#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व331833421000360767547924507503
नेपाल733944771901953898

अभिनेत्री श्वेता खड्का नयाँ फिल्म मार्फत आउँदै

काठमाडौं ।

गत वर्ष सूर्य बोहराको चलचित्र हलो जिन्दगीको लन्डनमा छायांकन गरिरहँदा घाँटीमा ट्युमर देखिएपछि मुखमा प्यारालाइसिस समेत भयो । सो ट्युमर अप्रेसनका लागि अभिनेत्री श्वेता खड्काले सो फिल्मको काम छोड्नुपरेको थियो । जसमा उनको ठाउँमा अर्को नायिकालाई लिएर छायांकन गरिएको थियो ।

भारतको दिल्लीमा केही समय बसेर आफ्नो उपचार गराएकी अभिनेत्री श्वेता अहिले पूर्ण रुपमा ठीक भइसकेकी छिन् । अब भने उनी फिल्ममा आउने भएकी छिन् । उनको नयाँ चलचित्र रिलिज नभएको तीन वर्ष पुग्न लागेको छ । तीन वर्ष अघि अभिनेत्री श्वेता चलचित्र ‘कान्छी’मा देखिएकी थिइन् ।

अभिनेत्री श्वेताले यतिबेला आफू नयाँ फिल्ममा अनुबन्धित भएको बताएकी छिन् । सो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गर्न बाँकी रहेकाले अहिले खुलाउन नमिलेको उनले बताएकी छिन् । श्वेतालाई सो फिल्मको कथा साह्रै मन परेपछि आफूले फिल्म खेल्न एग्रिमेन्ट गरेको बताएकी छिन् ।

यम थापाको निर्देशनमा बन्ने नयाँ फिल्ममा श्वेताले काम गर्न लागेकी हुन् । ‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यमले यो नयाँ चलचित्रमा श्वेतालाई आमाको भूमिकामा उतार्ने भएका छन् । श्वेताको छोरीकी रूपमा सेड्रिना शर्मालाई लिने भनिएको छ ।

अहिले आफ्नो व्यापार व्यवसायमा व्यस्त रहेकी श्वेताले चलचित्रलाई पनि निरन्तरता दिने बताएकी छिन । दिवंगत पति श्रीकृष्ण श्रेष्ठले उनलाई फिल्म कहाँ भेटिएलाबाट नायिकाको रूपमा ल्याएका थिए । त्यसैले, आफ्नो पतिको त्यो सपना पूरा गर्न पनि श्वेताले फिल्ममा नायिकाको रूपमा निरन्तरता दिने भएकी हुन् ।

नयाँ फिल्ममा अनुबन्धितबारे अभिनेत्री श्वेताले भनिन्, ‘अनुबन्धित भएको कुरा सही हो । कथा राम्रो लागेपछि काम गर्नका लागि सहमति जनाएको हुँ र अहिले त्यसको तयारीमा जुटेकी छु ।’ उनले अगाडि थपिन्, ‘कोरोना महामारीपछि यही फिल्म गर्नेछु । त्यसपछि आफ्नै प्रोडक्सन हाउसबाट नयाँ फिल्म निर्माण गर्दैछु र त्यसको पनि अहिले कथामा काम हुँदैछ ।’राजधानीबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार