#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व333278971002665767842424646808
नेपाल733944771901953898

आफ्ना माग पूरा नभए, चर्को अन्दोलन गर्ने सिभिल अस्पतालका कर्मचारीहरुको चेतावनी

काठमाडौं । सिभिल अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफ्ना माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ ले स्वास्थ्यकर्मी एवं कर्मचारीले राखेका माग पूरा नभए धर्ना र अनसन बस्ने चेतावनी दिएको हो ।

संघका अध्यक्ष सन्तोष धिमालले स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब, सेवा सुविधा, बढुवा, विनियमावली संशोधन लगायतका विषयमा अफूहरुले राखेका माग पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने जानकारी दिए । सोमबार भएको प्रदर्शनमा अध्यक्ष धिमालले माग पूरा नभए धर्ना र अनसनका कार्यक्रम घोषणा गरिने बताए । अस्पतालका स्वास्थ्यकर्मी कर्मचारीहरुले १५ दिनदेखि अस्पताल अगाडि कालो ब्यानर झुण्ड्याएर आफ्ना माग राखेका थिए भने आइतबारदेखि हातमा कालोपट्टि बाधेर काम गर्ने र दिनको १५ मिनेट अस्पताल अगाडि प्रदर्शन गर्ने कार्यक्रम गर्दै आएका छन् । अध्यक्ष धिमालले विगत दुई वर्षदेखि नै अस्पतालको व्यवस्थापन समक्ष आफ्ना मागहरु राखेको तर अहिलेसम्म समाधान नभएकाले आन्दोलन गर्नुपरेको बताए ।

त्यस्तै अस्पतालकी निर्सिङ इन्चार्ज माया अधिकारीले अस्पताल व्यवस्थापनले स्वास्थ्यकर्मीको सुझाव पनि नमान्ने र आफैले पनि राम्रोसँग काम नगरेकाले समस्या बढेको बताइन् । वर्षौंदेखि विनियमावली नल्याउँदा स्वास्थ्यकर्मीलाई काम गर्न स्पष्ट गाइडलाइन नभएको उनको भनाइ छ । स्वास्थ्यकर्मीको बढुवा नहुने, वृति विकासका लागि अध्ययन र तालिममा सहभागि नगराउने, तल्लो तहमा बसेर माथिल्लो तहको कामको जिम्मेवारी लिनुपर्ने लगायतका समस्या रहेकाले आन्दोलन गर्नुपरेको अधिकारीले बताइन् ।

त्यस्तैगरी निजामती कर्मचारी अस्पताल कर्मचारी संघले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि नेपाल रेडियोलोजिकल सोसाइटीले उनीहरुका मागप्रति एक्यवद्धता जनाएको छ । सोसाइटीका अध्यक्ष मुकेश झाले सोमबार अस्पताल पुगेर आफूहरुको पूर्ण साथ रहेको बताए । उनले जायज माग पूरा गर्न तत्काल वार्ता गर्ने व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन र सरकारसँग आग्रह समेत गरे । कोभिड–१९ को अवस्थामा जोखिम मोलेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई सेवा सुविधा कम हुँदा मनोबल कमजोर हुने भएकाले तत्काल वार्ता मार्फत समस्या समाधान गर्नुपर्नेमा झाले जोड दिए । स्वास्थ्यकर्मीहरुले बिरामीको उपचारमा कुनै असुविधा हुने गरी आन्दोलनका कार्यक्रम नगरिएको बताएका छन् । आफ्ना माग पूरा गराउन दिँउसो खाजा खाने समयमा १५ मिनेट छुट्याएर प्रदर्शन गरेको स्वास्थ्यकर्मीहरुको दाबी छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार