सुदूरपश्चिम प्रदेश : सीमानाकाबाट २८० नेपालीको उद्धार

सुदूरपश्चिम प्रदेश : सीमानाकाबाट २८० नेपालीको उद्धार


कैलाली ।
लामो समयसम्म भारतको क्वोरेन्टाइनमा बसेका २८० नेपालीलाई शुक्रबार कैलालीको गौरीफन्टा सीमानाकाबाट उद्धार गरी स्वदेश भित्र्याइएको छ ।

भारत, लखिमपुरखिरी जिल्लाको पलिया बजारमा व्यवस्था गरिएका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतीय अधिकारीको पहलमा बसमाफर्त् नेपाल भारत सीमानाका गौरीफन्टासम्म पुर्याइएको थियो । सीमासम्म पुर्याइएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको प्रहरी समेतको टोलीले नेपालीको उद्धार गरेको हो ।

उनीहरु भारतको क्वारेन्टाइनमा झण्डै ४८ दिन बसेका थिए । उद्धार गरिएकामा कैलाली, कञ्चनपुर, बैतडी, डोटी, बझाङ, सुर्खेत, डडेल्धुरा, दैलेख, कास्की, रौतहट, सिन्धुलीलगायत ठाउँका नागरिक रहेका उद्धारमा खटिएका जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले जानकारी दिए ।

“सीमानाकामा नै भित्र्याइएकाको स्वास्थ्यको आरडिटी टेस्टको व्यवस्था गरिएकाले उनीहरुको परीक्षण भइरहेको छ”, जोशीले भने, “उहाँहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी पठाउन लागिएको छ ।” कैलालीका क्वारेन्टाइनमा बसेका झण्डै ४५० भारतीय नागरिकलाई पनि भारत पठाउने तयारी गरिएको जोशीले बताए । भारत सरकारले लकडाउन खुकुलो बनाएसँगै त्यहाँका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीलाई सीमासम्म पुर्याउन थालेको बताइएको छ ।

कैलाली र भारतको खिरी जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा भारतमा रहेका नेपालीलाई स्वदेश भित्र्याइएको बताइएको छ । कोरोनाको जोखिम हुन नदिन नेपाल भारत सीमानाका बन्द नै रहेको छ । भारतीय राजदूतावासले नेपालका क्वारेन्टाइनमा बसिरहेका भारतीयहरुलाई भारत पठाउने व्यवस्था गरिदिन आग्रह गरेको बताइएको छ ।रासस

Logo