#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19513245722771625947712530997
नेपाल2221470633015814

बैंकमा बढ्यो तरलता : कसरी हुँदैछ व्यवस्थापन ?

काठमाडौं ।

कोरोना संक्रमणका कारण कर्जा लगानी नहुँदा अहिले बैंकिङ प्रणालीमा लगानी योग्य पूँजी (तरलता) थुप्रिएको छ ।

कोरोना संक्रमणका कारण लगभग चार महिनाको लकडाउनका कारण ठूला ठूला योजना तथा परियोजनाहरुमा लगानी विस्तार हुन सकेको छैन । पहिले स्वीकृति भएका ऋणहरु पनि लकडाउनका कारण पूर्णरुपमा प्रभावित भए । बैंकमा निक्षेप बढ्यो तर कर्जा लगानी नहुँदा बैंकिङ प्रणालीमा तरलताको मात्रा बढ्न जाँदा अहिले सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरु चिन्तित छन् ।

के गर्दैछ राष्ट्र बैंक ?

यतिबेला बैंकिङ प्रणालीमा अधिक तरलता भएका कारण बैंकलाई कहाँ लगानी गर्ने भन्ने चिन्ता छ । बैंकमा अघिक तरलता भएपछि राष्ट्र बैंकले हस्तक्षेप नगर्ने हो भने यसले समस्या निम्त्याउँछ । त्यसैले यसलाई तत्काल व्यवस्थापन गर्न पनि समस्या नै हुने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । तर कोरोनाको संक्रमण कम हुँदै गएपछि केही समयमा तलरता व्यवस्थापन सहज हुने उनको भनाइ छ । कोरोनाको संक्रमण कम हुँदै गएपछि आर्थिक गतिविधी सुचारु हुँदै जान्छन् । त्यसपछि मात्रै लगानी विस्तार गर्दा तरलता व्यवस्थापन गर्न सकिने प्रवक्ता भट्टको भनाइ छ । बजेटसँग सम्बन्धीत कामहरु अघि बढेपछि तरलता व्यवस्थापन हुँदै जाने उनले बताए । निर्माणसँग सम्बन्धीत कामहरु र उद्योग संचालन हुने वित्तिकै तरलता व्यवस्थापन हुँदै जाने प्रवक्ता भट्टले बताए ।

अहिले बैकिङ प्रणालीमा २०० अर्बको हाराहारीमा अधिक तरलता छ । दुई दिन अघि बैंकिङ प्रणालीमा १ खर्ब ८७ अर्ब रुपैयाँ अधिक तरलता थियो । अधिक तरलता भएपछि बैंकिङ प्रणालीलाई सन्तुलनमा ल्याउन राष्ट्र बैंकले रिभर्स रिपो जारी गरिसकेको छ । रिभर्स रिपोमार्फत राष्ट्र बैंकले बजारबाट १ सय २० अर्ब रुपैँयाँ उठाइसकेको छ । राष्ट्र बैंकले साउन ८ र १५ गते गरेर २०÷२० अर्बका दरले रिभर्स रिपो जारी गरि बजारबाट पैसा उठाएको छ । ८ गतेको रिभर्स रिपोका लागि २२ वटा संस्थाबाट विभिन्न दरमा १३५ वटा आवेदन परका थिए । ती संस्थाहरुबाट राष्ट्र बैंकले ०.०४६४ प्रतिशतमा पैसा उठायो । २० अर्ब तरलताका लागि ६८ अर्ब २० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । साउन १५ गते १९ वटा संस्थाले १ सय २३ वटा आवेदन दिए । त्यस दिन राष्ट्र बैंकले ०.०३३० प्रतिशतमा तरलता उठायो । साउन १५ गतेका लागि ८३ अर्ब ५ करोड रुपैयाँको आवेदन परेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा कम्तिमा एक प्रतिशत ब्याज दिने भन्ने घोषणा गरेको भए पनि न्युन ब्याजदरमा तरलता उठाएको छ ।

घर र गाडीमा जान थाल्यो कर्जा

बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि ब्याजको दर पनि तल झरेको छ । बैंकमा पैसा थुप्रिएर लगानी गर्न नपाएका बैंकहरुलाई ठूलो लगानी गर्न आर्थिक गतिविधी सहज नभएसम्म ठूला आयोजना तथा परियोजनाहरुमा लगानी विस्तार गर्न सक्ने अवस्था देखिँदैन । त्यसकारण बैंकहरुले तत्काल लगानी गर्ने बाटो खोजिरहेका छन् । जसका लागि आधार दर घटाएर घर र गाडीमा धमाधम कर्जा योजनाहरु सार्वजनिक गरिरहेका छन् । घर तथा गाडीहरुमा पनि लगानी गर्दा पछिल्लो समय केही मात्रामा कर्जा विस्तार भएको देखिन्छ । असार पहिलो साता सम्ममा बैंकहरुको कुल निक्षेप संकलन ३४ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी २८ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । प्रणालीमा तरलता बढेपछि वाणिज्य बैंकहरुबीचको अन्तर बैंक कारोबार पनि हुन छोडेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुले भने केही मात्रामा मात्रै सापटी चलाइरहेका छन् । उनीहरुले ०.२५ प्रतिशतमै पैसा पाइरहेका छन् ।

यसो भन्छन् सरोकारवालाहरु

अहिले कोरोना भाइरसको संक्रमणका कारण तत्काल ठूला आयोजना तथा परियोजनामा लगानी गर्न समस्या हुने बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । मौद्रिक नीतिमा तोकिए अनुसारको सीमासम्म बैंकले लगानी गर्नै पर्ने भएकाले प्रोत्साहन गर्दै लगानी बढाउनु पर्ने देखिएको प्रमुख कार्यकारी अधिकृत शर्माको भनाइ छ । अहिले बैंकमा प्रशस्त पैसा भएकाले ब्याजदर पनि सस्तो भएका कारण कर्जा लिन सजिलो भएकाले लगानी गर्न केही सहज हुने बताउँछन् ।

त्यस्तै, बैकिङ विज्ञ अनलराज भट्टराईले तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको मुख मात्र ताक्न नहुने बताए । तर राष्ट्र बैंकले यस्तो बेलामा ब्याजदर कोरिडोरलाई व्यवस्थित गर्नुपर्ने थियो तर त्यसो नगरेको उनी बताउँछन् । राष्ट्र बैंकले ब्याजदर करिडोरलाई व्यवस्थित नगर्दा अन्तर बैंक ब्याजदर निकै तल झरेको उनको भनाइ छ । मुलुकमा वित्तीय पहुँच नभएर कर्जा नपाएको समूह निकै ठूलो भएकाले त्यस्तो समूहका लागि कर्जाका योजनाहरु ल्याएर कर्जा विस्तार गर्न सक्ने भट्टराईको भनाइ छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार