#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30975784960863743809122576830
नेपाल627974011712945267

कोटेश्वर–जडिबुटी सडक विस्तारको काम सुरु

काठमाडौं । काठमाडौं उपत्यकामै सबैभन्दा बढी जाम हुने कोटेश्वर—जडिबुटी सडकखण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ । दक्षिणतर्फ दुई लेन र उत्तरतर्फ दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको हो ।

२ लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग हुने र बीचका ४ लेन सिधै कोटेश्वर—जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको हो । सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछन । सबैभन्दा बढी जाम हुने क्षेत्रमा विस्तारपछि यातायात सहज हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए ।

पूर्ण रुपमा जाम नियन्त्रण गर्न नसकिए पनि २५/३० प्रतिशत जाम कम गर्न सकिने उनको भनाइ छ । सडक विभाग अन्तर्गत काठमाडौं डिभिजनबाट सडक विस्तारको काम सुरु भएको हो । ४/६ महिनाभित्र सम्पन्न हुने गरी काम सुरु भएको उल्लेख गर्दै मन्त्री नेम्वाङले जडिबुटी क्षेत्र आसपासमा रहेका नीजि क्षेत्रमा बनेका घरलाई मुआब्जाको व्यवस्था गरिने जानकारी दिए । सार्वजनिक यातायातमा जिपिएस जडान र इ—टिकेटिङ सिस्टम लागु गर्ने गरी नीति तर्जुमा भइरहेको उनको भनाइ छ ।

त्यस्तै सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख कुबेर नेपालीले शतप्रतिशत जाम कम गर्न नसकिए पनि करिब ४० प्रतिशत जाम सडक निर्माणपछि कम हुने उनको दावी छ । भक्तपुर पेप्सीकोलाबाट बालकुमारीतर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन हुने भएपछि जाममा बस्नुपर्ने अवस्था नहुने उनको भनाइ छ ।

सडक विस्तारको काम सुरु भइसकेको छ । परिस्थिति सहज भए कम्तिमा ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो । करिब १२ करोड लागतमा सडक विस्तार हुनेछ । यो साता नै टेण्डर खुला गरिने डिभिजन कार्यालयले जनाएको छ । उत्तरतर्फ लेन विस्तारका लागि विमानस्थलको जग्गा प्रयोग गरिएको छ । जाइकाको सहयोगमा सुरुङमार्ग निर्माणका लागि कार्ययोजना बनिरहे पनि तत्कालको समस्या समाधानका लागि लेन विस्तारको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु