#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30367850950821736408822052941
नेपाल595733831624142949

सुनमा कोरोना असर : मूल्य बढेको बढ्यै, कारोबार शुन्य

file photo

काठमाडौं ।

सुनको भाउमा हरेक दिन जसो वृद्धि हुन थालेपछि कारोबार नै ठप्प भएको छ । कोरोना संक्रमणका कारण सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सो बेलादेखि सुन बजार ठप्प छ । सरकारले लकडाउन खुकुलो बनाउँदै गत जेठ २२ गतेदेखि खोल्ने निर्णय गरेको थियो । बजार खुले पनि सुन बजारमा कारोबार भने पटक्कै भएन । यो समयलाई सुन व्यवसायीहरुले कारोबारको शुन्य समय मानेका छन् । लकडाउनपछि खुलेको सुन बजारमा पुरानो अर्डरका गरगहना मात्रै गएका छन् । नयाँ किन्नेले फाट्टफुट्ट मात्रै किनेका छन् । जुन नगन्य मात्रामा मात्रै कारोबार भएको छ ।

किन भएन कारोबार ?

कोरोनाका कारण विश्वका अधिकांश मुलुकसहित नेपालमा पनि उद्योग, व्यापार व्यवसाय, पर्यटन, रेमिट्यान्स लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । जसका कारण मुलुकमा आर्थिक संकट आएको छ । कोरोनाका कारण लाखौँ मानिसहरुले रोजगारी गुमाएका छन् । यो संकटको घडीमा मानिसलाई हातमुख जोड्नै धौ धौ परेको छ । तल्लोदेखि माथिल्लो तहसम्मका मानिसहरुको क्रय शक्तिमा ह्रास आएको छ । त्यसैमाथि अहिले हरेक दिन जसो मूल्यवृद्धि भइरहेको छ । अहिले प्रतितोला एक लाखको हाराहारीमा सुनको कारोबार भइरहेको छ ।

एकातर्फ कोरोनाका कारण आम मानिसको क्रय शक्तिमा ह्रास आएको छ भने अर्कातर्फ हरेक दिन जसो चुलिएको मूल्यवृद्धिका कारण सर्वसाधारणले सुन खरिद गर्न सक्ने अवस्था नभएको सुनचाँदी व्यसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए । कोरोनाको संक्रमण नसकिँदासम्म तथा सुनको भाउ नघट्दासम्म सुनको कारोबारमा सन्तोषजनक प्रगति हुन नसक्ने पूर्व अध्यक्ष शाक्यको भनाइ छ ।
सामान्य अवस्थामा ३५ केजीको हाराहारीमा सुनको कारोबार हुने गर्छ । चाडवाडका बेला ५०/६० केजीको हाराहारीमा कारोबार हुने गर्छ । तर कोरोनाका कारण मानिसको क्रय शक्तिमा ह्रास हुनुका साथै मूल्यमा भएको वृद्धिले अहिले कारोबार नगन्य छ ।

कति छ सुनको मूल्य ?

नेपाली बजारमा सुनको मूल्य सोमबार स्थिर छ । सोमबार रक्षा बन्धन पर्वमा विदा भएकाले मूल्य स्थिर रहेको हो । आइतबार प्रतितोला ३ सयले बढ्दै ९९ हजार ६ सयमा कारोबार भएको थियो ।

गत हप्ता सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पायो । आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार ७ सयले बढेको सुन बुधबार भने ३ सयले बढेको थियो । विहिबार ५ सयले बढेर सुन प्रतितोला ९९ हजारमा कारोबार भयो । साताको अन्तिम दिन शुक्रबार पनि ९९ हजार ३ सयमा कारोबार भएको थियो ।

किन बढ्यो सुनको मूल्य ?

कोरोना संक्रमणका कारण उद्योग व्यापार तथा विभिन्न क्षेत्रको लगानी अहिले जोखिमपूर्ण बन्दै गइरहेको छ । विश्वको अर्थतन्त्र हेर्ने हो भने पनि कोरोनाको संक्रमणले कुनै पनि क्षेत्रलाई अछुतो छोडेको छैन । यस्तो अवस्थामा कसरी अर्थतन्त्रलाई चलायमान बनाउने, कसरी आफ्नो लगानीलाई प्रतिफल आउने स्थानमा लगानी गर्ने भन्ने चिन्ता लगानीकर्तालाई छ । त्यसकारण विश्वका ठूला लगानीकर्ताहरु सुनमा लगानी सुरक्षित देख्दै त्यता आकर्षित भएका कारण सुनको भाउमा हरेक दिन जसो मूल्य वृद्धि भइरहेको छ ।

कोरोनाका कारण विश्वका ठूला खानीजन्य उद्योग, कलकारखानाहरु संचालनमा नआउँदा सुन लगायत महत्वपूर्ण धातुको उत्खनन् नै रोकिएको छ । सुनसँगै अन्य अधिकांश धातुहरुको उत्खनन र प्रशोधन पनि प्रभावित भएको छ । जसका कारण सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मात्रै सुनको मूल्य पछिल्लो एक बर्षमा ३८ दशमलव ४२ प्रतिशतले उकालो लागेको छ । गत बर्षको जुलाईमा १ हजार ४ सय २० डलर प्रतिऔंस पर्ने सुनको मूल्य यो बर्षको जुलाईमा बढेर १ हजार ९ सय ७५ डलर प्रतिऔंस पुगेको छ । सन् २०२० को अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २२ सय डलर पुग्ने प्रक्षेपण गरिएको छ । पछिल्लो १ बर्षमा प्रतिऔंस ५ सय ४७ डलरले बढेको सुनको मूल्यले अझै नयाँ रेकर्ड कायम गर्ने विज्ञहरुले बताएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार