#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33058557998747764992924409881
नेपाल718214671834153013

अधिकांश सार्वजनिक सवारीले पालना गर्दैनन् स्वास्थ्य सम्बन्धी मापदण्ड

फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड–१९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । शुक्रबार यातायात व्यवस्था विभागले अनुगमन गर्दा अधिकांश सवारी साधनले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगरेको पाइएको हो । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक सवारी साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । तर अधिकांश सार्वजनिक सवारी साधनले नियमको पालना गरेका छैनन् । विभागले अनुगमन गर्दा अधिकांश सवारी साधनमा सेनिटाइजर नै थिएन् । भएकाहरुमा पनि सानो बट्टामा रहेको पाइएको छ । यसबाट सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको पुष्टि भएको हो ।

विभागका सवारी अनुगमन शाखाका नायब सुब्बा केशवराज जमरकट्टेलले अधिकांश सवारी साधनले सेनिटाइजरको प्रयोग नगरेको पाइएको जानकारी दिए । मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दूरी कायम नगरी यात्रुलाई राख्ने गरेको पाइएको उनको भनाइ छ । उनले अनुगमनका क्रममा सेनिटाइजर नै नराख्ने तीन वटा सवारी साधनलाई कारबाही गरिएको जानकारी समेत दिए । सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगर्दा समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ । विभागले गरेको अनुगमनका क्रममा यातायातका चालक र सहचालकले सानो सेनिटाइजरको बट्टा देखाएर उम्किने कोसिस गरेका थिए ।

त्यस्तै कतिपय सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राखेको पाइएको छ भने कतिपय यात्रुले मास्कको प्रयोग नगरेको समेत पाइएको छ । विभागले भने सेनिटाइजर नराख्ने सवारी साधनलाई समान्य चिट काटेर कारबाही गरेको छ । सानो बट्टा राख्नेलाई सम्झाएर पठाइएको जमरकट्टेलले बताए । सरकारले लकडाउनलाई खुकुलो बनाउदैं गत असार २६ गतेदेखि उपत्यकाभित्र छोटो दूरीको सवारी साधन सञ्चालन गर्न दिएको थियो । यातायात सञ्चालन गर्दा भौतिक दूरी कायम गर्नुपर्ने, सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, चालक र सहचालक सहित सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने र सवारी सधानलाई निसंक्रमण गर्नुपर्ने मापदण्ड तयार गरिएको थियो ।

सम्बन्धित समाचारहरु