#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30697825956446740142122339958
नेपाल615933901738343820

देशभर युरिया मलको अभाव, किसानलाई वर्षेनी सास्ती

काठमाडौं ।

मुलुकभर युरिया मलको अभाव भएको छ । सरकारले समयमा नै अनुदानमा उपलब्ध गराउने मल खरिद गर्न नसक्दा मुलुकभर युरिया मलको अभाव भएको हो । वर्षेनी किसानहरुले यस्तै अभाव झेल्दै आएका छन् भने कतिपय किसानले गुणस्तरहिन मलको उपभोग किनेर धान बालिमा हाल्न बाध्य भएका छन् ।

यो वर्ष चाडै नेपालमा मनसुन भित्रिएकाले अहिलेसम्म ९६ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ भने छिटफुट मात्रै रोपाइँ गर्न बाँकि रहेको छ । यसरी किसानलाई रोपाइँ सकिएको एक महिना भित्रमा नै युरिया मलको आवश्यकता पर्ने गर्छ । तर सरकारले बेलामा नै मलको व्यवस्था नगर्दा किसानहरु समस्यामा परेका छन् ।

किसानलाई आवश्यकता परेको समयमा नै मल देशैभरि अभाव भएको छ । कृषि सामाग्री कम्पनीले समयमा नै मल झिकाउन नसक्दा देशभरमा युरिया मल अभाव भएको हो । नेपाल युरिया मलमा पूर्णतः भारतसँग परनिर्भर रहेको छ । तर किसानलाई चाहिएको बेलामा कहिल्यै पनि ल्याएको पाइदैन । यो वर्ष पनि यस्तै भएको छ ।

अहिले सरकारी अनुदानमा ७० प्रतिशतभन्दा बढी रासायनिक मल आयात गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र ३० प्रतिशत अनुदानमा मल आयात गर्ने साल्ट ट्रेडिङसँग पनि रासायनिक मल मौज्दात रहेको छैन । अहिले देशैभरी धान रोपाइँ सकिएको हुनाले युरिया मलको माग बढेको छ । तर सरकारले किसानको माग अनुसार मल पुर्याउन सकेको छैन ।

सरकारले धानखेतीका लागि सरकारी अनुदानको युरिया मल ७१ हजार ५ सय टन आयातको प्रबन्ध मिलाइएको तर ढिला गरी टेन्डर गर्ने र यही बीचमा कोरोना संक्रमणको जोखिम रोक्न लकडाउन गरिँदा समयमै ढुवानी हुन नसकेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिवहादुर केसीले पनि युरिया मल सरकारसँग पनि मौज्दात नरहेको जानकारी दिएका छन् । उनले कोरोना भाइरसका कारण युरिया मल आयात रोकिएकाले अभाव भएको बताए ।

उनका अनुसार सरकारसँग युरिया मल मात्रै अभाव भएको तर अन्य डिएपी र पोटास मल अभाव छैन । उनले भने, ‘युरिया मल भारतको कोलकत्तामा आएर बसेको तर नेपाल ल्याउन अझै २०/२५ दिन लाग्ने भएकाले बजारमा अभाव भएको हो ।’ धानखेतीका लागि कृषि सामग्री संस्थानले ५० हजार टन र साल्ट ट्रेडिङले २१ हजार ५ सय टन युरिया मल आपूर्तिको जिम्मा पाएका थिए । दुवै निकायले कुल २५ हजार टन डिएपीसमेत ल्याउने अनुमति पाएका थिए । यसको लागि गत मंसिरमा नै २ अर्ब रुपैयाँ अनुदानबापतको रकम उपलब्ध गराउने निर्णय भई पुसमा निकासा भए पनि अहिलेसम्म आयात भएको छैन ।

कृषि सामग्रीले टेन्डरबाट ५० हजार टन युरिया रसिया र चीनबाट ल्याउने व्यवस्था भइसकेको जनाएको छ । तर, यी दुवै ठाउँबाट युरिया आइपुग्न १ महिनाभन्दा बढी समय लाग्ने देखिएको छ  । साल्ट ट्रेडिङले भने लकडाउनकै समयमा जेठ तेस्रो साता २१ हजार ५ सय टन युरिया भारतको कोलकाता बन्दरगाह ल्याइपुर्याएको थियो । तर यो पनि अहिलेसम्म नेपाल नआइपुगेको प्रवक्ता डा. केसीको भनाइ रहेको छ ।

विगतका वर्षको तुलनामा यो वर्ष धेरै अर्थात् करिब ४ लाख टन मल आयात भएको छ । सरकारले रासायनिक मल खरिदका लागि सुरुमा ७ अर्ब रुपैयाँ अनुदान दिएको थियो । सो रकम अपुग भएपछि थप २ अर्ब रुपैयाँ निकासा भएको थियो । सो रकम निकासा भएपछि अहिले आउन लागेको ७१ हजार ५ सय टन युरिया र २५ हजार टन डिएपी खरिद प्रक्रिया अघि बढेको हो ।

आगामी आर्थिक वर्षका लागि सरकारले रासायनिक मलका लागि ११ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ  । यो रकमले ४ लाख ५० हजार टनभन्दा बढी रासायनिक मल आयात गर्न पुग्छ । सरकारले अनुदानमा ल्याएको मल देशभर रहेका कृषि सहकारीले वितरण गर्दै आएका छन् ।

मनसुनी वर्षाले साथ दिएकाले यस वर्ष देशैभरि बेलैमा रोपाइँ भयो । करिब ९६ प्रतिशत सकिएको छ । चाहिएको बेलामै मल र सिचाइँ पुगे यो वर्ष धान उत्पादन बृद्धी हुने मन्त्रालयको अनुमान छ । मौसमले साथ दिए पनि मल नहुँदा उत्पादन कम हुनेतर्फ किसान चिन्तित बन्न थालेका छन् । रोपाइँलगत्तै देशभरि कम्तीमा २० हजार टन (चार लाख बोरा) युरियाको माग रहेको छ । अहिले मुलुक भरका करिव ५० भन्दा बढी जिल्लामा युरिया मल नै नभएको कृषकहरुले बताएका छन् । मल उपलब्ध गराइदिन सम्बन्धित जिल्लाका सहकारी संस्थाहरू दैनिक रूपमा मन्त्रालय धाउन थालेका छन् । तर सरकारी निकायले मल परिचालन गर्न नसक्दा समस्या आएको देखिन्छ ।

अहिले चितवनमा युरिया मलको अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । कृषकहरुले घण्टौँसम्म लाइन बस्दा पनि युरिया मल पाउन नसकेको गुनासो गरेका छन् । माडी नगरपालिका ७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा सबैतिर चाहार्दा युरिया मल पाउन नसकेको बताए । युरिया मल जिल्लाका कुनै पनि स्थानमा पु¥याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिएका छन् । उनका अनुसार धानखेतीका लागि मात्र जिल्लामा युरिया, पोटास र डिएपी गरी १५ हजार मेट्रिक टन मल माग भएको छ । तर, अहिले साल्ट ट्रेडिङ र आफूहरुसँग युरिया मल नभएको उनले बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार