अध्ययनको निष्कर्ष- ‘आँखाबाट पनि कोरोना सर्न सक्छ’

अध्ययनको निष्कर्ष- ‘आँखाबाट पनि कोरोना सर्न सक्छ’


विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस आँखाबाट पनि सर्न सक्ने अनुसन्धानले देखाएको छ । नयाँ अध्ययनले एसीई–२ प्रोटिनद्धारा आँखामार्फत पनि यो भाइरस सर्नसक्ने देखाएको हो ।

यस अध्ययनले ओकुलर सेल संक्रमणको जोखिममा रहेको देखाउँछ, जसमा आँखाको कन्जङक्टिभा पनि पर्छ । ‘यस नतिजाले आँखाको कन्जङक्टिभासहित ओकुलर (आँखाको) सर्फेस सेल्स सार्स–कोभ–२ संक्रमणको जोखिममा रहेको संकेत गर्छ । त्यसकारण मानिसबाट मानिसमा हुने संक्रमणका लागि यसले पनि भूमिका खेल्नसक्छ ,’ अमेरिकाको जोन हप्किन्स विश्वविद्यालय र चीनको यात्सेन विश्वविद्यालयका अनुसन्धानकर्ताले नयाँ अध्ययनमा लेखेका छन् ।

कोभिड–१९ बाहेक अन्य कारणले मृत्यु भएका व्यक्तिको आँखाको पोस्टमार्टम अध्ययन गर्दा एसीई–२ प्रोटिन र टिएमपिआरएसएस २ भेटिएको बताइएको छ ।

अध्ययनले स्वासप्रश्वास क्षेत्रपछिको संक्रमण फैलने दोस्रो क्षेत्रका रुपमा आँखा हुन सक्ने समेत औल्याएको छ । ‘ओकुलर सर्फेस सेल्समा भएको इन्फेक्सनले आँखालाई रोग बोक्ने महत्वपूर्ण माध्यम बनाउनसक्छ ।’ अध्ययनमा उल्लेख छ । अनुसन्धानकर्ताहरुले आँखाको क्षेत्रमा काम गर्ने चिकित्सक वा स्वास्थकर्मीले अतिरिक्त सतर्कता अपनाउन जरुरी रहेको बताएका छन् ।

यसअघि पनि एक अध्ययनले कोभिड–१९ ले मानिसको कन्जङक्टिभामा संक्रमण गर्नसक्ने संभावना एक सय गुणा बढी रहेको जनाएको थियो ।

Logo