सांसदहरूलाई राजधानी बाहिर जान रोक

सांसदहरूलाई राजधानी बाहिर जान रोक


काठमाडौं ।
संसद् चलिरहेका बेला विभिन्न जिल्लामा कोरोना भाइरसबाट संक्रमण बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर संघीय संसद्का सबै सांसदलाई काठमाडौं उपत्यका छोडेर बाहिर जान रोक लगाइएको छ ।

संसद् सचिवालयका अनुसार आआफ्नो पार्टीका संसदीय दलले मंगलबार सांसदहरूलाई उक्त सूचना प्रवाह गरेका छन् ।

संसद् बैठक सञ्चालन हुनु अघि सचिवालयले सबै सांसदको पीसीआर विधिबाट कोभिड–१९ को परीक्षण गराएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो समय विशेषतः भारतीय सीमा जोडिएका जिल्लाहरूमा संक्रमितको संख्या ह्वात्तै बढेपछि सांसदहरूलाई काठमाडौं बाहिर नजान सूचित गरिएको हो ।

राजदूतहरूलाई नबोलाइने

राष्ट्रपतिले सम्बोधन गर्ने संघीय संसद्को यसपटकको संयुक्त बैठकमा नेपालस्थित विदेशी राजदूतहरूलाई नबोलाइने भएको छ । सचिवालयका अनुसार आवासीय राजदूतमात्रै ३६ जना छन् । संसद्‍मा आमन्त्रित राख्न मिल्ने सिट ६४ वटा मात्र प्रयोग गर्न सकिने अवस्था छ । सामाजिक दूरी कायम गर्दा २–२ वटा सिट छाडेर बस्ने व्यवस्था मिलाउनुपर्दा यो समस्या आएको हो । विगतमा त्यसका सदस्यहरूलाई पनि बोलाउने गरिएको थियो ।
कान्तिपुरबाट

Logo