#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32097561981968743544023680153
नेपाल678044361741449954

कुलमानको पदावधि भदौ २९ गते सकिँदै : प्राधिकरणको निर्देशक बन्न ५ जनाको दौडधूप

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक बन्नका लागि दौडधूप सुरु भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यहि भदौ २९ गते देखि सकिँदैछ । घिसिङको कार्यकाल सकिन २६ दिन मात्रै बाँकी रहेकाले प्राधिकरणको कार्यकारी निर्देशक बन्न घिसिङसहित केही नयाँ अनुहारहरुले राजनीतिक लबिङ्गमा दौडधूप तीव्र बनाएका छन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ आफैं आफ्नो निरन्तरताका लागि भित्रीरुपमा लागि परेका छन् । १८ घन्टा लामो लोडसेडिङ अन्त्य गरेर राम्रो छवि बनाएका घिसिङलाई नै निरन्तरता दिनु पर्ने भन्दै अहिले सबै तिर बहस भइरहेको छ । तर, यति बेला प्राधिकरणको कार्यकारी निर्देशक बन्न कुलमानसहित प्राधिकरणकै उपकार्यकारी निर्देशक हरराज न्यौपाने, प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश पाएकी शान्तिलक्ष्मी शाक्य, विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह, विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगत भुसाल र पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको नाम चर्चामा आएका छन् ।

प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपाने कार्यकारी निर्देशक बन्ने दाउमा विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । उनी पछिल्लो समय निर्देशक बन्नको लागि राजनीतिक शक्ति केन्द्रमा बाक्लै रुपमा दौडधूप गरिरहेका छन् । तर उनी कुन राजनीतिक दलको पक्षबाट लविङ गर्दैछन् यकिन भने भएको छैन ।

त्यस्तै, प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश पाएकी शान्तिलक्ष्मी शाक्यले पनि प्राधिकरणको पहिलो महिला कार्यकारी निर्देशक हुने इच्छा देखाउँदै आएकी छिन् । तर अहिलेको अवस्थामा उनको सम्भावना भने कम देखिएको छ ।

विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगत भुसालले पनि प्राधिकरणको कार्यकारी निर्देशक बन्न लबिङ गरिरहेको स्रोतले जनाएको छ । भूसाल राष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेकाले पनि सम्भावना बलियो देखिएको छ । प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषद् बैठकबाट हुने भएकाले प्रधानमन्त्रीले चाहेको व्यक्तिले नियुक्ति पाउन सक्छन् । तर, राष्ट्रपति भण्डारीसँग निकट सम्बन्ध रहेका भुसालको सम्भावना पनि उत्तिकै रहेको प्राधिकरण स्रोतको दाबी छ ।

त्यस्तै, विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह पनि कार्यकारी निर्देशक बन्न लबिङ गरिरहेका छन् । स्रोतका अनुसार ऊर्जामन्त्री पुनले सिंहलाई कार्यकारी निर्देशक बनाउन चाहन्छन् । निर्देशक बन्ने दौडमा रहेका सिंह र भुसाल पनि बलियो उम्मेदवारको रुपमा देखा परेका छन् ।

यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत रहिसकेका सुशील ज्ञवालीले पनि इच्छा देखाएका छन् । लगानी बोर्डमा जाने दाउमा रहेका ज्ञवाली अन्तिम समयमा सुशील भट्ट सीईओ बन्ने भएपछि पछि हटेका थिए । ज्ञवाली लगानी बोर्ड सीईओको सर्टलिष्टमा परे पनि अन्तर्वार्तामा उपस्थित भएनन् । तर अहिले उनको नाम यता पनि चर्चा हुन थालेकाले उनले पुनर्निर्माणको काम पूरा गर्ने सोचमा रहेको भन्दै प्राधिकरणको कार्यकारी बन्न कुनै लबिङमा नलागेको बताउन थालेका छन् ।

अहिले प्राधिकरणको निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिनु पर्ने भन्दै सबै तिरबाट सरकारलाई दबाब आउन थालेको छ । घिसिङ पनि एकपटक प्राधिकरणको कार्यकारी निर्देशक बनेर बाँकी रहेका योजना साकार पार्ने योजनामा रहेका छन् । घिसिङको पक्षमा ऊर्जामन्त्री वर्षमान पुन भने सकारात्मक रहेको स्रोतले जनाएको छ ।

घिसिङ जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा २०७३ भदौ २९ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । घिसिङको नेतृत्वमै अहिले राजधानीमा विद्युतको तारलाई भूमिगत गरेर व्यवस्थित गर्ने काम भइरहेको छ । उनले वार्षिक ९ अर्ब रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरणलाई ११ अर्बको नाफामा समेत लगेका छन् । यद्यपी घिसिङलाई निर्देशक बन्न नदिनका लागि एउटा समुह विभिन्न विवादहरु खडा गरिरहेको छ । घिसिङलाई डेडिकेटेड फिडरको विवादमा मुछिएका छ ।

उद्योगीहरुसँग प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेड फिडरको विद्युतको १४ अर्ब महसुल उठाउन बाँकी छ । संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइन बक्यौता सम्बन्धमा अध्ययन गर्न गठिन उपसमितिले बक्यौता असुलीमा लापरवाही भएको निष्कर्षसहितको प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा प्राधिकरण सञ्चालक समिति अध्यक्ष रहेका ऊर्जामन्त्री पुन, कार्यकारी निर्देशक घिसिङ, प्राधिकरणका सञ्चालकहरु र कर्मचारीमाथि छानविन गर्नु पर्ने उल्लेख छ ।

तर, कुलमानले प्राप्त गरेको जसलाई जोगाउन अब आउने नेतृत्वलाई ठूलै चूनौति त छ , सँगै उनको विकल्पमा उनी जत्तिकै सक्षम व्यक्ति पाउन सरकारलाई पनि चुनौति रहेको छ ।

सम्बन्धित समाचारहरु