#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31280603965668746014722854788
नेपाल652764271761147238

कोरोना प्रभाव : किसानलाई नास्पाती बारीमै कुहिने चिन्ता

काठमाडौं ।

कोरोना भाइरस (कोभिड-१९) ले विश्वभरी नै ठूलो जनधनको क्षति गरेको छ । गत वर्षको डिसेम्बरमा चीनको उहानबाट उत्पत्ति भएको कोभिड-१९ बाट विश्वभरी करोडौँ जनता प्रभावित भएका छन् । नेपालमा पनि कोरोनाले नराम्ररी प्रभावित गरेको छ । हजारौँको संख्यामा संक्रमित छन् भने, २ सय भन्दा बढीको मृत्यु भइसकेको छ । यति मात्रै होइन उद्योग धन्दा व्यापार व्यवसाय पनि ठप्प प्रायः छन् । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफूल बजार अभावमा कुहिएर जाने अवस्थामा रहेको छ ।

निषेधाज्ञाका कारण विक्रि नभएर भक्तपुरको सूर्यविनायक नगरपालिकामा दूध सडकमा फ्याकिएको भदौ १३ गते मात्रै हो । संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्पूर्ण सरोकारवालाको ध्यान कोरोना नियन्त्रणतर्फ केन्द्रीत हुँदा किसानका उत्पादन सडकमा फालिने, बारीमा कुहिएर जाने घटना घट्नु नौलो कुरा होइन । सम्पूर्ण राज्यशक्ति कोरोना केन्द्रीत हुँदा आफ्नै बारीको उत्पादन बजारसम्म पु¥याउन नपाउँदा किसानहरु पीडित त बनेका छन् नै जीविकोपार्जनका आधार नै खोसिएको महसुस पनि गर्न थालेका छन् ।

संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बारीमै कुहिने अवस्थामा पुगेको छ । नास्पाती फल्ने मूख्य सिजन, नास्पाती विक्रिबाट आएको पैसाले घरखर्च धान्दै आएका त्यहाँका अधिकांश किसानलाई कोरोनाको भन्दा कोरोनाका कारण आफ्नो उत्पादन बारीमै कुहिने चिन्ताले पिरोलेको छ ।

विगतमा स्थानीय ठेकेदारहरुले बारीमै पुगेर नास्पाती किन्ने गरेकोमा यो वर्ष कोरोना र कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन (निषेधाज्ञा) का कारण आएका छैनन् । दक्षिणकाली नगरपालिका ८ छैमलेका तेजबहादुर लामालाई नास्पातीको बजार व्यवस्थापन कसरी गर्ने भन्दा बारीमै कुहिएर खेर जाने पो हो की भन्ने चिन्तामा छन् । गत वर्ष ९० हजार बराबरको २ सय बोरा नास्पाती विक्रि भएका उनको खेतबारीमा ३४ बोट नास्पाती छन् । यो वर्ष पनि २ सय बोरा भन्दा बढी फले पनि विक्रि नै नहुँदा घरखर्च कसरी धान्ने लामालाई समस्या परेको छ ।

विगत वर्षहरुमा प्रतिव्यक्ति कम्तिमा ७० हजार देखि १ लाखसम्मको नास्पाती विक्रि गर्दै आएका त्यहाँका किसानहरु यो वर्ष सिजन सकिँदै लाग्दा पनि बजार व्यवस्थापनमा समस्या हुँदा समस्यामा परेका हुन् । जीविका चलाउने आधार नै नास्पाती भए पनि विक्रि नहुँदा सरकारले व्यवस्थापन गरिदिए सजिलो हुने किसान पूर्ण बहादुर तामाङले बताए ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले पूर्वाधार निर्माण, उपचार र स्वास्थ्य संस्थाहरुको व्यवस्थापन गरिरहेको छ, यो सकारात्मक पक्ष नै हो । तर महामारी नियन्त्रणका क्रममा हुने निषेधाज्ञा तथा लकडाउनका कारण किसानको उत्पादनले उचित बजार नपाउदा कुहिने अवस्थामा रहेका फलफूल, तरकारी लगायतका स्थानीय उत्पादनको व्यवस्थापनमा पनि ध्यान दिनु पर्ने देखिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार