लाइफ स्टाइलसमाजस्वस्थ

एउटा मात्रै बच्चा छ ?

(सुजाता मुखिया)

अहिलेको समयमा ‘सिंगल चाइल्ड’ हुर्काउने अभिभावकको जमात बढ्दो छ । बढ्दो महंगी र आम सर्वसाधारणमा आएको जागरुकता भनौ अथवा जागिरे अभिभावकहरुको बढ्दो महत्वकांक्षा । धेरै बच्चा हुर्काउने बोझबाट बच्ने उपाय ? भनौ अथवा अन्य कारण जे सुकै होस् ।

सामाजिक परिवेश र बदलिदो पारिवारिक संरचनाको कुरा गर्ने हो भने एउटा मात्रै बच्चा हुर्काउने सम्झौता सही पनि लाग्न सक्छ । व्यस्त जीवनशैलीको कारण काम गर्ने अभिभावक एउटा मात्र सन्तान हुर्काउन चाहन्छन् । यही सोचले हाम्रो समाजलाई चुनौती दिएको जस्तो लाग्छ । न संयुक्त परिवार, न आफन्तहरुको साथ । बच्चाको पुरै जिन्दगीलाई असर पर्न जान्छ र एक्लोपनको शिकार बन्न पुग्छ ।

अधिकांश अभिभावक ‘एउटा मात्र बच्चा त हो’ भन्ने सोचले बच्चाहरुको हरेक इच्छाको पूरा गर्दिन्छन् । अभिभावक बच्चाको इच्छा अनुसार काम गर्न थाल्छन् । यस्तोमा धेरै पुल्पुलाएर राखेको बच्चामा धेरै प्रकारको समस्याले जन्म लिन थाल्छ । बानी बिग्रन थाल्छ । पछि गएर यही बानी अभिभावकहरुका लागि असह्य मात्र हुँदैनन् बच्चाको व्याक्तित्वमा पनि प्रभाव पार्छ ।

घुलमिलको अभाव

‘सिंगल चाइल्ड’ को चलनले हाम्रो पुरै पारिवारिक संस्थामाथि प्रश्न चिन्ह खडा गरि दिन्छ । पारिवारीक माहौलविना बच्चाले जीवनको उतारचढावलाई बुझ्न सक्दैनन् । खुशीको माहौल र चाडपर्वमा एक्लो बच्चा परिवारमा रमाउन सक्दैनन् । बच्चालाई सभ्य नागरिक बनाउनमा परिवारको ठूलो हात हुन्छ । संयुक्त परिवारमा हुर्केको बच्चाहरु सामाजिक र नैतिक पक्षसँग राम्रोसँग परिचित हुन्छन् । समाजशास्त्री पनि मान्छन्, ‘सिंगल चाइल्ड हुर्काउनु खतरानाक साबित हुन सक्छ ।’

लिंगभेद

हाम्रो जस्तो पुरुष प्रधान देश भनौ वा पितृसत्तात्मक समाज अझै पनि ‘छोरा नै चाहिन्छ’ भन्ने सोच विद्यमान छ । ‘सिंगल चाइल्ड’ हुर्काउने सोचले हाम्रो समाजको महिला पुरुषबीचको असमानतालाई पनि बढावा दिन्छ । किनभने अधिकांशले पहिलो बच्चा छोरा भयो भने दोस्रो बच्चा जन्माउन चाहदैनन् । तर पहिलो बच्चा छोरी भएमा अर्काे बच्चाका लागि सोच्ने गर्छन् । समग्ररुपमा यस्तो सोचले हाम्रो समाजमा लैंगिक असामनताको जन्म लिन पुग्छ । यो कुरा बच्चाको मानसिकतामा पनि नराम्रोसँग गडेको हुन्छ । र, पछि उसले पनि यही कुरा लागु गर्न खोज्छ ।

खुल्न नचाहने 

आजकल एकल परिवारमा एक्लो बच्चा हुर्काउने चलन बढ्दो छ । यस्तोमा बच्चाको आमा बुवा जागिरे हुने भएकाले धेरैजसो समय बच्चाले एक्लै विताउने गर्छन् । यस्तो माहौलमा हुर्केको बच्चाहरुमा सानो सानो कुरामा भावुक हुने, अरु कसैसँग घुलमिल नहुने, उनीहरु यति धेरै एकलकाँटे हुन्छन् कि कसैसँग मिलेर बस्न पनि सक्दैनन् । कसैको उपस्थिती पनि सहन सक्दैनन् । जहिल्यै पनि जित्न चाहन्छन् । जिद्दि स्वाभावको हुन्छ । आफ्नो खानेकुरा र खेलौनाको सामान कसैसँग बाड्दैनन् ।

बढ्दो माग

एक्लो बच्चाहरु घरमा एक्लै बस्ने भएकोले जिद्दि स्वभावका हुन्छन् । अभिभावकहरु बच्चाहरुको आवश्यक र अनावश्यक मागहरु पुरा गरेर आफ्नो अपराधबोध कम गर्ने बाटो खोज्न थाल्छन् । बच्चाले आफुसँग भएको व्यवहार विस्तारै बुझ्दै जान थाल्छ र सानै उमेरमा ‘इमोसनल ब्ल्याकमेल’ गर्न थाल्छ । यदि उनीहरुको माग पुरा भएन भने विभिन्न प्रकारको रणनीतिहरु अपनाउँछन् ।

ग्याजेटको लत

समयको माग भनौ वा अरुभन्दा पछाडि पर्ने डर । अभिभावक आफ्नो एक्लो बच्चालाई यो आधुनिक जमानामा प्रविधिबाट टाढा राख्न चाहदैनन् भने कसैकसैले आफ्नो बच्चा भुल्याउने मेलोको रुपमा लिन्छन् । व्यस्तताले गर्दा अभिभावक आफ्नो बच्चालाई मोबाइल, टिभीमा भुलाएर आफ्नो काम गर्ने सोच्छन् । विस्तारै बच्चा यति धेरै लिप्त हुन थाल्छन् कि उनीहरु ‘एडिक्ट’ नै हुन पुग्छन् । खाना खाँदा मोबाइल हेर्दै खाना दिने, निद्रा लाग्दैन मोबाइल देखाउदै सुताउने, छिट्टै काम भ्याउनु छ, बच्चालाई मोबाइल वा टिभी देखाएर अल्झाउने यही बानीले पछि गएर विकराल रुप लिन्छ ।

बच्चा समाजमा घुलमिल हुन सक्दैनन् । बच्चाको स्वस्थ्यमा पनि गम्भिर असर पर्छ । एन इन्टरनेसनल चाइल्ड एडवोकेसी अर्गनाइजेसनको एक रिर्पोट अनुसार इन्टरनेटमा धेरै समय विताउने बच्चाहरुको सामजिकता कम हुन्छ । त्यसको नतिजा उनीहरुको मानसिक, शारिरिक र संवेगात्मक विकासमा प्रतिकुल असर पार्छ । मनोचिकित्सकहरुले इन्टरनेटको लतलाई मनोरोगको नाम दिएका छन् ।

डिप्रेसनको शिकार

अभिभावकले प्रायः बच्चालाई प्रयाप्त समय दिन सक्दैनन् । त्यसैले एक्लै बस्ने बच्चाहरु डिप्रेसनको शिकार बन्न सक्छन् । आमा–बुवा पनि ब्यस्त हुने र बच्चा पनि एक्लै हुने भएकाले बोल्ने, खेल्ने साथी हुँदैन् । एकोहोरो इन्टरनेटमा भुलिने बच्चाहरु सक्रिय हुँदैनन् । उनीहरु एकोहोरो हुने, कहिले धेरै खाने खाएको खाएकै गर्ने, कहिले खान मन नगर्ने, कहिले औधी रमाउने, कहिले निरास हुने, कहिले झर्कने, रिसाउने गर्छन् । यो एक जटिल समस्या हो ।

अन्य समस्या

एक्लो बच्चाको व्यवहार र कार्यशैली अरु बच्चाको भन्दा फरक हुन्छ । अरु बच्चा आफनो दिदी भाईसँग, आप्mनो उमेरको साथीहरुसँग हुर्केका हुन्छन् । जागिरे अभिभावकहरु व्यस्त भइरहने कारणले गर्दा बच्चा उपेक्षीत र कुंठित अनुभव गर्छन् । सानै उमेरमा सबै सुखसुविधा मिलेको कारण वास्तविकता र जिम्मेवारीको ठिकसँग ब्झन सक्दैनन् । बच्चा आत्मकेन्द्रित बन्छ । आफ्नो मनको कुरा अरुसँग खुलेर सुनाउन सक्दैनन् वा बानी हुँदैन् । यस्तो बच्चा पछि गएर अन्र्तमुखी, झन्झट मान्ने, जिद्दि हुने, आक्रामक स्वाभावको बन्छ ।

एक्लै हुर्केको बच्चा सामाजिक हुँदैनन् । उनीहरु हरेक समय अरुमा भर पर्ने र अरुमा निर्भर रहने हुन्छन् । सम्पन्न र सुविधाजनक संस्कार पाएको एक्लो बच्चा जिन्दगीको वास्तविकताबाट टाढै हुन्छन् । यस्तो बच्चा अल्छी र गैरजिम्मेवार बन्छन् । सानो सानो कुरामा अरुमा परनिर्भर रहने बानी हुन्छ ।

आत्मर्भिरताको कमीले गर्दा पछि गएर आत्मबिश्वास कमजोर हुने हुन्छ । एक अध्ययनको अनुसार एक्लो बच्चाको खाना खाने बानी बिग्रन्छ र मोटोपनको शिकार हुन्छन् । धेरै शारिरिक समस्याहरु पनि निम्तिन सक्छ ।

SKIP THIS