#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31240262965068743973522835459
नेपाल641224111747846233

‘चर्तिकलात्मक’ लोगो : सांसदलाई लाज, डिजाइनर छक्क !

संसद सचिवालयले संघीय ससंद्का सदस्यहरूका लागि बनाएको अद्यावधिक लोगो विवादित बनेको छ । लोगोमा नक्सा गलत ढंगले राखिएको, नक्साको आकार पनि नमिलेको र कलाविहिन लोगो बनाइएको भन्दै विरोध भएको हो ।

वरिष्ठ कार्टुनिष्ट राजेश केसीले ‘स्थापीत कलालाई अमूर्त सोचले रुपान्तरण गर्दा चर्तिकला हुने’ भन्दै टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘लोगो सुग्घर हुन्छन्, स्थापीत कलालाई अमूर्त सोचले रुपान्तरण गर्दा चर्तिकला हुन जान्छ ।’ त्यस्तै फेसबुक प्रयोगकर्ता मिलन कार्कीले पनि नेपाली नक्सा र झण्डाको गलत प्रयोग गरि अपमान गरिएको भन्दै विरोध जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले संघीय शब्दको (स) मा शिरबिन्दु खै ? भन्दै प्रश्न गरेका छन् । सोमबार ट्वीट गर्दै नेता गुरुङले त्यस्तो प्रश्न गरेका हुन् । सांसदहरुको लोगोको तस्वीर सार्वजनिक गर्दै नेता गुरुङले संसद सचिवालयको अपरिपक्व काम भएको आरोप समेत लगाएका छन् । ‘संसद सचिवालयको कति अपरिपक्व काम हो ? लोगो भद्दा मात्रै होइन । (संघीय) शब्दमा (स) को माथि शिरबिन्दु खोइ ? जनताको सर्वोच्च संसद सचिवालयको यो भन्दा भद्दा मजाक र अकर्मण्यता के हुन सक्छ ?’

सर्वसाधारण र प्रतिपक्षी दलका सांसद मात्रै होइन केही सत्तापक्षी सांसदहरुले समेत यसको विरोध गरेका छन् । कसैले यस्तो लोगो लगाउँदा लाजमर्दाे हुने भन्दै विरोध जनाएका छन् भने कतिपयले फिनिसिङमा ध्यान नदिएकोले लागो गतिलो नबनेको भन्दै घुमाउरो शैलीमा विरोध जनाएका छन् ।

सांसद विजय सुब्बाले नमिलेको, अशुद्ध, भद्दा र हास्यास्पद लोगो बनेको भन्दै यस्तो लोगो लगाउन असहज भएको प्रतिक्रया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘प्रचारमा आए अनुसार हो भने यति साह्रो नमिलेको, अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनु ? यो कसरी स्वीकृत भयो होला ? यस्तो निर्माता कस्तो होला ? ल अब तयार भयो भनि दिने संस्थाले संघीय संसद, नेपाल र राष्ट्रिय झण्डाको यस्तो अपमान गरेकोमा दण्डित हुनुपर्छ ।’

यता आलोचना बढेसँगै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद सचिवालयमा ध्यानाकर्षण गराएकी छन् ।
पछिल्लो समय लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि नयाँ प्रतीक चिह्न परिवर्तन गरिएको हो । अद्यावधिक नक्सा अनुसार नयाँ डिजाइन गरिएको लोगोको आलोचना भइरहँदा सरकारले सांसदहरुलाई लोगो वितरण सुरु गरेको छ । सांसदहरुले पनि लोगोमा रहेको नेपालको नक्सा स्पस्ट नभएको र कलात्मक बनाउन नसकेको बताएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई संघीय संसद्का महासचिव डा. भरतराज गौतमले लोगो हस्तान्तरण गरेका थिए ।

लोगो ग्रहण गर्दै सांसद शशी श्रेष्ठले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न लोगो ग्रहण गरिएको प्रतिक्रिया दिइन् । सामाजिक सञ्जालमा र कतिपय सांसदहरुले नै लोगो डिजाइनमा हेलचेक्र्याई गरिएको टिप्पणी भइरहेपनि स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न स्वीकार गरिएको उनले बताइन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेकी सांसद श्रेष्ठले लोगोमा नेपालको नक्सालाई कलात्मक बनाउन सकिने भएपनि त्यसो हुन नसकेको बताइन् । स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने विषय सहि भएको तर हातले नै लोगो निर्माण गर्दा पनि फिनिसिङमा ध्यान दिएर बनाउन नसकेको उनले बताइन् ।

त्यस्तै सांसद रामकुमारी झाँक्रीले लोगो निर्माण गर्दा फिनिसिङमा ध्यान नदिएकोले भद्दा देखिएको बताइन् । आफुहरुले स्वदेशी उद्योगलाई सधै प्रवद्र्धन गर्न आवाज उठाउँदै आएकाले विरोध गर्न नमिल्ने भन्दै उनले घुमाउरो गरी असन्तुष्टि व्यक्त गरिन् ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसद र रोस्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो ।

त्यस्तै गत जेठ ११ मा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको अद्यावधिक नक्सा अनुसारको लोगो (प्रतीक चिह्न) परिमार्जन गर्ने निर्णय गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

यो लोगो बाग्मती प्रदेश सरकारको घरेलु तथा साना उद्योग कार्यालयमा रहेका कालिगडहरुले हातले कुँदेर तयार गरेको संसद सचिवालयले जनाएको छ ।

लोगोमा दुई लाल सुनको जलप लगाइएको, १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । यो लोगो बनाउन एउटालाई ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको छ । लोगो निर्माण गर्नका लागि संसद सचिवालयले करिब २० लाख रुपैयाँ खर्च गरेको छ ।

डिजाइनर नै असन्तुष्ट

संसदको लोगो चर्चित चित्रकार ८७ वर्षे टेकवीर मुखियाले बनाएका हुन् । यसअघिको लोगो पनि उनैले डिजाइन गरेका थिए । तर, यसपटक मुखियाले बनाएको लोगोको डिजाइन अनुसार लोगो निर्माण भएको देखिदैन् ।

लोगो निर्माण हुँदा डिजाइन भन्दा केही भिन्न रुपमा तयार भएको पाइएको छ । त्यसैले लोगो सार्वजनिक भएपछि मुखिया आश्चर्यचकित परेका छन् ।

उनले सचिवालयलाई दुई वटा लोगोको स्याम्पल बुझाएका थिए । एउटा लोगोमा महिला–पुरुषको हातले घेरिएको नेपालको नयाँ नक्सा र झण्डा उल्लेख छ भने अर्काे स्याम्पलमा जौको बालाले घेरिएको प्रतीक चिन्ह रहेको छ । पहिलो स्याम्पल अर्थात महिला–पुरुषको हातले घेरिएको नेपालको नयाँ नक्सा र झण्डा अंकित लोगो पारित भएको थियो ।

स्याम्पल बुझाएपछि उनले आफ्नो लोगो छनौटमा परे खबर गर्नु पनि भनेका रहेछन् । तर उनलाई खबर नै नगरी सचिवालयले लोगोलाई पूर्णता दिएको पाइयो । आप्mनो लागो छानिएपछि त्यसलाई फाइनल गरौंला भन्दा भन्दै सचिवालय आफैले फाइनल लोगो सार्वजनिक गरेपछि उनी तिनछक मात्रै परेका छैनन् उनको चित्त पनि दुखेको छ । मुखियाले बनाएको लोगोको खाका र अहिले पूर्णता दिएको लोगो नियाल्दा स्पष्टरुपमा भिन्नता देख्न सकिन्छ ।

उनले यसपटक मात्रै संसदको लोगो बनाएका होइनन् । पञ्चायतकाल, प्रजातन्त्र र गणतन्त्रका तीनवटा संसदीय लोगो समेत उनैले डिजाइन गरेका हुन् । कलाकार मुखियाले यसपटक सरकारको गलत कार्यशैलीका कारण आफ्नो नाम र पहिचानमा चोट लागेको बताएका छन् ।

यो लोगो बनाएबापत कलाकार मुखियालाई सरकारले ५० हजार रुपैयाँ दिएको थियो । उनले करकट्टी गरेर ४२ हजार रुपैयाँ हात पारेका थिए । तर यतिबेला उनी सरकारी कार्यशैलीप्रति यतिधेरै रुष्ट छन् कि उनी आफूले पाएको पारिश्रमिक समेत फिर्ता गर्न तयार छन् । सृजनामा रंग, कला, डिजाइनको अर्थ र महत्व हुने भएकाले जथाभावि प्रयोग गर्न नहुने उनको भनाइ छ । यस विषयमा सरकारी कर्मचारीलाई बुझाउनु आवश्यक भएको उनी बताउँछन् ।

के भन्छ सचिवालय ?

अध्यावधिक लोगोको विषयमा चर्काे आलोचना भएपनि संसद सचिवालयले भने यसलाई  ‘मिस्टेक’ मानेको छैन । त्यसैले सचिवालयले यो लोगो सांसदहरुलाई वितरण गर्न थालेको छ ।

राष्ट्रिय सभा अध्यक्षका प्रेस विज्ञ अशोक पौडेलले फेसबुकमार्फत प्रतिक्रिया दिँदै लोगोको बचाउ गरेका छन् । पौडेलले मुखियाले बनाएको लोगोलाई नै पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्योग कार्यालयमा रहेका कालीगढले हातैले कुँदेर पछिल्लो लोगो तयार पारिएको उल्लेख गरेका छन् ।

यता संघीय संसद्को सचिवालयका उपसचिव तथा सहायक सूचना प्रवक्ता दशरथ धमला पनि नयाँ प्रतीकमा कुनै समस्या नभएको दावी गर्छन् । कारीगढले हातले बनाएकाले लोगोमा केही त्रुटि हुन सक्ने भएपनि बिग्रेको भन्न नमिल्ने उनको जिकिर छ । संघीय संसद्, नेपाल लेखिएको ठाउँमा स मा शिरबिन्दु नभएको भन्दै आलोचना भइरहेका बेला धमलाले भने त्यसो नभएको बताएका छन् ।

को हुन् कलाकार मुखिया ?

कलाकार मुखियाको जन्म दार्जिलिङको धजेकमानमा भएको हो । उनी २०२२ सालमा कोलकाता हुँदै काठमाडौं उत्रिएका थिए । झन्डै ३० वर्ष साझा प्रकाशनसँग सम्बद्ध रहेका उनले सयौं पुस्तकको आवरण डिजाइन गरेका छन् । उनले हजारौं आवरण कला, तेलरंगका रेखा, कलाकृति र मुहारचित्रहरू सिर्जना गरेका छन् ।

सम्बन्धित समाचारहरु