#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31013249961756743667322614820
नेपाल627974011712945267

ट्याक्सी व्यवसायीको गुनासोः दिनमा ५ सय आम्दानी, ३ सयको सेनिटाइजर, २ सयको खाना !

काठमाडौं ।

काभ्रे मण्डनदेउपुर नगरपालिकाका सूर्यप्रसाद ढुङ्गानाले काठमाडौं उपत्यकामा भाडाको ट्याक्सी चलाउन थालेको ६ वर्ष भयो । उनले यस भन्दा पहिले साउदी अरबमा ६ वर्ष बसेर नेपालमा नै केही गर्ने उद्देश्यले फर्किएको र नेपालमा आएर आफूले सिकेको सीप ड्राइभिङलाई नै निरन्तरता दिने भन्दै साथीभाईहरुसँग ऋण गरेर ट्याक्सी किनेर चलाउन थालेका हुन् ।

उनको ५ जनाको परिवार छ भने श्रीमती अपाङ्ग रहेकी छिन् । परिवारको जीविकोपार्जनका लागि एउटै मात्र आम्दानीको स्रोत उनको यही एउटा ट्याक्सी छ । यही ट्याक्सी पनि लकडाउनका कारण चार महिनासम्म ग्यारेजमा नै थन्कियो ।

यसरी परिवारको जीबिकोपार्जन गर्ने एक मात्रै आम्दानीको स्रोत ट्याक्सी चार महिनासम्म ग्यारेजमा थन्किएर बस्दा जीबिकोपार्जन गर्न समेत कठिन भएको छ भने ट्याक्सी किन्दा लिएको ऋणको किस्ता र ब्याज थपिदै जाँदा व्यवसायबाट नै पलायन हुने अवस्था आएको उनले बताएका छन् ।

कोरोना भाइरसले नेपालमा मात्रै नभएर विश्वभर नै असर पारेको तर नेपालमा सरकारले व्यवसायीहरुको लागि उचित राहतको व्यवस्था नगरेकाले सोचे भन्दा धेरै समस्यामा परेको उनले बताएका छन् ।

सरकारले केहि राहतको व्यवस्था गर्छ की भन्ने थियो तर हाम्रो लागि केही पनि नगरेकाले झनै समस्या परेकोे छ । २७ लाख ऋण गरेर ट्याक्सी किनेको अहिले ऋणको सावाँ तिर्नु भन्दा पनि ब्याज र किस्ता नै तिर्न सकिएको छैन । उनले बैंक तथा सहकारीबाट नभइ व्यक्तिबाट ट्याक्सी किनेको र अहिले कर र इन्सुरेन्स मात्रै तिरेको बताए ।

कोरोना पछिको लकडाउनले गर्दा ऋण झनै बढ्दै गएको तथा परिवारको जीवीकोपार्जन धान्न र बालबच्चाको शुल्क तिर्न नसकेकाले गाउँको सरकारी विद्यालयमा लगेर भर्ना गर्नु परेको भन्दै उनले दुःखेसो पोखेका छन् । अहिले सरकारले एक महिना देखि ट्याक्सी चलाउन दिए पनि लकडाउन हुँदा र नहुँदा केही फरक नभएको उनले बताए ।

पहिला सामान्य अवस्था हुँदा दैनिक ४ हजारसम्म कमाइ हुने गरेको तर, लकडाउन पश्चात ट्याक्सी सञ्चालनमा आए पनि दैनिक ५ सय भन्दा बढी आम्दानी हुन छोडेको उनले बताएका छन् । उनका अनुसार दिनभरि ग्राहक कुरेर चोकमा बस्ने गरेको तर फाटफुट मात्रै यात्रु आउने गरेकाले कमाइ नै छैन । उनले भने, ‘दिनभरीमा ५ सय रुपैयाँ कमायो, सुरक्षाको लागि सेनिटाइजर किन्दा ३ सय रुपैयाँ र होटलमा गएर २ सय रुपैयाँको खाना खाँदा सकिने गर्छ । ट्याक्सी चलाउनु र नचलाउनु उस्तै छ ।’

झण्डै तीन महिना कष्टकर बसाइ र उधारो मागेर परिवार पालेपछि सरकारले अनुमति नदिए पनि असार १ गतेदेखि व्यवसायीहरु आजित भएर ट्याक्सी चलाउन थालेका थिए । उनीहरुले रातो प्लेटमा कोरोना नलाग्ने कालोमा लाग्ने हो र ? भन्दै सरकारको अनुमति विना आफूखुसी ट्याक्सी चलाएका थिए । उनीहरुले यसरी ट्याक्सी सञ्चालनमा आएपछि उपत्यका ट्याक्सी व्यवसायी संघको अगुवाइमा वानेश्वर यातायात कार्यालय अगाडि ट्याक्सी राखेर धर्ना नै बसेका थिए ।

उनीहरुले सबै व्यवसाय खुल्ने तर सर्वसाधारण आवात जावतका लागि ट्याक्सी नखुल्दा सर्वसाधारण पनि मारमा परेको तथा परिवार पाल्नकै लागि लुकिछिपी ट्याक्सी चलाउनु परेको भन्दै आन्दोलन गरेका थिए । व्यवसायी सङ्गठनहरुले आफ्नो स्वार्थका लागि मात्रै आन्दोलन गरेको र आफ्नोे मागलाई अहिलेसम्म पनि सम्बोधन नभएको उनले बताए । सङ्गठनहरुले ट्याक्सीहरुसँग मासिक ५ सय रुपैयाँ लेवी मात्रै उठाएको तर समस्यामा परेको बेलामा कुनै सहयोग र राहत नदिएको उनको आरोप छ ।

त्यस्तै, काठमाडौं जिल्ला टोखा घर भएका ट्याक्सी व्यवसायी शुभदिन कुमार प्रधानको पनि उस्तै गुनासो रहेको छ । व्यवसायी सङ्गठनले व्यवसायीलाई ठग्ने काम मात्रै गरेकोे उनको भनाइ छ । उनले दुई वर्ष अगाडि मात्रै ट्याक्सी किनेर सञ्चालनमा ल्याएका थिए । तर उनको घर उपत्यका भित्र नै रहेकाले खान बस्नका लागि समस्या नभए पनि ट्याक्सीको ऋणको किस्ता र ब्याज तिर्नु पर्ने कुराले कसरी तिर्ने भनेर मानसिक तनाब भएको बताए ।

उनका बाबा पनि वैदेशिक रोजगारीमा रहेकाले केही सर्पोट भएको र बैंकको किस्ता तिर्न सकेको नत्र आफ्नो आम्दानीको स्रोत ट्याक्सी भएकाले ट्याक्सी थन्किदा समस्या पर्ने उनले बताए । धेरै व्यवसायीहरुले बैंकबाट ऋण लिएर किनेका भएकाले ट्याक्सी तीन महिनासम्म चलाउन नपाउँदा प्राय सबैलाई बाँच्न नै धौ धौ परेको उनको भनाइ थियो ।

लकडाउन खुल्ने बितिक्कै बिमा, बैंक तथा फाइनान्सको किस्ता तिर्न फोन आएको तर आफ्नोे हिमालय बैंकबाट रहेकाले त्यति धेरै प्रेसर नआएको उनले बताए । न्यूनतम सुरक्षाका उपाय अवलम्बन गरेर सुरक्षितरुपमा ट्याक्सी सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।

लकडाउनमा ट्याक्सी बिग्रिने डरले स्टार्ट गर्दै राख्दा पनि ट्याक्सीमा तेल सकिंदा कसरी तेल हाल्ने भन्ने चिन्ताले सताएको उनले बताए । तर अहिले ट्याक्सी सडकमा गुडे पनि कमाइ छैन । दैनिक ५ सय भन्दा बढी कमाइ हुने नगरेको र कोरोना सुरक्षाकोे मापदण्ड अपनाउनु पर्ने भएकाले दुई जना मात्रै बोक्न पाउने भएको छ । तर यात्रु आए भने चार जना आउने गरेका छन् । उनीहरुलाई सेनिटाइजर लगाउन लगाएर मात्रै यात्रा गराउने गरेको उनीहरुको भनाइ छ ।

सम्बन्धित समाचारहरु