दशगजामा नेपालीको बिजोग, भारत र नेपाल कसैले नहेरेको गुनासो

दशगजामा नेपालीको बिजोग, भारत र नेपाल कसैले नहेरेको गुनासो


काठमाडौं ।

नेपालको पूर्वदेखि पश्चिमसम्मका सीमा क्षेत्रहरुमा हजारौं प्रवासी नेपाली अलपत्र अवस्थामा छन् । यसरी दशगजामा अलपत्र पर्नेहरु केही स्वेच्छाले आएका छन् भने कतिपयलाई भारत सरकारले नै ल्याएर छोडेको बताइन्छ ।

कोभिड १९ को महामारी नियन्त्रण गर्न नेपाल र भारतबीच जुन देशका नागरिक जहाँ छन् त्यहीं गाँसबासको व्यवस्था गरी सुरक्षित राख्ने सहमति भएपनि भारतले त्यसको पालना नगरेको देखिन्छ । भारतले सहमति विपरित दशगजामा ल्याएर नेपालीहरुलाई खानाको समेत व्यवस्था नगरि राखेको पूर्वी नाका मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताए । सीमानामा अलपत्र प्रवासी नेपालीलाई देशभित्र ल्याउनु पर्ने भएकाले क्वारेन्टाइनको व्यवस्था गरिरहेको नगर प्रमुख आचार्यको भनाइ छ ।

“भारतले नेपालप्रति जहिले हेपाहा प्रवृत्ति देखाउँदै आएको छ,” प्रमुख आचार्यले भने “पश्चिम बंगालसँग जोडिएको काँकडभिट्टा पानीट्यांकी बोर्डरमा १ हजार ५ सय नेपाली छन्, सबैलाई व्यवस्थित ढंगले राख्न झापाका १५ वटै पालिकाबीच समन्वय भइरहेको छ ।”

यस्तै पाँचथर जिल्लामा पनि भारतीय नाकाबाट प्रवासी नेपालीहरु प्रवेश गर्न थालेपछि सीमा नाकाका होल्डिगंस्थलबाट स्कृनिङ र परीक्षण गरेर जिल्लाका क्वारेन्टाइनमा राखिने भएको छ । सदरमुकाम फिदिममा ५ सय र अन्य पालिकाहरुमा एक एक सय शैयाको क्वारेन्टाइन निर्माण गर्ने प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताए ।

यसैबीच कन्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ बसही खुला सीमाना भएर नेपाल प्रवेश गर्न खोज्ने २६ नेपालीलाई पनि फिर्ता पठाइएको छ । उनीहरुलाई गौरिफन्टा नाकाबाट स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न अनुरोध गरिएको वडा नम्बर १ अध्यक्ष रतन बहादुर शाहीले बताए । वडाध्यक्ष शाहीका अनुसार सयौं नेपाली सीमाक्षेत्रमा अलपत्र अवस्थामा रहे पनि उनीहरुलाई बिना व्यवस्थापन प्रवेश निषेध गर्न सशस्त्र प्रहरी र जनप्रतिनिधी अहोरात्र सक्रिय छन् ।

लकडाउनकै समयमा भारतमा रेल सेवासशुरु गरिएपछि अहिले दैनिक हजारौँ नेपालीहरूको संख्या सीमानाकामा बढ्न थालेको छ । बाँके, रुपन्देही र कपिलवस्तुको सीमावर्ती क्षेत्रमा मात्रै चार हजारभन्दा बढी प्रवासी नेपाली स्वदेश प्रवेशको पर्खाइमा छन् । दशगजा लगायत नाकामा अलपत्र परेका उनीहरुमध्ये कोही भारतीय क्वारेन्टाइनमा बसेका छन् भने कतिपय सडकमै भोकभोकै बस्न विवश छन् ।
केहीलाई स्थानीय निकायले क्वारेन्टाइनमा राखेको भएपनि धेरै संख्यामा रहेकाले गाँसबासको राम्रो प्रबन्ध हुन सकेको छैन । प्रशासनस्रोतका अनुसार जोगवनी, भिट्टामोड, रक्सौल, रुपेडिया सबै नाका क्षेत्रमा अलपत्र अवस्थामा प्रवासी नेपाली छन् ।

त्यस्तै दार्चुलाको सीमाना धार्चुला, बैतडीको झुलाघाट, कञ्चनपुरको बनवासा, भैरहवाको नौतुहवा, कैलालीको गौरीफन्टा लगायतका नाकाहरुमा पनि नेपालीहरु अलपत्र अवस्थामा छन् । उनीहरुको उचित व्यवस्था नहुँदा स्वास्थ्य अवस्था बिग्रिंदै गएको छ भने कोरोना भाइरस संक्रमणको जोखिम पनि बढ्दो छ । सुरक्षाको राम्रो व्यवस्था नभएका कतिपय सीमानाकाबाट नेपाली तथा भारतीयहरु लुकिछिपी नेपाल प्रवेश क्रम पनि जारी छ ।

Logo