#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20820287747476635310013719711
नेपाल2443291761316728

काठमाडौं महानगरका संस्थागत र सामूदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम पढाइ हुने

काठमाडौं ।

काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ ।

महानगरले पहिलो पटक काठमाडौंँको पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङ्कको पाठ्यक्रम पढ्नु पर्ने भएको हो । महानगर क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म पठन–पाठन गराउनका लागि महानगरले स्थानीय विषयको पाठ्यक्रम तयार गरेको छ ।

महानगर भित्र ९२ वटा सामूदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेका छन् । संस्थागत विद्यालयको संख्या ६ सय ४० रहका छन् ।

यो वर्षदेखि यी सबै विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम पठन–पाठन हुनेछ । महानगरले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार, संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको जानकारी दिएको छ ।
स्थानीय सरकार गठन भइसकेपछि राज्यको नीति अनुरुप नै स्थानीय विषयको पाठ्यक्रम स्थानीय सरकारबाटै निर्माण गरी लागू गर्न लागिएको पनि महानगरले जानकारी दिएको छ ।

‘पाठ्यक्रम स्थानीय भाषा नेपाल भाषाको माध्यमबाट पठनपाठन गरिने छ,’ पाठ्यक्रम तयार गर्न महानगरले गठन गरेको पाठ्यक्रम समितिका संयोजक डा. चुन्दा वज्राचार्यले भनिन् , ‘कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन महानगरले नेपालभाषाबाट तयार गरेको पाठ्यक्रम महानगरको शिक्षा समितिबाट पारित गर्ने चरणमा छ । पाठ्यक्रम पारित हुने बित्तिकै त्यसैको आधारमा पाठ्यपुस्तक पनि तयार हुनेछ ।’

बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुने जानकारी दिइन् । ‘कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुनेछ,’ उनले भनिन् , ‘कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरेका छौँ ।’

महानगरको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ । वज्राचार्यका अनुसार काठमाडौंको रहनसहन र जनजीवन यहींको स्थानीय भाषामा जीवन्त रहने भएकोले यसको पाठ्यक्रम पनि स्थानीय नेपालभाषामै तयार गरिएको हो ।

‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने निर्णय भएको हो,’ डा. वज्राचार्यले बताइन् ।

महानगरका शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले यो विषय भाषा भन्दा पनि काठमाडौंको परिचयमा केन्द्रित रहेको बताइन् । ‘काठमाडौंमा बसोवास गर्ने मानिसहरूलाई काठमाडौंको संस्कृति, सम्पदा, रहनसहन, जनजीवन बारे परिचित गर्ने यसको मूल उद्देश्य हो । यी विषयहरू पढ्दा पढ्दै भाषा पनि स्वतः सिक्दै जाने भएकोले यसमा कुनै समस्या आउँदैन,’ उनले भने, ‘पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि शिक्षकले आवश्यकता अनुसार नेपाली र अंग्रेजीमा पनि बुझाउन सकिन्छ ।’

महानगरका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले काठमाडौंको कला, संस्कृति, सम्पदा संरक्षण गर्ने उद्देश्यले यो पाठ्यक्रम ल्याएको जानकारी दिए । उनले यो कामपाको नीतिगत निर्णय भएको भन्दै सामुदायिक र नीजि विद्यालय सबैसँग छलफल गरी अप्ठ्यारो नहुने गरी अघि बढ्ने बताए ।

 

सम्बन्धित समाचारहरु