#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32657987990981757510124091905
नेपाल706144591828951866

प्रवासमा नेपाली महिलाहरु कसरी मनाउँदैछन् तीज ?

काठमाडौं ।
हिन्दु नारीहरूको पवित्र पर्व हरितालिका तीजको आज पहिलो दिन अर्थात् दर खाने दिन । आजबाट बिधिवतरुपमा तीजको सुरुवात भएको छ । धार्मिक कथन अनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दु नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । धार्मिक संस्कारयुक्त यो पर्वमा विवाहित तथा अविवाहित महिलाहरू पनि जन्म घर सम्झेर माइतीको आँगनमा दुःख साट्दै यो पर्व मनाउन पुग्छन् । विशेष गरी रातो पहिरनमा सजिएर वर्ष भरि आफूले कर्म घर तथा परदेशमा भोगेका देखेका दुःख तथा वेदनाका कथाहरू गीतमार्फत प्रस्फुटन गर्ने समेत गर्दछन् ।

पहिलो दिन दर खाने, दोस्रो दिनमा हरितालिका तीजको मूख्य दिन पर्दछ । तीजका दिनमा मठ मन्दिरमा पूजा अर्चना गर्दै मनोरञ्जन गर्ने परम्परा स्थापित छ भने अन्तिम तथा ऋषिपञ्चमीका (भाद्र शुक्ल पञ्चमी) दिनमा विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी निराहार व्रत बस्ने चलन छ ।

सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान बोकेको यस पर्वलाई नेपालमा मात्र नभएर विश्वमा छरिएर रहेका आस्थावान् महिलाहरूले विशेष महत्त्वका साथ मनाउने गर्दछन् । कोरोनाले विश्व आक्रान्त बनिरहेको बेला विभिन्न देशमा कार्यरत केही “प्रवासी महिला” हरु समक्ष तीजलाई कसरी स्मरण गर्दै मनाउँदै हुनुहुन्छ ? नेपालमा पछिल्लो समय तीजमा देखिएका विकृति विसङ्गति प्रति तपाइँको बुझाइ के छ भनी सोधेका थियौं ।

दीपिका भुसाल (पर्वत) हाल, इजरायल

तीजमा एक्लै प्रवासमा रहनु पर्दाको पीडा शब्दमा उतार्न सकिन्छ जस्तो लाग्दैन मलाई । प्रवास बसाइमा कुनै पनि तीज सोचे जस्तो तरिकाले मनाउन पाइएन । खासमा तीज त आमाले पकाएको दर खाएर, माइतमा दिदीबैनीहरूसँग सुख दुःखका कुराहरू आदान प्रदान गरेर, नाचगान गरेर मनाउने चलन हो तर प्रवासमा ती कुराहरू सम्भव भएन । जब जब तीज आउँछ आमा, दिदी, बहिनीको सम्झना पनि त्यसै त्यसै उर्लेर आउँछ । विदेश बसाइकै अवस्थामा पनि सकेसम्म पारिवारिक वातावरणमै तीज मनाउनको लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्यौं । मेरो दिदी पनि केही वर्ष अगाडिसम्म यहीँ हुनुहुन्थ्यो र दाइ पनि नजिकै हुनुहुन्थ्यो । तीज तिहार रक्षावन्धन लगायत पर्वहरू हामीले पारिवारिक रूपमै मनाउँदै आएका थियौँ । दिदी र दाइहरूले इजरायल छोडेपछि अवस्था फेरिए पनि मलाई अत्यधिक र मैले अत्याधिक माया गर्ने दिदी बहिनीहरू हुनुहुन्छ जसबाट मैले आमा तथा परिवारको जस्तै माया पाउँछु । हामी भेला हुन्छौँ एक आपसमा रमाइलो गर्छौं र तीज मनाउँछौँ । यौटा रमाइलो स्मृति बनेर बस्छन् हरेक वर्षका तीजहरू ।

हामीहरू नेपालबाट लोकप्रिय कलाकारहरू बोलाएर सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गर्थ्यौं । तर यो साल हुन् सकेन । आमाको सामिप्यता र माइतीको माया मोबाइलबाट साट्दै यहाँ जो जुन अवस्थामा छौँ त्यहाँबाट फुर्सद निकालेर मनाइएका सबै वर्षका तीजहरू सम्झन योग्यछन् । अहिले भने तीजको स्वरूप फेरिएको छ । तीज परम्परालाई तीजको मौसममा आउने गीतहरूले गलत बाटोमा हिँडाउन खोजे जस्तो देखिन्छ । दर खाने प्रचलन पनि ‘माइत’ बाट पार्टी प्यालेसमा सरेको छ । यो आधुनिक तीज हो भनेर बुझ्नु पर्ला तर मेरो लागि त त्यही दिन प्रतीक्षाको दिन बनेर बसेको छ जुन दिन तीजमा माइत जान पाइयोस्, आमाले पकाएको दर आमाले नै प्रेम पूर्वक पस्केर दिएको दर आमाको मुखमा पुलुपुलु हेर्दै मुसुक्क हाँस्दै खान पाइयोस् ।

नरदेवी पुन (म्याग्दी) , हाल बहराइन

सर्वप्रथम प्रवासमा रहनु हुने साथै नेपालमा रहनु हुने सम्पूर्ण दिदीबहिनी आमाहरूलाई हरितालिका तीजको धेरै शुभकामना दिन चाहन्छु । साथै सुरक्षित भई बस्नु हुन अनुरोध पनि गर्दछु । परिवारसँग बसेर चाडपर्व मनाउन नपाएको पनि धेरै भयो तर पनि प्रवासमा रहनु हुने सम्पूर्ण नेपाली मिलेर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइरहेका छौं । परिवारसँग आफ्नै देशमा बसेर चाडपर्व मनाए जस्तो प्रदेशमा हुँदैन त्यही पनि नेपाली दाजुभाइ, दिदी बहिनी भेट भएर खुसी साट्न पाउँदा रमाइलो लाग्छ । गत सालमा जस्तै अहिले जमघट गर्न पाइँदैन किनभने विश्व नै कोरोनासँग लडिरहेको र हामी सचेत हुनुपर्दछ ।

समय परिवर्तनसँगै नेपालमा पनि यसका प्रभाव परेको महसुस हुने थालेको छ । जसका कारण पुराना संस्कृति परम्पराहरू लोप हुन थालेका छन् यसलाई जोगाइराख्नु सम्पूर्ण नेपालीको दायित्व हो र म यो अनुरोध पनि गर्न चाहन्छु कि संस्कृति बचाउन सके हाम्रो पहिचान संसारमा चिनाउन सकिन्छ र अरूको देखासिकी गरेर कहिले खुसी पाउन सकिँदैन पहिचान मेटिँदै जान्छ । जे छ त्यहीसँगै खुसी रहन सिक्नु पर्दछ यो केवल तीजको लागि मात्र नभई हरेक चाडपर्वका आफ्नै परम्परा र संस्कृति हुन्छन् र हामीले त्यसलाई अनुशरण गर्नु पर्दछ । सबै जना कोरोनाबाट सुरक्षित रहनु होला ।

आरती शर्मा वाग्ले (स्याङ्जा), हाल युएई दुबई

कोरोना महामारीको कारणले देश विदेशमा तीज खुलेर मनाउने वातावरण छैन । यद्दपी मैले सधैं सामान्य तरिकाले नै मनाउने गर्छु देश परदेशमा । एक दुई जना दिदी बैनीहरूलाई दर खान बोलाउने र रमाइलो गरेर मनाउने गरेकी छु । खुसीको कुरा हामी सबै दिदीबहिनीलाई दर लगायतका खानेकुरा श्रीमानले तयार गर्दिनुहुन्छ । हल्का नाचगान दुःख सुखका कुरा र अर्को दिन मन्दिर दर्शन पूजा र ब्रत यति नै हो । हालका वर्षहरूमा हाम्रो नेपाली समाजमा धेरै विकृति बढेको पाइन्छ । जसबाट हिन्दु पर्व संस्कार संस्कृति पनि प्रभावित भएका छन् । पछिल्लो केहि बर्ष यता तीजमा विकृति बढेको पाइन्छ । पहिला पहिला आजको जस्तै १५,३० दिनमै विवाहित महिला माइत आउन जान मिल्दैथ्यो । यही तीजको मौकामा ३,४ दिन माइत बस्न पाउँथे । घरमा भोगेको महसुस गरेको दुःख सुख जन्म दिने आमा सङ्गी साथीहरूसँग बाँडेर मन हल्का गर्ने गर्थे । जुन बुहारीलाई ससुरालीमा बढी दुःख दिने गरिन्थ्यो त्यसका सासू ससुराले दाइ भाइ घरैमा लिन आउँदा पनि बुहारीले कुरा विस्तारसँग लाउँछिन भनेर माइत पठाउन आनाकानी गर्थे ।

कतिपय दाजु भाइहरू दिदी बैनी नलिई फर्किनु पर्दथ्यो ।‌ यसैले पहिला तीज मौज मस्ती, खाने, पिउने नाच्ने गाउने पर्व थिएन । एउटै गाउँ टोलका दिदीबैनी आमाहरू जम्मा भई आआफूले वर्ष भरि भोगेको दुःख पीडा एक आपसमा गीत गाएर गफ गरेर नाचेर मन हल्का गर्ने परम्परा थियो । तर समय परिवर्तनका साथ तीज पनि परिवर्तन भएको छ । अब यो दुःख पीडा बाँड्ने संस्कार रहेन एउटा देखावटको पर्व बन्यो । दर खाने नाममा महिनाभरि चल्ने पार्टी, पार्टीमा महिलाहरुले मादक प्रदार्थ ( वाइन, ह्विस्की, बियर) सेवन गर्ने , लुगा गहनाहरूको प्रदर्शनले यो पर्वको मूल मर्म र संस्कृतिलाई नै नामेट गर्दै गरेको छ । यो विकृति सहरहरूमा मात्र होइन गाउँहरूमा पनि सजिलै फैलिँदै छ जुन धेरै चिन्ताको विषय बनेको छ ।

कल्पना घर्ती (गुल्मी), हाल कतार

नेपालमा हुँदा तीजमा आमाको हातले पकाएको दर, नयाँ कपडा लगाउँदै साथीहरू सङ्ग रमाइलो गर्दै वेदनाका गीतमा नाच्दै गाउँदै मनाइन्थ्यो । आज त्यो दिन सम्झिदा आँखा नै रसाउँछन् । करिब १० वर्ष भयो मार्तिभूमिमा तीज नमनाएको । परदेशमा विभिन्न सङ्घ संस्थाले चेलीबेटीलाई दर खुवाउने कार्यक्रम आयोजना हुन्थे । त्यसले सबै दाजुभाइ, दिदी बहिनी सङ्ग रमाउन पाउँदा खुसी लाग्थ्यो नेपालमै भएको जस्तो अलिकति महसुस हुन्थ्यो तर अहिले कोरोनाका कारण त्यो अवस्था रहेन ।

परदेशमा रमाइलो गर्ने र दुःख भुल्ने भनेको नै मिल्ने साथीहरूले गर्दा हो । कोरोनाको कारण साथीहरूको जागिर गुम्यो र नेपाल गए एक्लो महसुस भएको छ । घरपरिवार आफ्नो देशको याद निकै आएको छ । यसपाली तीजको माहौल सुनसान जस्तै रहेको छ । तिनै अतीतका दिनलाई सम्झेर वेदनाका पुराना गीत सुनेर बस्नु सिवाय केही रहेन अहिले । पछिल्लो समयको तीज गीत त सुन्न लायक रहेनन् न वेदना भन्ने शब्द छ न लय तीज गीत । ब्याटल रे , विकृतिले सीमा नाघ्यो तीजमा खीर अचारको दर हुने ठाउँमा रक्सी मासुको दर । विकृतिको पराकाष्ठा तथा मौलिकताको चीरहरण भएको छ ।

मुना गिरी (झापा), हाल दोहा कतार

सर्वप्रथम त सम्पूर्ण नेपाली नारीहरुमा तीजको शुभकामना । खै कसरी स्मरण गरेको छु भन्नु र मौलिकताको जगलाई टेकेर मानिन स्वदेशको तीज र पश्चिमा शैलीमा मानिने अहिलेको तीजलाई तुलना गर्न नै मिल्दैन, यद्यपि पर्वको महत्व जहाँ रहे पनि घटेको छैन । अघिल्लो वर्ष विभिन्न नेपाली सङ्घ संस्थाहरूले आयोजना गर्ने तीज विशेष कार्यक्रममा दिदीबहिनीसँग मिलेर रातो सारी लर्काएर दर खाने र नाच्ने कार्यक्रममा सरिक हुने पाइएको थियो र निकै रमाइलो भएको थियो । तर यसपालि कोरोनाले गर्दा तीज नै खल्लो हुने भएको छ । प्रवासमा भए पनि नेपाली दिदीबहिनीहरू जमघट गरेर रमाइलो गर्न पनि नपाइने भइयो । तीजमा देखिएका विकृतिको त कुरै नगरौँ, विशेष गरी कला क्षेत्रमा हुनेहरूले गीत सङ्गीतमा विकृति भित्र्याएपछि वास्तविक जीवनमा पनि त्यसकै सिको गरेर तीजको मौलिकता हराउँदै गएको देख्दा दुःख लाग्छ । हुन त समय अनुसार परिवर्तन हुँदै गएको पनि होला तर परिवर्तनको नाममा विकृति भित्रिएको छ । हाम्रो चार्डपर्वको मौलिकता हामीले नै जोगाउन सकिएन भने आउने पुस्ताले तीजलाई क्लबमा नाच्ने र मादक पदार्थ सेवन गर्ने पर्वका रूपमा बुझ्नेमा दुई मत छैन ।

सरिता पौडेल भण्डारी (स्याङ्जा), हाल कतार

सर्वप्रथमत् नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा विश्वमा छरिएर रहनु भएको सम्पूर्ण आमा, दिदिबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । प्रवासमा रहँदा हरेक चाडपर्व आउँदा मातृभूमिको धेरै सम्झना आउँदो रहेछ, त्यसमा पनि तीजमा त माइतीको झनै बढी सम्झना आउँछ । बालापनमा मनाएको तीजको विशेष सम्झना आउँछ । त्यति बेला हामी आफैँ गाउने मादल बजाउने र नाच्ने गर्थ्यौं।

प्रवासमा रहेर पनि हरेक वर्षको तीजमा आफ्नो संस्कृति परम्पराको जगेर्ना गर्दै निकै रमाइलो तरिकाले दिदिबहिनीहरु जम्मा भएर , नेपाली समुदायले आयोजना गरेका तीज कार्यक्रममा सहभागी भएर मनाउँदा नेपालको झल्को केही हद सम्म मेटिन्थ्यो तर यस वर्ष भने कोभिड १९ को महामारीको कारणले गर्दा कतार सरकारले लागू गरेको नियमको पालना गर्दै र यो महामारी नियन्त्रणमा हामी नागरिकको पनि ठूलो दायित्व हुने भएकाले स्टे होम, स्टे सेभ भन्ने कुरालाई आत्मसात् गर्दै आफ्नै घरमा मनाउने बिचारमा छु । पछिल्लो समयमा तीज मनाउने शैलीमा विकृति बिसङगति फैलिएको छ । यस्ता विकृतिलाई निरुत्साहित नगर्ने हो भने भोलिका हाम्रा सन्ततिले तीजको अर्थ अर्कै किसिमले बुझ्नेछन् । हाम्रा चाडपर्व रितिरिवाज आफ्नै मौलिकतामा जगेर्ना गर्दै लैजानु एक सभ्य नागरिकको कर्तव्य हो।

सम्बन्धित समाचारहरु