#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30391828951229737540922065190
नेपाल615933901738343820

राष्ट्रिय सभामा जाने उपाध्यक्ष गौतमको मनसाय

फाइल फोटो

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्ने मनसाय राखेका छन् । सोमबार उपाध्यक्ष गौतमले आफ्नो सचिवालयमार्फत् राष्ट्रिय सभा सदस्य बन्ने मनसाय राखेका हुन् ।

गत फागुन १० मा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । साथै, उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनका लागि अनौपचारिक कार्यदल समेत गठन गरेको थियो । अहिलेको कानुनी व्यवस्था अनुसार राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न पाउँदैनन् ।

संविधान संशोधन गर्न गठित कार्यदलबारे समाचार सार्वजनिक भएसँगै कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न लागिएको भन्दै सत्तापक्ष र प्रतिपक्षी दलबाट चर्को आलोचना गरिएको थियो । कार्यदलबारे चर्को आलोचना भएपछि फागुन १४ मा बसेको सचिवालय बैठकले उक्त कार्यदल भंग गर्ने निर्णय गरेको थियो भने उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय समेत गरेको थियो । तर बैठक सकिएको केही समयमा नै प्रधानमन्त्री ओलीले आफ्नै अध्यक्षतामा बसेको सचिवालयको निर्णय नमान्ने बताएका थिए ।

उनले सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडालाई पुनः राष्ट्रिय सभामा लैजान चाहेका छन् । दुई वर्षे कार्यकाल पूरा भएपछि डा. खतिवडाले गत फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । पछि २१ गते पुनः अर्थमन्त्रीमै शपथ लिएका थिए । सोही अनुसार उनको छ महिने कार्यकाल पनि यहि भदौ २० मा पूरा हुँदैछ । अहिले डा. खतिवडा संघीय संसदको सदस्य विना नै मन्त्री बनेका छन् ।

संवैधानिक व्यवस्था अनुसार मन्त्री, उपप्रधानमन्त्री, राज्यमन्त्री र सहायकमन्त्री बन्न प्रतिनिधि सभा सदस्य हुनु अनिवार्य छैन । तर धारा ७८ (२) अनुसार शपथ ग्रहण गरेको ६ महिनाभित्र संघीय संसदको सदस्य हुुन भने अनिवार्य छ । अब पनि अर्थमन्त्रीमा डा. खतिवडालाई नै निरन्तरता दिनका लागि भदौ २० गते अगाडि नै उनलाई राष्ट्रिय सभामा मनोनित गर्नु पर्ने हुन्छ । जुन अहिलेको अवस्थामा निकै कठिन देखिएको छ ।

नेकपा सचिवालयका अधिकांश सदस्यहरु उपाध्यक्ष गौतमलाई नै अगाडि बढाउने पक्षमा देखिएका छन् । एक सीटका लागि दुई जना मैदानमा उत्रि‌दा नेकपामा विवाद चुलिएको छ । वैशाख ११ गते उपाध्यक्ष गौतम निवासमा असन्तुष्ट नेताहरु भेला भएका थिए । उक्त भेलाले ओली विरुद्ध निर्णायक संघर्ष गर्ने तयारी समेत गरेको थियो ।

पार्टीभित्रबाट पद छाड्न तीव्र दबाब आएपछि ओलीले वैशाख १७ मा बसेको सचिवालय बैठकमा कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने संविधान संशोधनमार्फत गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीबाट यस्तो प्रस्ताव आएपछि उपाध्यक्ष गौतम लचिलो भएका थिए । जसको फलस्वरुपः ओलीले राजीनामा दिन नपर्ने पक्षमा उभिएका थिए । सचिवालयमा ओलीको पक्षमा बहुमत जुटेपछि तत्कालका लागि ओलीको राजीनामा रोकिएको थियो भने उपाध्यक्ष गौतम पनि राष्ट्रिय सभामा जाने बाटो तत्कालका लागि बन्द भएको थियो ।

प्रधानमन्त्री ओलीले भने जसरी पनि अर्थमन्त्री खतिवडालाई सांसद बनाउने पक्षमा रहेका छन् । स्रोतका अनुसार उपाध्यक्ष गौतमले केही दिन अगाडि प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै खतिवडालाई राष्ट्रिय सभामा लैजाने प्रस्तावको विरोध गरेका थिए । तर पनि भदौ १२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेको बताएका थिए । ओलीको उक्त कुरा अध्यक्ष दाहालले आफू निकट नेताहरुलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले एक निजी टेलिभिजनमा अन्तर्वार्ता दिँदै उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय स्वतहः खारेज भएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति सार्वजनिक भएपछि उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउन पार्टीले गरेकोे निर्णय कार्यान्वय गर्न माग गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यको एक सीट रिक्त रहेको छ । राष्ट्रिय सभामा कुल ५९ सदस्य रहेका छन् । जसमा सात प्रदेशबाट आठ आठ जना विभिन्न कोटाबाट निर्वाचित भएर कूल ५६ जना सदस्य आउँछन् । बाँकी रहेका तीन सदस्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार मन्त्रिपरिषद्को सिफारिसमा रामनारायण विडारी र विमला राई पौड्याल राष्ट्रपतिबाट मनोनित सांंसद बनेका छन् भने एक सदस्यको सीट अझै रिक्त रहेको छ ।

उपाध्यक्ष गौतमले ओलीबाट सरकार र पार्टी प्रभावकारी रुपमा चल्न नसकेको भन्दै राजीनामा माग गरेका थिए । तर गौतमले अचानक गत साउन १३ मा ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री र महाधिवेशनसम्म पार्टी अध्यक्षबाट हटाउन नहुने सहमतिको प्रस्ताव अगाडि बढाएका थिए । सोही दिन प्रधानमन्त्री ओलीले पत्नी राधिकाको साथमा गौतमलाई उनकै निवासमा भेटेका थिए । जसलाई ओलीको ‘डिनर डिप्लोमेसी’ का रुपमा लिइएको थियो ।

त्यसपछि वैशाख २० मा फेरि सचिवालय बैठक बस्दा गौतमले आफू राष्ट्रिय सभामा नजाने बताएका थिए । गौतम आफैं नजाने बताएपछि उक्त बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा उम्मेदवार बनाउने र प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको थियो । सोही अनुसार गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने अर्को निर्णय गरेको थियो ।

उपाध्यक्ष गौतमले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका बेला प्रतिनिधि सभामा निर्वाचित भइ सांसद बन्न असम्भव भएको बताउँदै आएका छन् । त्यसैले उनले एकाएक राष्ट्रिय सभामा जाने मनसाय अगाडि सार्नुले प्रधानमन्त्री ओली थप समस्यामा परेका छन् । एक पदमा दुई जनाको व्यवस्थापन कसरी हुन्न भन्ने निर्णय बिहीबार बस्ने सचिवालय बैठकले गर्नेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार