#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30731858957156741472622359976
नेपाल615933901738343820

खोटाङमा सरुवा भएर आएका छ प्रहरीमा कोरोना पुष्टि

खोटाङ ।

विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । “सरुवा भएर खोटाङ आए लगत्तै उनीहरु सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ”, उनले भने, “साउन २९ गते पिसीआर परीक्षण गर्न उनीहरुसँगै १३ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।”

सङ्क्रमित हुने प्रहरी जवानमा २३ र २५ वर्षीय दुई÷दुई तथा २० र २१ वर्षीय एक÷एक जना पुरुष रहेका छन् । सङ्क्रमित सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमै रहेकाले उच्च सतर्कता अपनाउँदै दैनिक कामकाजलाई समेत निरन्तरता दिइने जनाएको छ । जिल्ला बाहिरबाट सरुवा भएर आएकालाई पिसीआर परीक्षण गरेर मात्र ड्युटीमा खटाउने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द शाहले बताए।

दश स्थानीय तह रहेको जिल्लामा छ प्रहरीसहित सङ्क्रमित हुनेको सङ्ख्या १९ पुगेको छ । यसअघि सङ्क्रमण देखिएका १२ जना उपचारपछि घर फर्किसकेका छन् भने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक जना उपचाररत रहेका छन् । जिल्लामा भेटिएका सङ्क्रमित सबै बाहिरी देश तथा छिमेकी जिल्लाबाट भित्रिएका मात्र रहेका छन् । वैदेशिक रोजगारीका क्रममा विभिन्न देश तथा छिमेकी जिल्लाबाट आउने जिल्लावासीलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुका साथै पिसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार