#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32644627990797757800524075825
नेपाल706144591828951866

कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेको कामबारे सांसदले अनुगमन गर्न सक्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका कामबारे प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले अनुगमन गर्न सक्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसद र राष्ट्रिय सभा सांसद रहने समितिले कोरोनाबारे भइरहेका काम सम्बन्धी अनुगमन गर्न सक्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकको निर्णहरु सोमबार सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । जनप्रतिनिधिले कोरोना रोकथाम, नियन्त्रणमा भइरहेका प्रयास र आवश्यक समन्वयबारे निर्वाचन क्षेत्रमा अनुगमन गर्न सक्ने उनको भनाइ छ ।

त्यस्तै सरकारले विदेशबाट दैनिक ८ सय नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । यसअघि दैनिक ५ सय जनासम्मको मात्रै उद्धार गर्दै आएकोमा अब ८ सय जनाको उद्धार गर्ने निर्णय गरेको हो । विदेशमा रहेका नेपालीको उद्धार नियमित र चार्टर उडानमार्फत पर्यटन मन्त्रालयले आवश्यकताअनुसार गर्नेछ । साथै सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नेपाल आउन दिने निर्णय समेत गरेको छ । विदेशी नागरिकता लिएका एनआरएनएहरुले नेपाल आउन नपाएको भन्दै गुनासो गर्दै आएकाले कूटनीतिक नियोगको सिफारिसमा नेपाल आउनै पर्ने अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने निर्णय गरिएको प्रवक्ता खतिवडाको भनाइ छ ।

त्यस्तैगरी सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायात असोज १ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरिएको थियो । तर अहिले कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको प्रवक्ता खतिवडाको भनाइ छ । साथै, असोज १ गतेसम्मका लागि आन्तरिक हवाइ उडान सञ्चालनमा समेत रोक लगाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

सम्बन्धित समाचारहरु