नेपालबाट वर्षेनी २ खर्ब ४ अर्ब रेमिट्यान्स बाहिरियो

नेपालबाट वर्षेनी २ खर्ब ४ अर्ब रेमिट्यान्स बाहिरियो


काठमाडौं ।
नेपालीले मलेसिया र खाडी राष्ट्रमा ठूलो जोखिम मोलेर पठाएको रेमिट्यान्सको अनुपातमा नेपालमा रहेका अन्य मुलुकका कामदारले लैजाने रेमिट्यान्स परिमाणसमेत भयावह रहेको पाइएको छ ।

विश्व बैंकको द्विपक्षीय रेमिट्यान्स प्रवाह सूचकांक–२०१९ अनुसार नेपालबाट सन् २०१८ मा १ अर्ब ८० करोड ७० लाख अमेरिकी डलर (करिब २ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ) रेमिट्यान्स बाहिरिएको छ । सन् २०१७ मा नेपालबाट ३ अर्ब २२ करोड ६० लाख अमेरिकी डलर (करिब ३ खर्ब ६४ अर्ब रुपैयाँ) बाहिरिएको थियो ।

द्विपक्षीय रेमिट्यान्स प्रवाह सूचकांक अनुसार भारतबाट नेपालमा आउने रेमिट्यान्सभन्दा नेपालबाट भारततर्फ जाने रेमिट्यान्स बढी छ । सन् २०१८ मा नेपालबाट भारतले सर्वाधिक धेरै १ खर्ब ८० अर्ब रुपैयाँ (१ अर्ब ५९ करोड ४० लाख अमेरिकी डलर) रेमिट्यान्स लगेको छ भने भारतबाट नेपालले १ खर्ब ५१ अर्ब रुपैयाँ (१ अर्ब ३३ करोड ७० लाख डलर) रेमिट्यान्स प्राप्त गरेको छ ।

सन् २०१७ मा भने भारतले नेपालबाट सवा ३ खर्ब रुपैयाँ (३ अर्ब १ करोड ६० लाख डलर) बराबरको रेमिट्यान्स लगेको थियो । सो वर्ष भारतबाट नेपालमा सवा १ खर्ब रुपैयाँ (१ अर्ब २ करोड १० लाख डलर) रेमिट्यान्स भित्रिएको बैंकको विवरणमा उल्लेख छ ।

नेपालमा ठूलो संख्यामा भारतीय कामदार र व्यापारी तथा निजी क्षेत्रमा उच्च तहका कर्मचारी रहेका छन् । भारतमा नेपालीहरू तल्लो तहमा काम गर्न गइरहेका छन् । नेपालमा कबाडी संकलन र व्यापार, कपाल काट्ने व्यवसाय, पलम्बिङ, इलेक्ट्रेसियन, घर निर्माण लगायत क्षेत्रका भारतीय कामदारले अनौपचारिक रूपमा पठाउने रकम हुन्डीलाई जोड्ने हो भने योभन्दा बढी रकम भारततर्फ गइरहेको आँकलन गर्न सकिन्छ ।

भारतपछि नेपालबाट रेमिट्यान्स धेरै लैजाने मुलुकमा चीन परेको छ । सन् २०१८ मा चीनले नेपालबाट करिब १६ अर्ब २७ करोड रुपैयाँ (१४ करोड ४० लाख अमेरिकी डलर) रेमिट्यान्स लगेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, पाकिस्तानले ३ अर्ब ८४ करोड (३ करोड ४० लाख डलर) र भुटानले ३ अर्ब ७२ अर्ब ९० लाख (३ करोड ३० लाख डलर) लगेका छन् भने श्रीलंकाले २२ करोड रुपैयाँ (२० लाख डलर) र बंगलादेशले ११ करोड (१० लाख डलर) रेमिट्यान्स नेपालबाट लगेका छन् ।राजधानीबाट

Logo