#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32136496982715744682823706953
नेपाल693014531843750411

नेपाल टेलिकमको फोरजी सेवा निर्धारित समयमा पूरा नहुनुको कारण सरकारसँग माग

काठमाडौं । संसदीय समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य निर्धारित समयमा पूरा हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले सरकारलाई सो निर्देशन दिएको हो ।

नेपाल टेलिकमको सेवा प्रभावकारिता सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र पूरा हुन नसक्नुको कारण सात दिनभित्र समितिमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले बैठकका निर्णय सुनाउँदै टेलिकमले फोरजी सेवा विस्तारमा भएको ढिलाइएको कारण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिइन् । टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले गुणस्तरीय र नागरिकले अपेक्षा गरे अनुरुप सेवा विस्तार गर्नका लागि कार्ययोजना तयार गरी ३० दिनभित्र समितिमा पेश गर्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन अगाडि बढाइएको प्रक्रियाको सन्दर्भमा कस्तो मोडालिटिमा काम भइरहेको छ भन्ने सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरी सोको जानकारी गराउन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तैगरी समितिले नेपाल दूरसञ्चारसँग आवद्ध नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाहरुबाट गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिम कार्डको विवरण सात दिनभित्र उपलब्ध गराउन समेत मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । साथै, समितिले नेपालभित्र सञ्चालित दूरसञ्चार संस्थाहरुको आर्थिक अवस्थाको विवरण समेत माग गरेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार