कोरोना त्रास : वैकल्पिक पढाइबारे अन्योल

कोरोना त्रास : वैकल्पिक पढाइबारे अन्योल


काठमाडौं ।

कोरोना भाइरस संक्रमण त्रासका कारण बन्द भएको विद्यालय तहको पढाइ सुचारु गर्ने विषयमा शिक्षा मन्त्रालयका अधिकारी अझै निर्णयमा पुग्न सकेका छैनन् । अनलाइन माध्यमको प्रयोग, स्थानीय सञ्चार माध्यम (जिल्ला तहमा रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिका) को प्रयोग वा स्थानीय तहमा सहजकर्ता राखेर पढाइ सञ्चालन गर्न सकिन्छ कि भन्ने विषयमा मन्त्रालयका अधिकारी र यस क्षेत्रका विज्ञबीच विभिन्न चरणमा छलफल भएको छ । तर, यो माध्यमको प्रयोगको प्रभावकारिताका विषयमा ती अधिकारी नै विश्वस्त हुन सकेका छैनन्।

केही विश्वविद्यालय र क्याम्पसले अनलाइनमार्फत पढाइ सञ्चालन गरेका छन् । तर, त्यो प्रभावकारी भएको छैन । विश्वविद्यालय तहको पढाइसमेत अनलाइन माध्यमबाट सुचारु गर्न नसकेको अवस्थामा विद्यालय तहमा यसको प्रयोग गर्न सकिँदैन कि भन्ने शंका मन्त्रालयका अधिकारीमा छ । कोरोना भाइरस संक्रमण त्रासका कारण लकडाउन अवधि वैशाख २५ सम्मलाई तोकिएको छ । लकडाउन टुंगिएपछि पनि सबैभन्दा ढिलो खुल्ने क्षेत्रमा विद्यालय पर्ने शिक्षा मन्त्रालयले बताउँदै आएको छ।

भाइरसको त्रास साम्य भएपछि पनि केही समय पढाइ सुचारु गर्न नसकिने भएका कारण पढाइका वैकल्पिक तरिकाबारे छलफल भएको हो । मन्त्रालयले केही समय अघि पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहको संयोजकत्वमा समिति बनाएर पढाइ, परीक्षा प्रणाली तथा अन्य विषयलाई सुचारु गर्ने विषयमा अध्ययन गरेको थियो।

सोही समिति अन्तर्गत रहेर विभिन्न ६ वटा विषयगत उपसमितिसमेत गठन भएको थियो । नेपाल खुला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माको संयोजकत्वमा गठित उपसमितिले पढाइका विभिन्न विकल्पबारे अध्ययन गरी प्रतिवेदन बुझाएको थियो।

शर्माले भने, ‘नेपाल जस्तो भौगोलिक विकटता भएको मुलुकमा एउटै विधि मात्र पढाइको विकल्प छैन । अनलाइनमा पढाउनेदेखि स्थानीय सञ्चार माध्यमको प्रयोग र सहजकर्ता परिचालनसम्म गर्नु पर्ने सुझाव हामीले दिएका छौं ।’ तर, पहिलो अनुभव भएका कारण यो सबै विद्यार्थीको पहुँचमा पुर्‍याउन भने कठिन हुने उनको बुझाइ छ। अन्नपूर्णबाट

Logo