नेकपा विवादका बीच शीर्ष नेतासँग चिनियाँ राजदूतको भेट अर्थपूर्ण

नेकपा विवादका बीच शीर्ष नेतासँग चिनियाँ राजदूतको भेट अर्थपूर्ण


सरोज बस्याल

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले शीर्ष नेतासँग भेटवार्ता गरेकी छिन् । चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका दुई शीर्ष नेता प्रचण्ड र माधवकुमार नेपालसँग शुक्रबार भेटवार्ता गरेकी हुन् ।

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । शुक्रबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेकी थिइन् भने नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि उनकै निवास कोटेश्वरमा भेटेकी थिइन् । राजदूत यान्छीको भेटले नेकपाभित्र देखिएको घरझगडामा चिनियाँ पक्षले चासो दिन थालेको धेरैको बुझाइ छ । अध्यक्ष प्रचण्ड र राजदूत यान्छी बीचको भेटवार्तामा कोरोना भाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले चीनले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको उल्लेख गरिएकाे छ । जवाफमा राजदूत यान्छीले चीन नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको बताइएको छ । साथै, राजदूत यान्छीले कोरोना महामारीका बेला सरकारको नेतृत्व परिवर्तन उचित नहुने सल्लाह दिएको स्रोतको दावी छ ।

त्यस्तै नेकपा वरिष्ठ नेता नेपाल र यान्छीबीच दुई देशको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको जनाइएको छ । बुधबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओ लगायतले वरिष्ठ नेता नेपालसँग करिब ३ घण्टा भिडियो कन्फ्रेन्स मार्फत् संवाद गरेका थिए भने, चिनियाँ राजदूतले बिहिबार साँझ प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको स्रोतको दावी छ । भेटमा समसामयिक राजनीति, कोरोनाविरुद्ध चिनियाँ सहयोग र दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बताइएको छ । त्यस्तैगरी गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि टेलिफोन संवाद भएको थियो । नेकपामा आन्तरिक विवाद चर्किदै गएको बेला चिनियाँ पक्षको उपस्थिति बाक्लिदै जानुले नेकपाभित्र नयाँ तरङ उत्पन्न गरेको छ ।

प्रधानमन्त्री ओलीले गत बैशाख ८ गते राजनैतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएपछि नेकपाभित्रको आन्तरिक विवाद सतहमा आएको थियो । प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेपछि पार्टीभित्रबाटै तीव्र आलोचना भएपछि गत बैशाख १२ गते फिर्ता समेत गरी सकेका छन् । अध्यादेश फिर्ता लिएपछि शान्त हुने ठानिएको नेकपा विवाद साम्य हुने कुनै छाटकाँट देखिएको छैन । बरु झन झन झाँगिदै गएको छ । स्थिति यतिसम्म भयावह भएको छ कि नेकपाभित्र सर्व शक्तिमान सोच राख्ने ओली कोरोना भाइरसको संक्रमण साम्य भएपछि आफूले राजीनामा दिने र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गर्न बाध्य भएका छन् ।

बुधबार साँझ ६ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव ल्याएका थिए । तर यति गर्दा पनि ओलीको राजीनामा माग गर्न नेपाल–दाहाल पक्षले छोडेको छैन । बुधबारको बैठकमा नेकपा सचिवालयका कुल ९ सदस्यमध्ये ५ सदस्यले ओलीले लोकप्रियता घट्दै गएको र सरकार चलाउने वैधता गुमाएकाले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिएर पार्टीलाई निकास दिनुपर्ने माग राखेका थिए । त्यस्तै वरिष्ठ नेता नेपालले तेस्रो अध्यक्ष बन्न अस्वीकार गरेको उनी निकटका नेताको भनाइ छ । त्यस्तैगरी पार्टी उपाध्यक्ष गौतमले पनि आफू भावी प्रधानमन्त्री बन्ने बाटो स्पस्ट नभएको भन्दै आएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल आफू पक्षका सांसदलाई जोगाउने कसरतमा समेत जुटि सकेका छन् । नेकपा विवाद हस्ताक्षर अभियान चलाएर सांसदको टाउको गन्ने अवस्थामा पुगको छ । यसरी नेकपामा अन्तरविरोध चर्किएका बेला यान्छीको भेटलाई नेकपाभित्र अर्थपूर्ण रुपमा हेरिएको छ ।

Logo