भारतमा आजदेखि रेलसेवा सञ्चालन हुने

भारतमा आजदेखि रेलसेवा सञ्चालन हुने


नयाँ दिल्ली ।

भारतमा झण्डै दुई महिनापछि मंगलबार (आज) देखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिना अघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने आजदेखि पुनः सुचारु हुने भएको हो ।

भारतका रेलवे मन्त्री पियुष गोयलले मंगलबारदेखि रेलवे पुनः सञ्चालनमा आउने जानकारी दिएका हुन् । उनले ट्वीट गर्दै सो जानकारी दिएका थिए । उनको जानकारीको लगत्तैपछि रेल सेवा सञ्चालनको तयारी गरिएको छ । रेल सेवाका लागि सोमबारदेखि नै अनलाइन बुकिङ शुरु भएको थियो । सोमबार अपराह्न ४ बजेदेखि अनलाइन बुकिङको काम शुरु भएको बताइएको छ ।

मंगलबारदेखि शुरु हुन लागेको यस सेवाका लागि रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न पाइने छैन । काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरुले जानकारी गराएका छन् ।

भारत सरकारका अनुसार आज नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने छन् । भारतीय सञ्चारमाध्महरुले जानकारी दिए अनुसार नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ ।

भारतीय अधिकारीहरुले यात्रा गर्नु अघि ती सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच पनि गरिने जनाएका छन् । स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरुलाई रेलमा प्रवेश गर्न नदिइने बताइएको छ ।

त्यसैगरी यसरी यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने पनि जनाइएको छ । भारत सरकारले यसअघि अलपत्र परेका मजदूरको उद्धारका लागि पनि रेल सेवा सुरु गरेको थियो । यही मे १ देखि श्रमिक रेलहरु सञ्चालनमा ल्याएको बताइएको थियो । ती रेलहरुले भारतका विभिन्न स्थानमा अलपत्र परेका ठूलो संख्याका मजदूर तथा विद्यार्थीको उद्धार गरेको सरकारले जनाएको छ ।रासस/एएनआई

Logo