#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व333195661002524767503224642010
नेपाल733944771901953898

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको मोडालिटीबारे छलफल सुरु

काठमाडौं ।

काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको मोडालिटीबारे छलफल सुरु भएको छ । एक साताका लागि थप गरिएको निषेधाज्ञाको अवधि पूरा हुन थालेसँगै नयाँ मोडालिटीबारे छलफल सुरु भएको हो । गत भदौ २ गते बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

पछि गत मंगलबार तीन जिल्लाका सीडीयो, स्थानीय तह, उद्योग वाणिज्यका पदाधिकारी, स्वास्थ्यकर्मी लगायतको सर्वपक्षीय बैठक बसेको थियो । उक्त बैठकले निषेधाज्ञालाई बढाउँदै जानु पर्ने सुझाव दिएको थियो । सोही सुझाव अनुसार एक साताका लागि निषेधाज्ञा पुनः थप गर्ने निर्णय गरिएको थियो । जस अनुसार भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको थियो । भदौ १७ गतेसम्म थप गरिएको निषेधाज्ञाको अवधि पनि पूरा हुन लागेको छ ।

१७ गतेपछि उपत्यकामा निषेधाज्ञा हुन्छ कि हुँदैन ? वा कस्तो मोडालिटीमा हुन्छ भन्ने धेरैको चासोको विषय बनेको छ । तर अहिलेसम्म निषेधाज्ञाको मोडालिटीबारे कुनै औपचारिक निर्णय भने भइसकेको छैन । आगामी दिनमा निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले केन्द्रबिन्दुलाई जानकारी दिए । उनले केन्द्रबिन्दु अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै भने–‘उपत्यकामा अब निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्नेबारे छलफल हुँदैछ । भोलिसम्म निषेधाज्ञाको नयाँ मोडालिटी टुंगो लाग्छ ।’

निषेधाज्ञामा अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य पदार्थको ओसारपसारमा सहज गरिदै आएको छ । साथै, खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू ९ः१५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको थियो भने सरकारी सवारी साधन, एम्बुलेन्स, कार्डबाहक सवारी साधनहरूलाई निर्वाध रुपमा सञ्चालनमा आउन दिइएको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो । यस अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक काठमाडौं उपत्यका प्रवेशमा समेत रोक लगाइएको छ ।

गत भदौ १ गते बसेको मन्त्रिपरिषद्को बैठकले देशभर कोरोना भाइरसको संक्रमण तीव्र दरमा बढ्न थालेकाले निषेधाज्ञा जारी गर्न निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कोभिड–१९ संक्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित देशभरका अधिकांस जिल्लाहरुमा अहिले निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार