#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20892191748613636956213774016
नेपाल2495795802516837

कैलालीमा बाढीमा तीन जना बेपत्ता, तीनको सकुशल उद्धार

कैलाली ।

गएरातिदेखि भइरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।

बाढीमा फसेका स्थानीय ४० वर्षीय बलबहादुर चौधरी, २८ वर्षीय बिक्की शाही र ३२ वर्षीय हेमन्त शाहीलाई प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । बेपत्ताको खोजी कार्य भइरहेको विष्टले बताए। वर्षासँगै स्थानीय काँडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिकाका वडा नं २, ३, ५ र ८ का गरी ४५० घर डुबानमा पर्दा एक हजार ९७७ जना विस्थापित भएका छन् । डुबानका कारण घरभित्रको धनमाल भिजेर नष्ट भएको छ । विस्थापितलाई नजिकको सुरक्षित ठाउँमा राख्ने कार्य भइरहेको छ ।

‘मोटर बोड’सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बिहानैदेखि उद्धार गरिरहेको छ । कुलरिया खोला र पथरैया नदीको बाढीका कारण जानकी गाउँपालिकाको वडा नं १, २, ४, ५, ७ र ८ नराम्रोसँग प्रभावित भएकामा वडा नं ३ र ७ का झण्डै १०० परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । कतिपय कच्ची घरसमेत भत्किएर क्षति पुगेको भए पनि यसको यकीन विवरण आउन बाँकी छ ।

“डुबानका कारण धेरै परिवारको घरभित्रको अन्न भिजाएको र भाँडाकुँडा बगाएर क्षति पुर्याएको छ”, अध्यक्ष चौधरीले भने, “विस्थापितलाई नजिकको विद्यालय र सेल्टर हाउस (डुबानबाट जोगिन बनाइएको घर) मा राखिएको छ ।”

यस्तै पथरैया र काँडा नदीमा आएको बाढीका कारण जोशीपुर गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ७ का झण्डै दुई हजार ५०० घरपरिवार डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताए। घरमा पानी पसेपछि धेरै परिवारको धनमाल भिजेर क्षति पुगेको चौधरीले बताए।

गाउँपालिकाको पुरानो भवनमा समेत पानी पसेपछि भवनमा राखिएको १९ बोरा चामलसमेत नष्ट भएको जनाइएको छ । टीकापुर नगरपालिकाको ३, ७, ८ र ९ वडासमेत डुबानका कारण प्रभावित भएका छन् । सो क्षेत्रमा प्रभावित भएका परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरिरहेको छ ।

यसैबीच कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव बुधबार मध्याह्नमा खतरा नजिक पुगेकामा अपराह्नपछि केही घटेको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव १० दशमलव १० मिटर पुगेकामा अपराह्न घटेर १० दशमलव तीन मिटरमा आइपुगेको बताए । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार