#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30691723956420740102222334281
नेपाल615933901738343820

एकाएक चर्चामा गुर्जोको लहरो : अब कोसेलीमा पनि गुर्जो नै

म्याग्दी ।

पोखरादेखि काठमाडौंसम्मका आफन्त र साथीभाइलाई उनले अचेल नयाँ कोसेली पठाउन थालेका छन्–गुर्जो । सदरमुकाम बेनीबजारका बालकृष्ण सुवेदी, जो ३ महिनादेखि आफैं पनि नियमित गुर्जो सेवन गरिरहेका छन् । आयुर्वेद चिकित्सामा रोग प्रतिरोधात्मक क्षमता बढाउन र विभिन्न रोग उपचारमा गुर्जोको उपयोग हुँदै आएको उनले उहिल्यै थाहा पाएका हुन् ।

तर पछिल्लो समय महामारीका रूपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि भने नियमित सेवन गरिरहेका छन् ।

‘गुर्जोको नियमित सेवनले शरीर स्फूर्ति बढेको महसुस गरेको छु,’ उनले भने, ‘मैले कोसेली पठाएको गुर्जो सेवन गरिरहेका पोखरादेखि काठमाडौंसम्मका आफन्त र साथीभाइले पनि फाइदा पुगेको प्रतिक्रिया दिइरहेका छन् ।’ उनले मात्र नभई परिवारका सबैले गुर्जो सेवन गरिरहेका छन् । गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढ्ने र कोरोना संक्रमणलाई रोक्न मद्दत गर्ने सुनेपछि कार्यालयमा नियमित रूपमा बिहान, दिउँसो र साँझ चियाका रूपमा सेवन गर्दै आएको कालीगण्डकी करिडोर २२० केभीए प्रसारण लाइन बेनीका सहायक प्रबन्धक यादव न्यौपानेले बताए ।

‘चिया बनाएर खाँदा टर्रोपन पनि हुँदैन,’ उनले भने, ‘कार्यालयका सबैले नियमित सेवन गरेपछि स्फूर्ति बढेको अनुभव भएको छ ।’

केही महिना अघिसम्म आयुर्वेद उपचारमा चासो राख्ने थोरैलाई बाहेक कुनै चर्चा र चासो थिएन गुर्जोबारे । वनपाखा र खेतबारीमा प्रशस्त पाइने गुर्जो प्रायः खेर गइरहेको थियो । तर अहिले एकाएक गुर्जोको लहरो चर्चामा छ । गाउँघर, सहरबजारमा सेवन बढेको त छ नै, आफन्त र इष्टमित्रलाई पठाउने बहुमूल्य उपहार (कोसेली) बन्न थालेको छ ।

विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसको कुनै औषधि र उपचार पद्धति विकास नभएको अवस्थामा आयुर्वेद चिकित्सकले कोरोनासँग लड्न गुर्जो लहरोको रस सेवन गर्न सुझाएपछि खोजीखोजी सेवन थालिएको हो ।कान्तिपुरबाट

सम्बन्धित समाचारहरु