#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31021718962023743834622621349
नेपाल627974011712945267

सस्तोमा घर र गाडी किन्ने हो ? यस्ता छन् बैंकका कर्जा योजना (भिडियाेसहित)

काठमाडौं ।

यतिबेला बैंक तथा वित्तीय संस्थाले धमाधम घर र गाडी किन्न सस्तोमा कर्जा उपलब्ध गराईरहेका छन् । कोरोना भाइरसको महामारीका कारण लगानी गर्न नपाएका बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन खुकुलो भएसँगै धमाधम कर्जा लगानी गर्न थालेका हुन् ।

कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गतेदेखि मुलुकभरी नै लकडाउन गरेको थियो । त्यसबेलादेखि बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) थुप्रिएका कारण बैंकहरुले लगानी गर्न पाएका थिएनन् । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा २ अर्ब रुपैयाँ अधिक तरलता छ । लकडाउन खुकुलो भएसँगै अर्थतन्त्र पनि विस्तारै लयमा फर्कन थालेपछि बैंकहरु पनि धमाधम कर्जा लगानीमा प्रतिपस्पर्धा गर्न थालेका छन् ।

यतिबेला बैंकहरुले सस्तो ब्याजदरमा छिटो छरितो तरिकाले घर तथा सवारी कर्जा उपलब्ध गराइरहेका छन् । आधार दर घटेपछि स्वतः कर्जाको ब्याजदर घट्छ । लामो समय लगानी गर्न नपाएर चिन्तित बनेका बैंकहरुले आधार दर घटाएर धमाधम कर्जा लगानी सुरु गरेका हुन् । ठूला योजना तथा परियोजनाहरुमा कर्जा लगानी नभएपछि बैंकहरु घर तथा सवारी कर्जामा आकर्षित भएका हुन् । बैंकहरुले ग्राहक तान्न कर्जा सम्बन्धी विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गरेका छन् ।

यस्ता छन् बैंकका कर्जा योजना
ग्लोबल आइएमइ बैंक

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई सस्तो ब्याजमा तीन दिनभित्रै कर्जा दिने गरी योजना सार्वजनिक गरेको छ । बैंकले ९.९९ प्रतिशत ब्याजदरमा १५ वर्षसम्मको लागि १ करोड ५० लाख रुपैयाँसम्म घर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो र किस्ताबन्दीमा घर बनाउने, खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्न सक्ने गरी कर्जा योजना सार्वजनिक गरेको जनाएको छ ।

सनराइज बैंक

त्यस्तै, सनराइज बैंकले ९.९५ वार्षिक ब्याज दरमा सस्तो कर्जा योजना अघि सारेको छ । बैंकले २४ घण्टामै १ करोड रुपैयाँ एसएमई कर्जा दिने जनााएको छ । बैंकले साइज सरल एस.एम.ई कर्जा नामक कर्जा योजना ल्याएको हो । त्यस्तै, बैंकले ८.९५ प्रतिशत ब्याजदरमा घरकर्जा दिने घोषणा गरेको छ । यस्तो ऋण ४० वर्षमा ऋण तिर्दा हुन्छ । बैंकले शेयर धितोमा पनि ९.९५ प्रतिशत ब्याजदरमा ऋण योजना ल्याएको छ ।

सानिमा बैंक

सानिमा बैंकले पनि ९.९९ प्रतिशतमा घर तथा सवारी कर्जा योजना ल्याएको छ । बैंकले १० वर्षका लागि यस्तो कर्जा योजना ल्याएको हो । बैंकले १ वर्षसम्म कर्जाको ब्याजदर बढाउने छैन ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले सस्तो कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले घर कर्जा ८.२५ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत, मोटरसाइकल कर्जा १०.५५ प्रतिशत र व्यक्तिगत कर्जा ९.५५ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने योजना ल्याएको छ । बैंकले ‘चाडपर्व विशेष कर्जा योजना’ नामक सो योजना ३ महिनासम्मका लागि ल्याएको हो । यस्तो कर्जा साउन १५ गतेदेखि कात्तिक १४ गतेसम्म लागू हुनेछ ।

एनआइसी एशिया बैंक

लकडाउनपछि सबैभन्दा पहिले एनआइसी एशिया बैंकले सस्तोमा घर तथा सवारी कर्जा योजना सार्वजनिक गरेको थियो । यस बैंकले गत जेठमा कर्जा योजना सार्वजनिक गरेको थियो । बैंकले जेठ महिनामा घटाएको बेसरेटमा केही मात्रामा मार्जिन राखेर असारको दोस्रो सातामा ८.२५ प्रतिशत ब्याजदरमा घर र सवारी कर्जाको सुपर चमत्कारी योजना सार्वजनिक गरेको हो । यस्तो कर्जा बैंकले एक वर्षसम्म ब्याज नबढ्ने गरी बेसरेटभन्दा ०.०३ प्रतिशत बढी र सेवा शूल्क ०.२५ प्रतिशतमात्र लिने गरी सार्वजनिक गरेको थियो । बैंकले घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्न न्यूनतम ५ वर्षदेखि १० वर्षसम्मका लागि कर्जा योजना सार्वजनिक गरेको हो ।

नबिल बैंक

नबिल बैंकले घर कर्जामा ७.९९ प्रतिशत, शेयर धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ तथा साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत ब्याजदरमा ऋण दिने योजना सार्वजनिक गरेको छ । बैंकले ३६ औं वार्षिकोत्सवको अवसरमा कर्जामा विषेश छुट योजना ल्याएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

यस बैंकले घर जग्गा तथा सवारी खरिद गर्न ७.५९ प्रतिशत ब्याजदरमा सस्तो कर्जा योजना ल्याएको छ । बैंकले बार्षिक १ वर्षको लागि घरजग्गा तथा सवारी कर्जा योजना ल्याएको हो ।

हिमालयन बैंक

हिमालयन बैंकले घर र गाडी खरिदका लागि ८.४९ प्रतिशत ब्याजदरमा ऋण योजना ल्याएको छ ।

सम्बन्धित समाचारहरु