२७ औं मदन-आश्रित स्मृति दिवस : सम्झनामा जननेता मदन भण्डारी

२७ औं मदन-आश्रित स्मृति दिवस : सम्झनामा जननेता मदन भण्डारी


काठमाडौं ।

जननेता मदन भण्डारीको जन्म वि.सं. २००९ साल आषाढ १४ गते इस्वी संवत् जून २७, १९५२ मा पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको थियो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको कोखबाट माहिँला सन्तानको रूपमा उनको जन्म भएको थियो । मदन भण्डारीले प्रारम्भिक शिक्षा गाउँबाटै शुरु गरेका थिए । मदन भण्डारी तृष्ण बुद्धिका धनी थिए  । त्यसैले त अप्ठेरा पाठहरू पनि दुईपटक पढेपछि सधैँका लागि कण्ठ गर्न सक्ने क्षमता राख्थे । अक्षर चिन्न भर्खर शुरु गर्दा नै चण्डी कण्ठाग्र गर्दा उनी जिल्लाभर चर्चित थिए ।

भण्डारीले वि.सं. २०२३ मा गाउँको पढाइ पूरा गरेका थिए । वि.सं. २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाईसराई गरेको थियो । पछि उनी भारतको मथुरामा अध्ययन गर्न गएका थिए । दुई वर्ष मथुरामा अध्ययन पूरा गरेपछि वि.सं. २०२८ मा बनारस पुगेका भण्डारीले वि.सं. २०३३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए । वि.सं. २०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका थिए । वि.सं. २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्दा भण्डारी केन्द्रीय सदस्य बनेका थिए । वि.सं. २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए । बनारसमा हुँदा संगठित रूपमा क्रियाशील राजनीतिज्ञसँग नजिक हुने मौका पाएका थिए । वि.सं. २०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरिएको थियो । त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी वि.सं. २०३४ सालमा नेकपा (माले) को स्थापना हुनुभन्दा पूर्वको अर्डीनेशन केन्द्रमा आवद्ध भई मुक्तिमोर्चा समूहलाई नै त्यसमा विलय गराइएको थियो ।

वि.सं. २०३५ सालमा नेकपा (माले) स्थापना भयो र मदन भण्डारी केन्द्रिय सदस्य बनेका थिए । उनी वि.सं.२०३९ सालमा विद्या पाण्डे भण्डारीसँग वैवाहिक बन्धनमा बाँधिएका थिए । विद्यादेवी पाण्डे भण्डारी अहिले राष्ट्रपति छिन् । उनीहरूको कोखबाट दुई छोरी (उषाकिरण र निशाकुसुम) जन्मिएका थिए । वि.सं. २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र वि.सं. २०४६ सालमा नेकपा (एमाले) को चौँथो महाधिवेशनमा महासचिव बनेका थिए । वि.सं. २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले (मार्क्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी) को महासचिव बनेका थिए । वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी भण्डारी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

जीवनका लागि सिद्धान्त होइन सिद्धान्तका लागि जीवन हुनपर्छ, पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन, सिद्धान्तलाई व्यवहारमा लागू गरिदैन । वचन अनुसार काम गरिदैन र नाराहरुलाई कार्यरुप प्रदान गरिदैन भने तिनीहरुको दुई पैसाको पनि मोल हुँदैन, आत्मालोचनाले केवल नम्रतालाई मात्र जाहेर गर्दैन कामलाई योग्यतापूर्वक सम्पादन गर्नका निम्ति आफ्नै विगतबाट सिक्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्छ, अनुशासन विनाको स्वतन्त्रता स्वेच्छाचारिता हुन्छ र स्वतन्त्रता विनाको अनुशासन निंरकुशता हुन्छ, क्रान्ति यतास्थितिको मात्रात्मक विकल्प मात्र होइन त्यो गुणात्मक विकल्प हो र राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन भन्ने उनका भनाइ नेपाली समाजमा निकै चर्चित छन् ।

