#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20888256748578636639913773279
नेपाल2495795802516837

फेसबुक ह्याक गरी पैसा माग्ने गिरोह सक्रिय, बैंकका उच्च अधिकारीहरु निशानामा

काठमाडौं ।

पछिल्लो समय बैंकिङ अपराधका घटनाको शैली फेरिन थालेको छ । सजिलै पैसा कमाउन बैंकिङ अपराधका विभिन्न तौर तरिकाहरु अपनाउँदै ह्याकरहरुले विभिन्न व्यक्तिहरुलाई उनीहरुकै फेसबुकमा भएका साथीहरुको फेसबुक एकाउण्टबाट म्यासेज पठाएर पैसा माग्ने गरेका छन् । ह्याकरले फेसबुकमा साथी रहेका मध्ये सबैभन्दा बढी कुराकानी र फोन सम्पर्क हुने व्यक्तिलाई म्यासेस पठाएर पैसा माग्ने गरेका प्रशस्तै घटनाहरु बाहिरिन थालेका छन् ।

ह्याकरले सुरुमा साधारण औपचारिकता निभाउँदै आफूलाई सहयोग गर्न आग्रह गर्दै पैसा माग्ने गरेका छन् । ह्याकरले पछिल्लो समय साधारण व्यक्ति भन्दा बढी बैंकर्सलाई लक्षित गरेको देखिन्छ । बैंकका उच्च अधिकारीहरुलाई म्यासेज पठाएर सहयोग गर्न आग्रह गर्दै पैसा माग्ने गरेका छन् । बैंकर्ससँग पैसा हुन्छ भन्ने बुझाइका कारण पनि ह्याकरले बैंकर्सलाई निशाना बनाएको हुन सक्छ ।

शुक्रबार युनाइटेड फाइनान्सका डेपुटी सिइओ ईश्वर पोखरेलको फेसबुक ह्याक गरी ह्याकरले ५० हजार रुपैँयाँ माग गरेको छ । त्यस्तै एक साता अघि सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको फेसबुक पनि ह्याक गरी ७० हजार रुपैँयाँ माग गरेको थियो । सिइओ गुरुङसँग भोलि फिर्ता गर्ने भन्दै ह्याकरले पैसा मागेको थियो । उनले प्रहरीमा उजुरी गरिसकेका छन् ।

यसो भन्छ बैंकर्स संघ

ह्याकरले मोबाइल बैंकिङ, ई सेवा लगायत प्रयोग गरेर पैसा पठाउन आग्रह गरिरहेका हुन्छन् । यस विषयमा केही व्यक्तिहरुले कुराकानी सुनेको भए पनि छलफल भने नभएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ह्याकरहरुले प्रयास गरिरहने भएकाले आफैं सचेत रहनुको विकल्प नभएको अध्यक्ष दाहालले बताए । ह्याकरले मोबाइल बैंकिङको पनि प्रयोग गरेको देखिएकाले बैंकका कर्मचारीदेखि सम्पूर्ण ग्राहकहरुलाई समेत सचेत गराउनु पर्ने उनले बताए । फेसबुक ह्याक गरेर त्यस्तो म्यासेज कसैले पठाएर विना जानकारी फोन नगरी पैसा दिनेलाई बैंकले रोक्न नसक्ने भएकाले आफै सतर्क रहनुको विकल्प नभएको अध्यक्ष दाहालको भनाइ छ । यघि यस्ता घटना बढेकै हुन् भने राष्ट्र बैंक र बैंकर्सले आम ग्राहकवर्गमा जानकारी गराउने उनले बताए ।

के भन्छ नेपाल राष्ट्र बैंक ?

साइबर अपराधको घटना भएकाले यस्तो खालको घट्ना हेर्न त्यति सहज नभएको प्रवक्ता गुणाकर भट्टले बताए । ह्याकरले मोबाइल बैंकिङ तथा इ सेवा लगायत प्रयोग गरिरहेका छन् । मोबाइल बैंकिङ बन्द गर्दा सम्पूर्ण ग्राहकलाई अप्ठ्यारो पर्ने भएकाले राष्ट्र बैंक त्यसो पनि गर्न नसक्ने अवस्थामा छ । यस विषयमा राष्ट्र बैंकको तत्काल भूमिका नहुने प्रवक्ता भट्टको भनाइ छ ।

तर के राष्ट्र बैंक यस विषयमा जानकारी हुनु पर्दैन ? जिम्मेवार हुनु पर्दैन ? राष्ट्र बैंकले विशेष टाक्सफोर्स बनाएर पनि अध्ययन अनुसन्धान गर्न सक्छ । विगतका दिनहरुमा पनि बैंकिङ क्षेत्रमा कयौँ साइबर अपराधका घटनाहरु भएका छन् । जसमा अर्बाैँ रुपैँयाँ हिनामिना भएको छ । तर राष्ट्र बैंक भने यसमा आफ्नो कुनै जिम्मेवारी नहुने भन्दै उम्किएको छ ।

प्रहरी साइबर ब्युरो तथा अपराध अनुसन्धान व्युरो यसो भन्छन्

केन्द्रीय प्रहरी साइबर ब्युरो भोटाइटीले फेसबुक ह्याक गरी ठगी भएका उजुरीहरु परेको जनाएको छ । व्युरोका प्रवक्ता नबिन्द्र अर्यालले त्यस्ता उजुरीहरु पर्ने गरेको बताए । यस्ता घटनामा साइबर अपराध र ठगी सम्बन्धी अपराध जोडिएकाले फेसबुक ह्याक गरी भएका ठगीका घटना अपराध माहाशाखा टेकुमा पठाएको प्रवक्ता अर्यालले बताए ।

फेसबुक ह्याक गरी पैसा माग्दै ठगी गर्ने अपराधहरु निकै बढ्ने गरेको महानगरीय अपराध महाशाखा टेकुका प्रवक्ता होविन्द्र बोगटीले बताए । प्रवक्ता बोगटीले दैनिक ३/४ वटाका दरले यस्ता घटनाहरुको उजुरी आउने गरेको बताए । हाल यस्ता उजुरीको संख्या १५० नाघिसकेको छ । महाशाखाले अर्काको फेसबुक ह्याक गरी आफन्तहरूसँग आफू समस्यामा परेको भन्दै ठगी गर्ने २३ वर्षीय सविर आलमलाई दुहबीबाट आइतबार पक्राउ गरेको थियो । अरूको फेसबुक ह्याक गर्ने अनि ती आइडीबाट आफन्तहरूलाई आफू समस्यामा परेको भन्दै खातामा पैसा जम्मा गर्न लगाइ विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । नीजले ७५ लाख ठगी भएको भन्ने उजुरी परेपछि प्रहरीले खोजी गर्ने क्रममा फेला परेको हो । उनलाई ठगी सम्बन्धी मुद्धा चलाइएको छ । महाशाखाका अनुसार यस्ता घटनाबाट ठूलो रकम ठगी भएको छ ।

यस्ता अपराधबाट कसरी बच्ने ?

सबैभन्दा पहिले फेसबुकमा पैसा माग्नेहरुलाई फोन सम्पर्क गरेर बुझेर मात्रै पैसा दिने काम गर्नुपर्छ । आफन्तले भनेको भनेर निश्चित नगरी पैसा नदिन बैंक, राष्ट्र बैंक तथा प्रहरीले सुझाव दिएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार