‘मनोरञ्जनको भ्याक्सिन लिएर आउँदै’ : शिव श्रेष्ठ (भिडियोसहित)

‘मनोरञ्जनको भ्याक्सिन लिएर आउँदै’ : शिव श्रेष्ठ (भिडियोसहित)


काठमाडौं ।

कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा घरहरु भोलि माघ १ गतेदेखि खुल्दैछन् । यससँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ । चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो । चलचित्रको प्रदर्शनका बारेमा सोधिएको एक प्रश्नमा नायक एवं निर्माता श्रेष्ठले आफ्नो चलचित्रको प्रदर्शनले ठप्प भएको सिने क्षेत्र चलायमान हुने बताए । हामीले नायक एवं निर्माता श्रेष्ठलाई यस्तो कठिन परिस्थितिमा सिनेमा किन बनाउनु भयो भनेर सोधेका छौँ ।

तपाईंलाई धेरै धेरै शुभकामना तथा बधाई यो विषम परिस्थितिमा सिनेमा लिएर आउनु भयो ?

हो समय अलि फरक नै छ । तर आश्चर्य मान्नु पर्ने त्यस्तो पनि छैन । कोभिडको समयमा सबैले आफ्नो क्षेत्रबाट काम सुरु गर्नुपर्ने आवश्यकता देखेर हामी अगाडि आएको हो । कलाकारले कला क्षेत्रबाट अगाडि आउने बेला हो यो । सिनेमा हेर्न सुरुमा दर्शक आउँदैनन् कि भन्ने डर हाम्रो टीममा पनि थियो । तर यो सिनेमाको प्रदर्शनले धेरै क्षेत्रको ढोका खोल्छ भन्ने लाग्यो । यसरी सबै क्षेत्रलाई चलायमान बनाउने देखेर हामीले प्रदर्शन गर्ने हिम्मत गरेको हो ।

कोरोनाको जोखिम बढेको बेला नयाँ कलाकारको सिनेमा, लगानी जोखिममा परेन र ?

जोखिम त छ । तर हामी मनोरञ्जनको क्षेत्रबाट यहाँसम्म आएका हौं । म आफैं बिगत ४० वर्षदेखि काम गर्दै आइरहेको छु । जोखिम भन्दा पनि कर्तव्य सम्झेर पनि आएको हुँ ।

अलिकति सिनेमाको कुरा गरौं, कस्तो छ कथावस्तु, नयाँ कलाकारलाई ल्याउनु भएको छ ?

‘एउटा यस्तो प्रेम कहानी’ को कथावस्तु उत्कृष्ट छ । मेरो छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरको छोरी कविता मानन्धरले अभिनय गर्नु भएको छ । हामी कलाक्षेत्रका ब्यक्तिहरुले आफ्ना छोराछोरीलाई दर्शक सामु ल्याएका छौं । यसमा पुराना र स्थापित कलाकारहरुले पनि अभिनय गर्नुभएको छ । सिनेमा कमर्सियल विधामा बनेको छ । खासमा गजब बनेको छ ।

फेरि पनि भर्खर हल खुल्दै छन्, नयाँ सिनेमा हलमा लगाउन हतार भएन र ?

यो समयमा सिनेमा ल्याउनु मेरा दर्शकको लागि हो । मलाई ४० वर्षदेखि दिएका माया र विश्वासलाई कर्तब्य सम्झेर पनि यो समयमा सिनेमा लिएर आएको हुँ । मलाई बनाएको दर्शकले हो, मैले दर्शकलाई मनोरञ्जन दिनु पर्छ । मेरो फिल्म हेर्न दर्शक हल सम्म आउँनु हुन्छ । कोरोनाको कारण घरभित्र उकुस मुकुस भएर बस्नु भएका दर्शकलाई नयाँ ताजा सिनेमा दिएको छु ।

अन्तिममा, यो सिनेमाको प्रदर्शनसँगै सिने क्षेत्रमा कस्तो प्रभाव पर्छ के भन्नुहुन्छ ?

यो सिनेमाको प्रदर्शनसँगै बन्द भएका, रोकिएर रहेका कामहरु सुचारु गर्न बाटो खोल्छ । अब केहि गर्नुपर्छ चुप लागेर बस्नु हुन्न भन्ने सन्देश प्रवाह गर्छ । साथै सिने क्षेत्रका प्राविधिक कलाकारहरुले काम पाउने वातावरण बन्छ । हामीले प्राविधिक कलाकारहरुलाई काम पनि दिनु छ । मैले पनि सिनेमाको प्रदर्शनपछि संकलन हुने केहि रकम प्राविधिकहरुलाई सहयोग गर्नेछु । यस्तै अहिलेको अवस्था सृजना गर्न नेपाल सरकारले गरेको सहयोगलाई धन्यवाद दिन्छु।

 

Logo