#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20237750737866639964713100237
नेपाल2331079673816493

काँग्रेसमा देउवाका क्रियाकलाप प्रति पौडेल पक्ष सशंकित (भिडियोसहित)

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र यतिबेला नेतृत्व परिवर्तनको बहश चलेको छ । आशन्न १४ औं महाधिवेशनको तयारीमा अहिले शीर्ष नेतादेखि वडास्तरका कार्यकर्तासम्म सबैले चासो दिएका छन् र तयारी पनि गरिरहेका छन् । वडादेखि केन्द्रसम्म नै बलियो नेतृत्वको आवश्यकता देखिएको काँग्रेसमा भावि सभापति को होला भनेर चासो रहनु स्वभाविक हो । वर्तमान सभापति शेरबहादुर देउवाले सहि नेतृत्व गर्न नसकेको भन्दै ०७४ को निर्वाचनमा भएको पराजयपछि नै नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग उठेकै हो तर काँग्रेसको पराजय नेतृत्व कमजोर भएर नभई दुई ठूला कम्युनिष्ट पार्टीमा भएको एकताले भएको निष्कर्ष निकाल्दै तत्काल विशेष महाधिवेशनको मुद्दा सेलायो । उता सभापति देउवाले चुनावमा हारजित स्वभाविक रहेको बताउँदै आफ्नो बचाउ गरिरहे ।

काँग्रेसमा गुट उपगुटको राजनीति मौलाएको छ र यो आजको मात्र समस्या होइन । तत्कालिन सभापति स्व.गिरिजाप्रसाद कोइरालाकै समयमा पनि कोइराला पक्ष र देउवा पक्षका छुट्टाछुट्टै गुटहरु नभएका होइनन् । कोइरालाको निधनपछि पनि संस्थापन पक्ष र संस्थापनइतर पक्ष भन्दै गुटहरु बनाइए । यतिबेला पनि स्पष्टरुपमै देउवा पक्ष, पौडेल पक्ष र सिटौला पक्ष भनेर अलग अलग गुटहरु बनेका छन् । यी गुटहरु मध्ये नेतृत्वमा आउन ३ मध्ये २ समुह जता ढल्किन्छ उसकै पहुँच बढ्ने निश्चित छ ।

नेताहरुका भनाइहरु हेर्दा सरासर अनुमान लगाउन सकिन्छ कि काँग्रेसभित्र अब नेतृत्व परिवर्तनको बहश राम्रैसँग उठेको छ । तर वर्तमान सभापति देउवाले सजिलै नेतृत्व अरुमा दिने संकेत भने दिएका छैनन् । उनले आफू अर्को कार्यकालका लागि पनि पुनः सभापतिमा लड्ने यस अघि नै बताइसकेका छन् । यसकै तयारी स्वरुप देउवा पनि आफ्नो शक्ति थप मजबुत बनाउन सक्रिय भएका छन् । हालै उनले पार्टीको महिला विभागलाई पूर्णता दिएका छन् भने अन्य विभागहरुमा पनि आफूखुशी आफ्नो प्यानलका नेताहरुलाई नियुक्त गरिरहेका छन् । हालै मात्र देउवाले पार्टी हित विपरित लागेको, बागी उमेदवारी दिएको लगायतका आरोप लगाउँदै पूर्वमन्त्री गोविन्दराज जोशी लगायत ३ जनालाई कारबाही गर्ने निर्णय समेत गरिसकेका छन् । महाधिवेशनका मुखमा आएर गरिएका यस किसिमका क्रियाकलाप रोक्नु पर्ने भन्दै पक्ष र विपक्षमा नेताहरुका चर्का आवाज पनि अहिले सतहमा आएका छन् ।

यसरी हेर्दा काँग्रेसभित्र पनि विभिन्न आन्तरिक कलह देखिन्छ । हुन त नेपालका कुनै राजनीतिक दल छैनन् जसमा आन्तरिक कलह नभएको होस् , गुट उपगुट नभएको होस् । यो रोग काँग्रेसमा पनि स्पष्टरुपमा देखिएसँगै कार्यकर्तामा पनि निराशा पैदा भएको छ । उनीहरुको अपेक्षा यो छ कि पार्टीमा आगामी दिनमा यस्तो नेतृत्व आओस्, जो बलियो होस् । भलै प्रतिपक्षमा रहनु परे पनि बलियो प्रतिपक्षको भूमिका निभाउन सक्ने होस् । आन्तरिक विवाद मिलाउँदै पार्टीलाई बलियो बनाओस् । आगामी निर्वाचनमा सुधार गर्दै तल्लोस्तरसम्म आफ्नो विरासत जोगाउन सक्ने होस् । तर कार्यकर्ता र शुभचिन्तकहरुको यो अपेक्षा पूरा होला वा नहोला त्यो त आगामी दिनमा थाहा होला नै । तर यो चाहिं पक्कै हो कि अब काँग्रेसमा जरैदेखि सुधार जरुरी छ । नागरिकमा परेको कमजोर पार्टीको भ्रम चिर्न काँग्रेसले आगामी महाधिवेशनमा रचनात्मक भूमिका निभाउनु जरुरी छ ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार