#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31471337968905740801323094419
नेपाल652764271761147238

काठमाडौंमा तरकारीको मूल्य दोब्बरले बृद्धी, वाणिज्य विभागले थाल्यो अनुगमन

file photo

काठमाडौं ।

काठमाडौं उपत्यकामा तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ । व्यापारीहरुले बाढी पहिरो तथा तरकारी उत्पादन कम हुन थालेको भन्दै तरकारीको मूल्य बढाएपछि उपभोक्ता मारमा परेका छन् ।

उपत्यकाको सबैभन्दा ठूलो कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य एक महिनाको अवधिमा दोब्बरले बढेको छ । आपूर्ति कम भएमा यसै पनि मूल्य बढ्ने र आपूर्ति बढी हुँदा पनि उत्पादन कम भन्दै ब्यापारीले बढी मूल्य लिँदा उपभोक्ताको ढाड सधै सेकिने गरेको छ ।

ब्यापारीहरुले बिभिन्न बहानामा दैनिक उपभोग्य तरकारीहरुको भाउ बढाइरहँदा सर्वसाधारणले महँगीको मार खेप्नु परेको छ । यसरी सबै तिरबाट चर्को दबाब आएपछि वाणिज्य विभागले कालीमाटी तथा कुलेश्वर क्षेत्रका तरकारी बजारमा अनुगमनलाई तीव्र बनाएको छ । तरकारीमा अस्वभाविक रूपमा मूल्य बढाइएको गुनासो आएपछि विभागले सोमबार कालीमाटी तरकारी बजारमा अनुगमन थालेको हो ।

विभागले कालीमाटी तरकारी तथा फलफूल बजारभित्र मूल्यसूची नराखी तरकारी बिक्री गर्ने दुई तरकारी पसललाई जनही पाँच, पाँच हजार रूपैयाँ जरिवानासमेत गराएको जनाएको छ । यस्तै, व्यावसायिक आचरण पालना नगरेको भन्दै अन्य दुई पसललाई समेत विभागले सचेत गराएको छ ।

यसैगरी चिनीको अभाव हुन थालेको सूचनापछि विभागले कुलेश्वरस्थित खाद्य गोदाममा पनि अनुगमन थालेको जनाएको छ । यसै क्रममा विभागले दुई वटा खाद्य गोदाम सिल समेत गरेको जनाएको छ ।

त्यस्तै, उपत्यकाका साना डेरीले उपभोक्तालाई तौलमा ठगी गरेको भन्दै गुणस्तर तथा नापतौल विभागले पनि अनुगमनलाई तिव्र बनाएको छ । विभागले ललितपुरका साना डेरीमा गरेको अनुमगनमा उपभोक्तालाई दूध बेच्दा लिटरमा ५० एमएलसम्म कम दिएको भेटिएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्लास्टिकको पाउचमा दूध भरेर दिँदा कम दिएको भेटिएपछि कारवाही गरिएको बताएका छन् ।

सम्बन्धित समाचारहरु