र ?’

उनका अनुसार कुकुर दाइना, भलायोको पात, कुरिलो, पानीसरो, पुरेनी गलेनी, लजावती काँडाँ, धयँरी, अरेलीको काँडा, अँयरी, फड्काइलो, चिलाउनेको पात, कटुस, भक्केअमिलो, बुट्टीझार, चरीअमिलो, बकाइनो, रुदिलो लगायत बर्खामा पाइने वनस्पति र मकैलाई लुतोको विशेष सामग्रीका रुपमा लिएर साँझपख थाल ठटाउँदै विधिपूर्वक फाल्ने चलन थियो ।

विदुर नगरपालिका–३ भोर्लेकी मैयाँदेवी खड्काले लुतो फाल्ने साउनको संक्रान्तिका दिन नमनाउँदा घाउखटिरा आउने, बिरामी हुने पुरानो विश्वास रहेको बताइन् । ‘ लैजा है मूलथला डाँडा, लुतो लैजा भनेर कराउँदै अरेलीको दाउरा र कुरिलो जलाउँदै बलिरहेको अगुल्टो हातमा लिई कराउने गरेको उनको सम्झना छ ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित पनि नुवाकोटका प्रायः ठाउँहरुमा लुतो फाल्ने चलन हराउँदै गएकामा असन्तुष्ट छिन् । पण्डित भन्छिन् , ‘नेपाली समाजमा साउने सङ्क्रान्तिलाई लुतो फाल्ने विशेष दिनका रुपमा लिने गरेको पाइन्छ तर हामीले पुराना चलनलाई भुल्दै गएका छौं, यो राम्रो भएन ।’रासस

सम्बन्धित समाचारहरु