#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30372552950941736416122057450
नेपाल595733831624142949

निषेधाज्ञाको १४ औं दिन आज : यस्तो देखियो काठमाडौं (फोटोफिचर/भिडियो)

काठमाडौं ।

आज काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको १४ दिन पुगेको छ । कोरोना संक्रमणको न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते यता निषेधाज्ञा जारी गरेका छन् ।

निषेधाज्ञाको आज (बुधबार) अन्तिम दिन समेत रहेको छ । निषेधाज्ञाका कारण जनजीवन प्रभावित भए पनि मानिसहरुले पूर्णरुपमा पालना गरेका छन् । आज उपत्यकाका विभिन्न स्थानमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ । मुख्य सडकमा अत्यावश्यक सेवाका सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनमा आएको देखिन्छ । प्रहरीले सडकको मुख्य चोकचोकमा बसेर सवारी साधनको चेकजाँच गरेको छ । अत्यावश्यक सेवा बाहेक पनि सवारी सञ्चालन गर्नेहरुलाई सडकमा होल्ड गरी कारबाही गरेको देखिन्छ ।

उपत्यकाका भित्रि सडकहरु पनि सुनसान देखिन्छन् । बिहानको समयमा खाद्य सामग्री, दुग्धजन्य वस्तु, तरकारी, फलफूल लगायतका पसलहरु खुलेको देख्न सकिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्ने गरेका छन् । समग्रमा जनजीवन प्रभावित भए पनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ ।

यता उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएको छ ।


मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताए । कुराकानीमा फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए । उनले अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझै पनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्णरुपमा नियन्त्रणमा लिन कर्फ्यु नै उत्तम विकल्प भएको बताए ।

कोभिड १९ संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्णरुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनले बताए । त्यसका लागि आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए ।

उपत्यकामा भदौ तीन गते मध्यरातदेखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज (बुधबार) मध्यरातदेखि सकिंदैछ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार