कपिलवस्तुमा स्वास्थ्यकर्मी सङ्क्रमितः स्वास्थ्य सामग्री अभावले जोखिम बढ्यो

कपिलवस्तुमा स्वास्थ्यकर्मी सङ्क्रमितः स्वास्थ्य सामग्री अभावले जोखिम बढ्यो


कपिलवस्तु ।

कपिलवस्तुमा मंगलबार थपिएका आठमध्ये एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा २९ सङ्क्रमित पुगेका छन् । थपिएका सबै कपिलवस्तु नगरपालिकाका हुन् । उनीहरु २० देखि ३२ वर्ष उमेर समूह र एक महिला पनि रहेका छन् ।

जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्वास्थ्यकर्मीमा भाइरसको सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । कपिलवस्तुका १० पालिकामा स्वास्थ्यकर्मी खटिएका छन् ।
तौलिहवास्थित क्वारेन्टाइनमा रहेका सात जना भारतका विभिन्न स्थानबाट बन्दाबन्दीका बेला वैशाखको तेस्रो साता फर्केको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए । सङ्क्रमित सबैको कन्ट्रयाक्ट हिस्ट्री पत्ता लगाउने कार्य अघि बढाइएको छ ।

कपिलवस्तु नगरपालिका, वडा नम्बर २ तौलिहवाको बुद्धपद्म माविमा ६ र महेन्द्र प्रावि क्वारेन्टाइनमा एक जना बसेका थिए । जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र भगतका अनुसार अहिले जिल्लाभरि ६१४ स्वास्थ्यकर्मी कार्यरत छन् ।

स्थानीय तहले क्वारेन्टाइन जाँच, स्वाब संकलन, सङ्क्रमित ओसारपसार, बिरामी परीक्षण र औषधोपचारमा आवश्यक पर्ने सुरक्षा उपकरण, पिपिइ लगायत स्वास्थ्य सामग्री उपलब्ध नगराउँदा आफूहरु जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वडा नं १, ३, ४, ५, ६, ७ र ८ का एक महिला र सात पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबैको तौलिहवामा रहेको क्वारेण्टाइनवाट लिइएको स्वाबको परीक्षणवाट नतिजा पोजेटिभ देखिएको हो ।

यसअघि कपिलवस्तुमा वैशाख २५ गते मायादेवी गाउँपालिकामा दुई, वैशाख २७ गते मायादेवीमै दुई, शुद्धोधन गाउँपालिकामा एक, वैशाख २९ गते यशोधरा गाँउपालिकामा १२, वुद्धभूमि नगरपालिकामा चार र वैशाख ३० मा कपिलवस्तु नगरपालिकामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लाका १० पालिकामध्ये पाँचमा कोरोना सङ्क्रमण देखिएको छ । कपिलवस्तुमा कोभिड–१९ संक्रमण वढेपछि प्रशासनले सोमबारदेखि एक साताका लागि जिल्ला बन्द गर्ने निर्णय गरेको थियो ।

सङ्क्रमित स्वास्थ्यकर्मीसहित सात जनालाई बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ भने स्टाफ नर्ससँग सम्पर्कमा आएकालाई तत्काल क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । सङ्क्रमित नर्स क्वारेन्टाइनमा नबसेको र आफ्नै घरमा जाने आउने गरेको बताइएको छ ।

अस्पतालका केही स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकामा उनमा संक्रमण पुष्टि भएको हो । सङ्क्रमण देखिएसँगै अस्पतालका अन्य कर्मचारीको परीक्षण गर्ने तयारी भएको छ । कपिलवस्तुमा मंगलबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाका हुन् । संङक्रमित वडा नम्बर ३ का दुई तथा वडा नम्बर १, ४, ५, ६ र ८ का एक एक छन् ।

स्वास्थ्य टोली कपिलवस्तुमा
कपिलवस्तुमा थप सावधानी अपनाउन स्वास्थ्य विभाग काठमाडौँबाट राम नेपालीको संयोजकत्वमा चार सदस्यीय टोली यहाँ आइपुगेको छ । टोलीले सङ्क्रमित भेटिएका पाँच पालिकामा सूक्ष्म ढङ्गले कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र जाँच अघि बढाउने बताइएको छ ।रासस

Logo