नेपाललाई भारतको जवाफ- ‘हाम्रै भूमिबाट सडक बनाएका हौं’

नेपाललाई भारतको जवाफ- ‘हाम्रै भूमिबाट सडक बनाएका हौं’


भारतले आफ्नै भूमि भएर तिब्बतको मानसरोबर जोड्ने सडक बनाएको दाबी गरेको छ।

नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको भन्दै आलोचना बढेपछि भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति निकाल्दै सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको हो।  भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यो सडक उत्ताराखण्डको पिथौरागढ जिल्लाभित्र पर्ने र उक्त सडक भारतीय भूमि भित्रै रहेको बताएका हुन् ।

‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ’ वक्तव्य भनेको छ ।

नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ । दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । शनिबार सतारुढ दल नेकपाले पनि विज्ञप्ति जारी गर्दै लिपुलेक हुँदै निर्माण गरेको सडकले नेपालको सार्वभौमिकताको अवमुल्यन गरेको भन्दै विरोध जनाएको थियो।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार नेपालको लिपुलेक पास हुँदै चीनको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थिए।

Logo