#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31970068978767743670923554592
नेपाल678044361741449954

होटल त खुले तर व्यावसायिक प्रतिस्पर्धा मुख्य चुनौती (भिडियोसहित)

काठमाडौं ।

बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन् । सरकारले साउन १५ देखि होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य प्रोटोकल अपनाइ आवश्यकता अनुरुप जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी गरेका हुन् ।

चार महिना प्रायः ठप्प होटलको विजनेश विदेशी पर्यटकमा निर्भर रहने हुँदा अझै केही समय समस्यामा पर्ने देखिएको छ । खासगरी तीन तारेदेखि पाँचतारे होटललाई समस्या हुने देखिन्छ । एकातिर पर्यटक कम आएमा व्यवसाय बढ्ने अवस्था छैन भने अर्कोतर्फ होटलबीचको प्रतिस्पर्धाले व्यावसायिक पक्कड जमाउन जटिल हुने व्यवसायीको बुझाइ छ । सरकारले भदौ १ गते देखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

खर्बौं लगानी रहेका एक दर्जनबढी पाँचतारे होटलको आन्तरिक प्रतिस्पर्धा नै अबको चुनौती भएको सम्बद्ध व्यवसायी बताउँछन् । नेपालमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम रहेको सन्देश दिन र अन्तरराष्ट्रिय उडान सञ्चालन भएपछि केही सङ्ख्यामा विदेशी पर्यटक आउन सक्ने अनुमानसहित ती पर्यटकलाई आफ्नो होटलमा तान्न पाँचतारे होटलबीच प्रतिस्पर्धा हुन सक्ने उनीहरुको बुझाइ छ ।

होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले पाँचतारे होटलबीच शुल्कमा अस्वस्थ्य प्रतिस्पर्धा हुनसक्ने सम्भावना रहेको बताइन् । सेवासुविधामा अस्वस्थ प्रतिस्पर्धा भएमा होटल क्षेत्रलाई नकारात्मक असर पुग्ने उनको भनाइ छ । उनले होटलको सेवालाई गुणस्तरीय बनाइ सेवा शुल्कमा एकरुपता ल्याउनसके उद्योगलाई दीर्घायु बनाउन सहज हुने विश्वास व्यक्त गरिन्।

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण पूर्ण क्षमतामा होटल सञ्चलन गर्ने अवस्था छैन । अहिले पूर्ण क्षमताको एक तिहाइमात्रै सेवा सञ्चालन हुने हानले जनाएको छ । त्यसैले खर्च उठाउनका लागि पनि होटलबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना छ ।

पाँचतारे सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले बन्दाबन्दीपछि होटल व्यवसाय सञ्चालनमा आन्तरिक प्रतिस्पर्धा मुख्य चुनौती रहेको बताए । उनले होटलबीच अस्वस्थ्य प्रतिस्पर्धा भएकाले होटलको सुविधा कटौती हुनसक्ने सम्भावना रहेको भन्दै सरकारले नै न्यूनतम स्ट्याण्डर्ड तोकेर होटललाई निर्देशन दिनसके सम्भावित प्रतिस्पर्धा कम हुने उल्लेख गरे ।

पाँचतारे होटलका लािग मुख्य बजार छिमेकी मुलुक भारत र चीन भएकाले ती देशको स्थिति सामान्य नहुँदासम्म पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने अवस्था छैन । त्यसैले होटल सञ्चालन गर्न दिएपछि सरकारले कसरी ‘सर्भाइभ’ गर्ने भन्ने चुनौती देखापरेको उपाध्यक्ष सापकोटाले बताए। धेरैजसो होटलको सञ्चालन खर्च ठूलो भएकाले त्यसलाई कभर गर्न चुनौती छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बनाइएको मापदण्ड पूरा गर्दा कम्तीमा पनि ३० देखि ५० प्रतिशतसम्म सञ्चालन खर्च बढ्ने व्यवसायीको भनाइ छ ।

बन्दाबन्दीको करिब चार महिना व्यवसाय प्रायः ठप्प भएको होटल व्यवसायलाई गतिशील तुल्याउन अबका दिन निकै कठिन हुनेछन् । तीन तारेसम्मका होटल आन्तरिक पर्यटनले धान्न सकिने र अन्तर्राष्ट्रिय उडान खुलेसँगै विदेशी पर्यटक आउने आशमा व्यवसायीले सञ्चालनको पूर्वतयारी गरिरहेका हुन् । हानका प्रथम उपाध्यक्ष विनायक शाहले शुरुमा पूर्ण क्षमताको १० प्रतिशत मात्र होटल व्यवसाय सञ्चालन गरिने र क्रमशः अवस्था हेरेर क्षमता बढाउँदै लगिने बताए ।

तीनतारे एयरपोर्ट होटलका प्रबन्ध निर्देशकसमेत रहेका उपाध्यक्ष शाहले अगाडिको बुकिङका लागि पूर्वअभ्यसका रुपमा होटल सञ्चालनमा ल्याइएको बताए । उनले केही साना बैठक, सभा तथा पारिवारिक जमघटका लागि उपयोगी भए पनि हामी तयारी अवस्थामा छौँ भन्ने सन्देश दिन पनि सेवा शुरु गरिएको उल्लेख गरे ।

विदेशी पर्यटकको आत्मविश्वास बढाउन विमानस्थलमा पिसिआर सेन्टर स्थापना गरेर चाँडो रिपोर्ट लिन सकिन व्यवस्था मिलाउनसके उपयुक्त हुने व्यवसायीको अपेक्षा छ । साथै अनअराइभल प्रवेशाज्ञा जस्ता योजना ल्याउन सकेको खण्डमा पर्यटन व्यवसाय छिट्टै लयमा फर्कने उपाध्यक्ष शाहले बताए ।

नेपालमा हाल १५ वटा पाँचतारे होटल रहेकामा बन्द रहेको पोखराको फूलबारी रिसोर्टबाहेक १४ होटल सञ्चालनमा छन् । हानमा आबद्ध देशभर पर्यटकस्तरदेखि पाँचतारेसम्मका तीन हजार ५०० होटल सञ्चालनमा छन् । सरकारी तथ्याङ्क अनुसार हाल होटल क्षेत्रमा ४४ हजार शैया छन् । हालको अवस्थामा २५ लाख पर्यटकलाई सेवा दिन सकिने व्यवसायी बताउँछन् । होटल क्षेत्रमा १५ खर्बभन्दा बढी लगानी रहेको छ । नेपाल पर्यटन बोर्डले हालै गरेको एक अध्ययन अनुसार बन्दाबन्दीको चार महिनामा होटल तथा हवाई क्षेत्रमा रु ४१ अर्ब नोक्सानी भएको छ ।

 

सम्बन्धित समाचारहरु