त्यस्तै काग कराउँदै गर्छ हात्ती हिड्दै गर्छ, पिना सुक्दै गर्छ, राजा मान सम्मानलाई उपभोग गर्दै किनारमा बसिबक्सियोस महाराज हात नलम्काइ बक्सियोस, प्रजा नचम्काइ बक्सियोस आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्सियोस, यदी सन्डमुसन्डलाई चलाउने हो भने यदी सन्डमुसन्डाई नै अगाडि ल्याउने हो भने महाराजले पनि श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता बनेर आउनु पर्यो र साहित्यमा प्रयोग हुने सिंहावलोकन । सिंहावलोकन भनेको सिंहले चार पाइला हिड्छ रे यस्सो पछाडी फर्किए र हेर्छ रे कहिँ बेठिक त भइरहेको छैन जस्ता भाषण निकै चर्चित थिए ।

उनले नेपालमा कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिक बाटोमा हिँडाउन अतुलनिय योगदान पुर्याएका थिए । उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला जनताको बहुदलीय जनवाद (जबज) को नेपालमा आधारस्तम्भ निर्माण गरेका थिए । जुन जबज माक्सवार्दको नेपाली संस्करण थियो । विश्व प्रसिद्ध पत्रिका न्यूज व्हीकले छापेको मदन भण्डारीको अन्तवार्तामा ‘इन नेपाल माक्स लिभ्स’ अर्थात नेपालमा कालमाक्स जीवित छन् भनेर उल्लेख गरेको थियो । वि.सं २०४९ सालमा तत्कालीन नेकपा एमालले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनको रुपमा प्रस्तावित गरिएको थियो । मदन भण्डारीलाई विश्व तथा नेपाली कम्युनिष्ट आन्दोलनमा लाग्नेहरुले आफ्नो आर्दश पुरुषका रुपमा लिँदै आएका छन् ।

नेकपाकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलले मदन भण्डारीको स्मृती दिवस आफ्ना लागि निकै कारुणिक भएको बताइन् । उनले भनिन्–‘आज जेष्ठ ३ गते मेरो लागि अत्यान्तै मार्मिक दिन लाग्छ । हामीले चिवनमा केन्द्रीय महिला भेला राखेका थियौ । मैले नै दुबै जना कमरेडलाई निम्ता दिएकी थिए । केन्द्रीय महिला भेलामा प्रशिक्षण दिन आउनुहोस भनेर । उहाँहरु पोखराबाट आउने क्रममा दासढुङगामा दुःखद निधन भयो । हाम्रो लागि पनि त्यही दिन अन्तिम भयो । उहाँहरु मदन कमरेड र जीवराज कमरेडप्रति हार्दिक श्रद्धान्जलि दिन चाहान्छु । उहाँहरुको योगदानले नेपाली कम्युनिष्ट आन्दोलन आजको स्थितिमा आएको छ ।’

‘देशलाई समृद्ध, नेपाल सुखी’ नेपालीको आकांक्षा पूरा गर्न अगाडि बढेको समयमा मदन भण्डारीको जनताको बहुदलीय जनवादले सहयोग पुग्ने उनको भनाइ छ । मदन भण्डारीको माक्सवार्द–लेलिनवादलाई आँखा चिम्लेर होइन आफ्नै देशमा सिर्जनात्मक रुपमा प्रयोग गर्नुपर्छ भन्ने विचारले नेकपा आज यस अवस्थामा आएको उनले बताइन् । तत्कालीन समयको जनताको बहुदलीय जनवाद समयानुकुल परिमार्जन गर्नुपर्ने अवस्था आएको भन्दै जनताको बहुदलीय जनवादलाई छोडेर नेकपाले छाेडेर हिड्न नसक्ने उनको तर्क छ ।

त्यस्तै नेकपाकै स्थायी कमिटी सदस्य युवराज ज्ञवाली मदन भण्डारी र जीवराम आश्रितको निधनले नेपाली कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनले अपुरणीय क्षति बेहोरेको बताउँछन् । अहिलेको नेकपाले मदन भण्डारीबाट प्रतिपादित जबजको सिद्धान्त विर्सिएकोप्रति उनको दुखेसो छ । जबजको सिद्धान्त एकतिर र पार्टी र सत्ता सञ्चालन अर्कोतिरबाट हुँदा शीर्ष नेतृत्वबाट विरोधी आवाजलाई निस्तेज पार्ने नीतिले मदन भण्डारीलाई गिज्याइ रहेको उनको अ‌ाराेप छ । जबजको सिद्धान्त एकातिर कार्यशैली अर्कोतिर हुँदा पार्टीभित्र अन्तरविरोध चलिरहेको भन्दै एक्लौटी सत्ता र पार्टी चलाउने योजनाको आधारमा व्यक्तिगत स्वार्थमा लाग्दा नेकपाले जननेता भण्डारीलाई उचित सम्मान गर्न नसकेको उनले बताए ।

उनले भने–‘मदन कमरेडले प्रतिपादन गरेको नीति, सिद्धान्त र विचार एकातिर छ र अहिलेको नेतृत्वकर्ताको कार्यशैली अर्कोतिर । कुनै पनि हिसाबले जबजबको सिद्धान्त र नेतृत्वको कार्यशैली मेल खाँदैन । एकलौटी सत्ता र पार्टी कब्जा गर्ने नीति जनताको बहुदलीय जनवाद र माक्सवाद विरोधी विचार हो । अहिलेको नेतृत्वले अपनाउन खोजेको नीतिले पार्टीभित्र समस्या देखा परेको हो । पार्टी र सत्ता सञ्चालनमा जबजब विरोधी मान्यता देखा परेको छ । जुन जबज विरोधी मात्र होइन लोकतन्त्र र नेपाली कम्युनिष्ट आन्दोलन विरोधी मान्यता हो । जबसम्म त्यो मान्यता नेतृत्वकर्ताले छोड्न सक्दैन तबसम्म मदन भण्डारी र जीवराम आश्रितको सपना पूरा हुँदैन । साँच्चै उहाँहरुलाई नेकपाले सम्मान गर्ने हो भने वर्तमान नेतृत्व सच्चिनुपर्छ । अझै समय छ ।’

बहुदलीय जनवादको व्याख्या गर्ने एवं नेकपा एमालेका महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा रहस्यमय निधन भएको थियो । दुर्घटना पछि जीवराज आश्रितको गाडीमै मृत अवस्थामा शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल पश्चिम चितवनको गाजिपुर भन्ने ठाउँमा शव फेला परेको थियो ।

नेकपा एमाले कास्कीको जिल्ला अधिवेशन सकेर चितवनको चैनपुरमा जेठ २ देखि शुरु भएको अखिल नेपाल महिला संघको केन्द्रीय भेलालाई सम्बोधन गर्न आउने क्रममा दासढुङ्गामा कार दुर्घटनामा परेको थियो । साे घटनाको छानबिन गर्न धेरै आयोग बनाइए पनि वास्तविकता अहिलेसम्म पनि बाहिर आउन सकेको छैन । नेपाली समाजको वास्तविकतालाई जनबोलीमा मिसाएर बोल्न सक्ने मदन भण्डारी नेपालीका सामू मिठो बोलि बोलेर घण्टैसम्म भीडलाई आफूतिर तान्न सक्ने नेताको रुपमा परिचित थिए । बोल्ने कलामा उनको जस्तो खुवी नेपाली कुनै पनि नेताको नभएको भन्ने गरिन्छ ।

नेपाली राजनीतिका शिखर पुरुष मदन भण्डारीको अवसान नेपाली राजनीतिकै लागि अपुरणीय क्षति हाे । देशको राजनीतिमा धेरै मान्छे आउँछन र जान्छन । इतिहासले ती मध्येका केही केही मानिसलाई मात्र स्मरणयोग्य बनाउँछ । इतिहासले स्मरणयोग्य बनाउने नेतामध्येकै एक नेता हुन मदन भण्डारी । भण्डारीको सिर्जनात्मक माक्सर्वाद सम्बन्धी धारणाले विश्व जगत नै प्रभावित छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवाद (जबज) अहिलेको नेपालको विशेष परिस्थितिमा व्यवहारिक बनाउन सक्नुपर्छ । अनि मात्र उनीप्रतिको सच्चा सम्मान हुनेछ । स्वर्गिय मदन भण्डारीप्रति मेरा दुई अक्षरका साथै श्रद्धासुमन अर्पण गर्दछु । विकिपिडिया र विभिन्न सञ्चार माध्यमको सहयोगमा तयार पारिएको सामग्री

Logo