#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30730636957154741460122358881
नेपाल615933901738343820

बढ्न थाल्यो कोरोना बीमाको भुक्तानी दाबी, कुन कम्पनिमा कति दाबी ?

काठमाडौं ।

कोरोनाको संक्रमण बढ्दै गएपछि कोरोना बीमा गर्नेहरुले भुक्तानीका लागि धमाधम निवेदन दिन थालेका छन् ।

पछिल्लो समय कोरोना बीमा बापतको रकम भुक्तानीका लागि दैनिक एक जनाभन्दा बढीले बीमा कम्पनीहरूमा निवेदन दिन थालेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढदै गएपछि बीमा समितिले कोरोना भाइरसको बीमाको अवधारणा ल्याएको थियो । समितिको त्यसै अवधारण अनुसार गत वैशाख ७ देखि सबै २० वटा निर्जीबन बीमा कम्पनीले कोरोनाको बीमा गर्दै आएका छन् ।

कोरोना भाइरसको संक्रमण बढेसँगै बीमा कम्पनीले थेग्न नसक्ने भन्दै केही समयका लागि कोरोना बीमा लेख बन्द समेत भएको थियो । तर पछि सरकारसँग सम्झौता भएपछि पुनः सुचारु भएको हो । कोरोना बीमाको जोखिम बहनका सम्बन्धमा अर्थ मन्त्रालय, बीमा समिति र बीमक संघबीच सम्झौता भएको थियो । सो सम्झौता अनुसार पहिलो १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी पूल अन्तर्गत गर्ने व्यवस्था गरिएको छ । १ अर्ब रुपैयाँ पुर्नबीमा कम्पनीले र ५० करोड रुपैयाँको दाबी बीमा कम्पनीहरुले आफ्नो महाविपत्ती कोषबाट बेहोर्ने व्यवस्था छ ।

यसै बीच बीमा समितिले कोरोना बीमा सम्बन्धी कार्यविधी पनि बनाइसकेको छ । समितिका अनुसार कोरोना बीमामा १ करोड ४८ लाख ५० हजार रुपैयाँ भन्दा बढीको दाबी परेको छ । हालसम्म बीमा कम्पनीहरुले ६ लाख ४७ हजार ६१० जनाको कोरोना बीमा गएका छन् । यस अवधीमा बीमा कम्पनीहरुले ३६ करोड ४६ लाख ६५ हजार ६८२ रुपैयाँ बराबरको कोरोना बीमा बापतको प्रिमियम संकलन गरेको समितिले जनाएको छ । १ सय ४५ जनाको दाबी भुक्तानीका निवेदन परेका छन् । समितिका अनुसार ३८ वटा दाबी १ लाख रुपैयाँका बीमा लेखका ३८ करोड रुपैयाँ र ६ वटा दाबी ५० हजार रुपैयाँका कोरोना बीमा लेखको ३ लाख रुपैयाँ हो । जसमा ४४ वटा दाबीको भुक्तानी भइसकेको छ भने १ सय ११ वटा दाबी बराबरका १ करोड ७ लाख ५० हजार रुपैयाँ बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी रहेको समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए ।

समितिले उपलब्ध गराएको तथ्यांक अनुसार लुम्बिनी इन्स्योरेन्समा सबैभन्दा बढी दाबी परेको छ । यस कम्पनीमा ३१ वटा कोरोना दाबी परेको समितिले जनाएको छ । कम्पनीमा परेको दाबीमध्ये ३ वटा दाबी बराबर ३ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने २८ लाख ५० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी बाँकी रहेको समितिको तथ्यांकले देखाएको छ । त्यसैगरी, शिखर इन्स्योरेन्समा ३० वटा दाबी परेको छ । यस कम्पनीले ३० लाख रुपैयाँ बराबरको कोरोना बीमा दाबी परेको हो । जसमा कम्पनीले ६ वटा दाबी बराबर ६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने २४ वटा दाबी बराबर २४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

त्यसैगरी, युनाइटेड इन्स्योरेन्समा १५ लाख रुपैयाँ बराबरको १५ वटा कोरोना दाबी परेको थियो । कम्पनीले १३ वटा दाबी भुक्तानी गरिसकेको छ भने २ वटा दाबी भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । त्यस्तै, इन्स्योरेन्समा हालसम्म १५ वटा कोरोना बीमा दाबी भुक्तानी परेको छ । कम्पनीले १ वटा दाबी भुक्तानी गरेको छ भने १४ वटा दाबी बराबर १४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । १ लाख रूपैयाँका लागि एकाघरका परिवारले कोरोना बीमा गर्दा प्रत्येकले ६ सय रूपैयाँ र एक व्यक्तिले एक हजार रूपैयाँ तिरेर कोरोना बीमा गर्न सकिन्छ । त्यस्तै, ५० हजार रुपैयाँको बीमा गर्दा एकघरका परिवारले गर्दा हरेकले ३ सय रूपैयाँ र एक व्यक्तिले मात्र गर्दा ५ सय रूपैयाँ तिर्नु पर्ने व्यवस्था छ ।

यस्तो छ कोरोना बीमा गर्ने प्रक्रिया

कोरोना भाइरसको संक्रमण सुरु भएदेखि निर्जिवन बीमा कम्पनीहरुले धमाधम कोरोना बीमा गरिरहेका छन् । लकडाउन अवधीभर बीमा कम्पनीहरुले अनलाईनको माध्यमबाट यस्तो बीमा गरिरहेका थिए । पछिल्लो समय बीमा कम्पनीहरु खुलिसकेका छन् । त्यसकारण बीमा कम्पनीमा स्वयं गएर पनि यस्तो बीमा गर्न सकिन्छ । बीमा कम्पनीहरुले अनलाईन एप्स नै संचालन गरेका छन् । संचालनमा रहेका कुल २० वटा निर्जिवन बीमा कम्पनीहरुबाट घरमै बसी बसी पनि यस्तो बीमा गर्न सकिन्छ । बीमक संघका अनुसार कोरोना बीमा पोलिसी बिक्रि हालसम्मकै सजिलो व्यवस्था भएको जनाएको छ ।

कोरोना बीमा के हो ?

कोरोना भाइरसको जोखिम बढेपछि सबै बीमा कम्पनीहरु मिलेर सामूहिक रुपमा जोखिम बहन गर्ने गरी सामाजिक सेवाको उद्देश्यका साथ बीमा समितिले सुरु गरेको एक प्रकारको लघु बीमा योजना हो । यो बीमा योजना स्वास्थ्य उपचार बीमा होइन । यो महामारीमा न्यूनतम शुल्कमा जनतालाई राहत दिन ल्याइएको बीमा योजना हो । जन्मेको तीन महिनादेखि ९९ वर्षसम्मका मानिसको कोरोना बीमा गर्न सकिन्छ । कोरोना बीमाको अण्डरराईटिङ हुँदैन । अण्डरराईटिङ आवश्यक नपर्ने भएकाले यस्तो बीमा पोलिसी अनलाईनबाट सिधैं भुक्तानी गरी खरिद गर्न मिल्छ ।

यसरी हुन्छ कोरोना बीमाको भुक्तानी

कोरोना बीमाको भुक्तानी प्राप्त गर्न नेपाल सरकारको मान्यता प्राप्त कुनै पनि जनस्वास्थ्य ल्याबमा कोरोना भाइरसको वैज्ञानिक परिक्षण पिसिआर (पोलिमर चेन रियाक्सन) विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखियो भने त्यो व्यक्ति कोरोना बीमाको भुक्तानीका लागि योग्य हुन्छ । कोरोना पोजेटिभ भएको मितिले १५ दिनभित्र यस्तो भुक्तानी प्राप्त गर्न सकिन्छ । सिधैं कम्पनीमा सम्पर्क गरेर दावी भुक्तानी लिन सकिन्छ भने बीमा गरिएको व्यक्तिको पिसिआर रिपोर्ट इमेलमार्फत पठाए पनि बीमा कम्पनीले निजको बैंक खातामा सिधैँ रकम पठाउने व्यवस्था गरिएको हुन्छ ।

सम्बन्धित समाचारहरु