#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30690600956357740118022333063
नेपाल615933901738343820

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ला गर्ने सरकारको तयारी, स्थलगत अवलोकनमा पुगे उड्डयन मन्त्री भट्टराई

फाइल फोटो

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको स्थलगत निरिक्षण गर्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । विमानस्थलमा अहिले भइरहेको पूर्वाधार निर्माणको काम पूरा भएकाले भदौ १ गतेदेखि नयाँ सेवा सूविधासहित विमानस्थल सञ्चालनमा आउने उनको भनाइ छ । कोभिड–१९ का कारण चार महिनासम्म विमानस्थल बन्द हुँदा धेरै पूर्वाधारहरु निर्माण भएको मन्त्री भट्टराईले बताए । उनले विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाइएकाले अब अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने बताए ।

त्यस्तै १५ सय क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको उनले जानकारी दिए । लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थलहरु पनि थपिएका छन् । जसले गर्दा आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई केही हदसम्म कम गर्न सकिने मन्त्री भट्टराईको भनाइ छ । यसअघि विमानस्थलमा पार्किङ कम हुँदा आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्था रहेको थियो ।

विमानस्थलमा लगेज बेल्टहरु पनि थपिएका छन् । साथै, समानान्तर ट्याक्सी वे निर्माण गर्ने, थप २२÷२३ वटा जहाज पार्किङ स्थल निर्माण गर्ने र नयाँ टर्मिनल भवनहरु निर्माण गरिने समेत मन्त्री भट्टराईले बताए । उनले अराइभल हलको निर्माण कार्य पनि सम्पन्न भइसकेको जानकारी दिए । उनले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण भएकाले विमानस्थलमा आउने पर्यटक र नेपाली नागरिकले नयाँ अनुभुति गर्न पाउने बताए ।

सरकारले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । त्यसैले विमानस्थलको अवस्था निरिक्षण गर्न मन्त्री भट्टराई आज विमानस्थल पुगेका हुन् । उनले भौतिक दूरी कायम गरी विमानस्थल सञ्चालन गर्ने सम्बन्धमा आवस्यक तयारी पूरा गर्न विमानस्थल प्रशासनलाई निर्देशन समेत दिएका छन् । विमानस्थले कोभिड संक्रमणको जोखिमलाई हेरेर प्रस्थान हललाई आधा क्षमतामा मात्रै उपयोग गरी सञ्चालन गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार