#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32956644996324764075424319566
नेपाल718214671834153013

निर्वाचन आयोगमा नेकपा एमाले दर्ता

फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले नामको राजनीतिक पार्टी दर्ता गरेको छ । आयोगको बुधबार बसेको बैठकले नेकपा एमाले दर्ता गरेको हो । बुधबार बसेको आयोगको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको हो । मोरङकी तिवारीको अध्यक्षमा दल दर्ता गर्न गत असार १२ गते निर्वाचन आयोगमा निवेदन परेको थियो । सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा (एमाले) को महासचिवमा मनिषकुमार उपाध्याय रहेका छन् । दल दर्ताको प्रक्रिया पूरा भएकाले आयोगको बैठकले दल दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

नयाँ दर्ता भएको पार्टीको विधानमा पूरा नाम (नेपाल कम्युनिस्ट पार्टी एकीकृत, मार्क्सवादी, लेनिनवादी) र छोटकरीमा नेकपा एमाले रहेको आयोगले जनाएको छ । नेकपा एमालेको चुनाव चिन्ह पहाडबाट उदाउँदै गरेको सूर्य राखिएको छ । एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेसँगै सत्तारुढ नेकपाभित्र आरोपप्रत्यारोप चलेको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि दल दर्ता गर्न लगाएको प्रचण्डले आरोप लगाएका थिए । साथै पार्टी उपध्यक्ष वामदेव गौतमले आफूसँग केपी ओलीले पार्टी दर्ता गर्न लगाएको बलियो प्रमाण समेत भएको दाबी गरेका थिए । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उक्त आरोप लगातार अस्वीकार गर्दै आएका छन् ।

नवगठित नेकपा एमालेमा रहेका पदाधिकारी ओलीसँगै सांसद महेश बस्नेत निकट रहेको नेकपाका नेताहरुको दाबी छ । एमाले दर्ता भएसँगै आयोगमा १ सय ३२ राजनीतिक दल दर्ता भएका छन् ।

सम्बन्धित समाचारहरु