आज २७ औं मदन-आश्रित स्मृति दिवस

आज २७ औं मदन-आश्रित स्मृति दिवस


काठमाडौं ।
आज जेठ ३ गते , तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७ औं मदन आश्रित स्मृति दिवस मनाउँदैछ ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष नेकपाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउन लागेको हो ।

लकडाउनका कारण बिगत जसरी यसवर्ष औपचारिक कार्यक्रम गर्ने अवस्था नभए पनि नेकपाले उनीहरुको सम्मानमा जहाँ बाट सम्भव हुन्छ, त्यहिं बाट कार्यक्रम गर्दैछ ।

मदन आश्रितको घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो । तर अहिले भने वडा सदस्यदेखि राष्ट्रपतिसम्म नेकपाकै नेतृत्व हुँदा पनि यस विषयमा कुनै छानबिन भएको छैन । मदनकी श्रीमती विद्यादेवी भण्डारी हाल मुलुकको राष्ट्रपति छिन् ।

त्यतिबेला पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा नेता द्वय चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेका थिए । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जिवित थिए । लामाको २०६० साल साउन ११ मा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

संसारमा कम्यूनिष्ट पार्टीहरु ओरालोमा रहेका बेला मदन भण्डारी तत्कालिन मालेको नेतृत्वमा आएका थिए । त्यहीबेला उनले कम्यूनिष्टहरु देशकाल परिस्थिति अनुसार चल्नुपर्छ भन्दै ‘जनताको बहुदलीय जनवाद’ नामक नयाँ सिद्धान्त प्रतिपादन गरेका थिए । यही विचारले उनलाई देश–विदेशमा समेत चिनाएको थियो ।

बीबीसीले त सर्वेक्षण नै गर्यो, नेपालमा किन कम्यूनिष्ट बढिरहेका छन् भनेर । उसको निश्कर्ष थियो, नेपालमा कम्यूनिष्ट बढ्ने मुल कारण हुन्– मदन भण्डारी । कम्यूनिष्ट सकिए भनेर आनन्द मानेर बसेकाहरुबीच यिनै यावत कारणले उनी घाँडो सावित भए । आज पनि धेरैले मदनको मृत्युको कारण उनको लोकप्रियतालाई मान्दछन् ।

Logo