#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31254734965199745039522839140
नेपाल641224111747846233

सुनसान छन् पाँच तारे होटलहरु : कहिले फर्केलान् लयमा ? (भिडियोसहित)

काठमाडौं ।

उपत्यकामा भाइरस जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको दिन सामाजिक दुरी कायम गर्दै केन्द्रविन्दुकर्मी उपत्यकाका पाँचतारे होटेलको अवस्था नियाल्न निस्कियौं । सडकहरू आफैंमा सुनसान छन् , बाक्लैसँग भिडभाड र सधैं व्यस्त रहने अनामनगर, पुतलीसडक, बागबजार, रत्नपार्क, सुन्धार, त्रिपुरेश्वर, कालीमाटी लगायत क्षेत्र मौन छन् ।

चोकचोकमा ट्राफिक, प्रहरी सशस्त्र डिउटी पूरा गर्न तैनाथ छन् । अनि, अत्यावश्यक सवारी आफ्नै गतिमा बेला बेला दौडा दौड गरिरहेका छन् । तथापि मानिसहरू आफ्नै घरघरमा पट्यारिलो अनि अन्यौलग्रस्त जीवन बिताउन बाध्य छन् ।

अनामनगरको हनुमानस्थानबाट दूरी नाप्दै अगाडि बढेको हाम्रो गाडी यस्तै यस्तै परिदृष्य नियाल्दै होटेल सोल्टी क्राउन प्लाजा पुग्यो । पाँच तारे होटेलको वस्तुस्थिती बुझ्ने हाम्रो पहिलो प्रयास क्राउन प्लाजाको गेटमै टक्क अडियो । व्यवस्थापनको आन्तरिक कलह हो या, अरु केही कारण क्राउन प्लाजा भित्र पस्न माहोल मिलेन । तथापि त्यहाँको माहोल अनि शुन्यता आफैंमा पट्यार लाग्दो थियो । कयौं आन्तरिक तथा बाह्य नागरिकहरूको आवत जावत रहने यो होटेल केवल दुई सेक्युरिटी गार्डको भरमा आफ्नो अस्तित्वमा उभिरहेको थियो ।

भिडियो :

हामी उसैगरि दूरी नाप्दै दरबारमार्गस्थित होटेल याक एण्ड यती तर्फ लाग्यौं, प्राय अवस्था सबैको उस्तै छ । सुरक्षा गार्डको तैनाथी नै पाँच तारे होटेलको अस्तित्व हो झैं लाग्छ । तर, यस होटेलको प्राङ्गढमा पुग्दा जर्मन नागरिक तथा, होटेलका जनरल म्यानेजर मोनिकाले त्यो शून्य वातावरणलाई हाम्रो क्यामेरामा कैद गर्ने मौका जुराईन् । यस्तै शून्यताको माहोलमा रहेका पाँचतारे होटेलहरू ‘होटेल अन्नपूर्ण’, ‘होटेल र्‍याडिसन’, ‘होटेल म्यारिएट’ हुँदै होटेल एभरेष्टसम्म पुग्यौं, अवस्था दयनीय छ । कोरोना कहरसँग पाँचतारे होटेलहरू निरिह प्रायः छन् ।

भाइरस संक्रमण जोखिमका कारण राजधानीका मात्र होइन मुलुकभरका पाँचतारे होटलहरु सुनसान अवस्थामा छन् । भाइरसको जोखिम न्युनिकरणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राट्रिय उडानमा प्रतिबन्ध लगाएको छ भने, आन्तरिक तथा वाह्य पर्यटन पूर्ण ठप्प छ । यही अवस्थाले मुलुकभरीका पाँचतारे होटलहरु सुनसान बनेका हुन् ।

एयरलाइन्स तथा टूरहरु पूर्णरुपमा प्रभावित भएका कारण कुनै बेला खचाखच हुने पाँचतारे होटलहरु सेक्युरिटी गार्ड र सिमित कर्मचारीका भरमा अस्तित्व बचाउन बाध्य छन् । पाँचतारे होटल मात्रै होइन, हाल मुलुकभरीका सबै होटल व्यवसायहरु नराम्रोसँग प्रभावित बन्न पुगेका छन् । पर्यटन प्रबद्र्धनका लागि आउने विदेशी पर्यटकले चल्ने ठूला पाँचतारे होटेलहरुले अहिले कुनै आम्दानी गर्न सकेका छैनन् ।

अहिले मुलुकभरी सोल्टी होटल, तारागाउँ (ह्यात) रिजेन्सी, याक एण्ड यति, होटल सांग्रिला, होटेल डेल अन्नपूर्ण, द मल्ल होटल, होटेल एभरेष्ट, र्‍याडिशन होटेल, मेरियट होटल, सोल्टी वेस्टेन्ड प्रिमियमः नेपालगन्ज, टाइगर प्यालेशः तिलोत्तमा, फूलबारी रिसोर्ट : पोखरा र होटल सेन्ट्रल प्लाजा, कोहलपुर गरि १३ वटा पाँचतारे होटल रहेका छन् । त्यसमध्ये पोखराको फूलबारी रिसोर्ट बन्द अवस्थामा छ ।

सधैं पाहुनाहरूले भरिभराउ हुने पाँचतारे होटल यतिबेला सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाहेक होटलमा अन्य कर्मचारी पनि छैनन् । विदेशी पर्यटक र भीआइपीहरुको अड्डाका रुपमा रहने यी होटलहरू भाइरस चपेटामा नमज्जाले गाँजिएका छन् । मानिस एक्लै बस्ने हो भने डर लाग्ने अवस्था छैन भन्न सकिन्न ।

कोरोना माहामारीका कारण होटलहरुलाई कर्मचारी व्यवस्थापनको विषय हाउगुजी नै बनेको छ । आम्दानी शून्य हुँदा व्यवस्थापन आफैंमा जटिल विषय हो । त्यसमा पनि कोरोना माहामारीको अन्त्य कहिले हुने हो त्यसमै अन्यौलता सृजना हुँदा कर्मचारी व्यवस्थापनको मुद्दा हाउगुजी बन्न पुगेको हो । यद्यपि होटल एसोशिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणाले अहिले होटलमा कार्यरत कर्मचारीलाई बिहान बेलुका छाक टार्ने गरि भने व्यवस्थापन गरेको बताइन् ।

होटेलहरू आफैं समस्यामा रहेको र आगामी दिनहरुमा समस्या झन जटिल बन्दै गए कर्मचारी व्यवस्थापनका विषयमा थप छलफल गरेर अगाडि बढ्ने राणाको भनाइ छ । लकडाउनको अन्त्यसँगै प्रतिदिन कोरोना संक्रमितको संख्या पनि बढ्दै गएकाले काठमाडौं उपत्यकासहित झण्डै ५० जिल्लामा पुनः निषेधाज्ञा लागू भएको छ । त्यससँगै साउन १५ गतेदेखि सञ्चालनमा आएका होटल तथा रेष्टुरेन्टहरु पुनः बन्द भएका छन् ।

कोरोनाले होटल व्यवसाय थलिन थालेपछि पाँचतारे होटलहरुले स्वेच्छिक अवकास योजना (भिआरएस) ल्याउन थालेका छन् । तथापि यस अघि नै होटल एशोसिएशनले कुनै पनि कर्मचारीलाई ननिकाल्ने गरी सम्झौता गरिसकेका छन् तर आम्दानी नभएपछि कर्मचारी पाल्न पनि धौधौ भएको छ ।

श्रम ऐन अनुसार कुनै पनि श्रमिकलाई कामबाट निकाल्न पाईंदैन । त्यसैले होटलहरुले स्वेच्छिक अवकाश योजना ल्याउन थालेका हुन् । एशोसियशनका उपाध्यक्ष बिनायक श्रेष्ठले स्वेच्छिक रुपमा कुनै पनि कर्मचारी जान सक्ने बताए । तर होटलहरुले जबरजस्ती कटौती नगरेको उनको भनाइ छ । होटल व्यवसाय कहिलेदेखि लयमा फर्कने हो भन्ने यकिन छैन । केही समयपछि सुधार आउला भन्ने आशामा अहिले पनि कर्मचारीको खातामा निरन्तर रुपमा पैसा हालिरहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । होटल व्यवसाय क्षेत्रबाट कुनै पनि कर्मचारी अवकाश हुँदा ५० लाखको हाराहारीमा रकम आउने भएकाले अवकाशपछि पनि कुनै व्यवसाय गर्न सक्छन् ।

सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर २० लाख पर्यटक ल्याउने गरी उत्साहका साथ जनवरी १ अर्थात् पुस १६ गते नेपाल भ्रमण वर्ष २०२० को उदघाटन गरेको थियो । सरकारले भ्रमण वर्ष मनाउने तयारी गर्दै गर्दा निजी क्षेत्रका होटलहरुले पर्यटकहरुलाई सुविधा सम्पन्न सहितको सेवा दिनका लागि ठूलो लगानी लगाएका होटल व्यवसायी यतिबेला मर्कामा परेका छन् । भ्रमण वर्ष २०२० स्थगित भइसकेको छ ।

त्यस्तै, कोरोना कहरले सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । पर्यटन क्षेत्रभित्र होटल, रेष्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ र हवाई क्षेत्र पर्दछन् । चैतदेखि अहिलेसम्म यी कुनै पनि क्षेत्र सञ्चालनमा आएका छैनन् । यो क्षेत्र अति प्रभावित क्षेत्रमा परेको छ । अति प्रभावित भएकाले राष्ट्र बैंकले राहत प्याकेजको पनि घोषणा गरेको थियो ।

त्यस्तै, सरकारले आर्थिक क्षेत्रलाई कोरोना महामारीकै बीच पनि चलायमान बनाउनका लागि सधैं बन्द गरेर भन्दा पनि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरेर उद्योगहरु सञ्चालन गर्न अनुमति दिएको छ । तर पर्यटक नै नभई होटल व्यवसाय कसरी संचालन गर्ने आफैंमा अन्यौलग्रष्त छ ।

नेपालमा अहिले समग्रमा ३३ सय भन्दा बढी ठूला रिसोर्ट तथा तारे होटेलहरूमा १५ लाख भन्दा बढी श्रमिकहरु आबद्ध रहेका छन् । होटल नै संचालन नभएपछि यी कर्मचारीको रोजगारी नै संकटमा परेको छ । कोरोनाका कारण नेपालमा मात्रै नभएर अन्य धेरै देशहरूलाई पर्यटन क्षेत्रमा असर परेको छ ।

कोरोना भाइरसका कारण विश्व पर्यटन क्षेत्रले इतिहासमा पहिलो पटक ठूलो आर्थिक गिरावटको सामना गर्नु परेको छ । मुलुकको प्रमुख आम्दानीको स्रोत मध्येकोे रुपमा रहेको पर्यटनमा परेको असरले विश्वका आधिकांश देशहरुको अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सन् २०१९ मा विश्वव्यापी यात्रा र पर्यटनले विश्वको जीडीपीमा ८ दशमलव ९ ट्रिलियन डलर योगदान पुर्याएको थियो । यद्यपि ८ महिनादेखि लगातार रुपमा फैलिएको महामारीका कारण विश्व पर्यटनमा २०२० को चार महिनामा विश्वभर १९५ अर्ब डलर राजश्व घाटा भएको छ ।

सम्बन्धित समाचारहरु