बुद्ध एयरद्वारा यात्रु सुरक्षाका लागि नयाँ सुरक्षा निर्देशिका तयार

बुद्ध एयरद्वारा यात्रु सुरक्षाका लागि नयाँ सुरक्षा निर्देशिका तयार


काठमाडौं ।

पछिल्लो समय विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सबैलाई आतंकित बनाएको छ । यसको नियन्त्रण तथा रोकथामको लागि अहिले विश्व नै लकडाउनमा छ। नेपाल पनि यति बेला लकडाउनमा छ। यसरी लकडाउनले गर्दा नेपालका उद्योग व्यवसाय, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलगायत सबै क्षेत्र ठप्प रहेका छन् ।

लकडाउन कहिलेसम्म हुने हो अझै पनि कसैलाई थाहा छैन । तर, रोग नियन्त्रणमा आएपछि भने यी सबै क्षेत्र सञ्चालनमा आउने छन् । सञ्चालनमा आउँदा सुरक्षाका विषयमा केही परिवर्तन भएर आउने देखिएको छ। यति बेला लकडाउनपछि हवाई उड्डयन सेवा पुनः सञ्चालनमा आउँदा अपनाइने सुरक्षा सतर्कताका लागि बुद्ध एयरले नयाँ सुरक्षा निर्देशिका तयार पारेको छ।

बुद्ध एयरले कोरोना भाइरसले पर्ने प्रभाव तथा यसको जोखिमलाई ध्यानमा राख्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुको सुरक्षाका लागि निर्देशिका बनाएको हो । बुद्धले मुलुकका बिभिन्न गन्तव्यमा आन्तरिक र भारतका पनि केही शहरमा उडान गर्दै आएको छ।

निर्देशिका अनुसार कोरोना संक्रमण जोखिम कम नहुन्जेलसम्म आन्तरिक हवाई उडान सुरु भएपछि बुद्धका जहाजमा यात्रुले शौचालय प्रयोग गर्न पाउने छैनन् तथा जहाजमा पानीबाहेकका खानेकुरा बाँड्ने क्याटरिङको सेवा पनि दिइने छैन । कम्पनीले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यात्रुलाई बुद्ध एयरको कार्यालय, कार्गो, टिकट काउन्टरका साथै विमानस्थल परिसरमा रहँदा अनिवार्य मास्क प्रयोग गर्नु पर्ने निर्देशिकामा उल्लेख गरेको छ।

कम्पनीले तयार पारेको निर्देशिकामा उल्लेख गरिए अनुसार यात्रुले उडानका लागि अपनाइने पहिलो प्रक्रिया अर्थात फ्लाइट चेक इन काउन्टरदेखि ब्यागेज बुझ्ने समयसम्म अनिवार्य मास्क लगाउनै पर्नेछ ।

कम्पनीले बजारमा उपलब्धताको आधारमा उचित मूल्यमा विमानस्थलमै मास्क बिक्री गर्ने, चिसो भिजेको र च्यातिएको मास्क लगाएर उडानमा सहभागी हुन नपाइने वा यस्ता यात्रुलाई कम्पनीले उडानमा प्रतिबन्ध लगाउने प्रावधान बनाएको छ। त्यस्तै रुघा, खोकी, जिउ दुख्ने लगायत लक्षण देखिएका यात्रुलाई हवाई यात्रामा प्रतिवन्ध समेत लगाइने भएको छ।

कम्पनीले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै चेक इन काउन्टरमा विशेष स्क्रिनिङका आधारमा यात्रुलाई उडान गर्ने व्यवस्था मिलाइने, उडान सुचारु भएपछि तत्काल श्वासप्रश्वास रोगीहरुलाई उडान निषेध गरिएको छ । कम्पनिले कोभिड १९ को लक्षण देखिएका यात्रुले अनिवार्य रुपमा कम्पनीलाई पूर्व जानकारी दिन निर्देशन समेत दिएको छ।

कोरोनाको संक्रमण जोखिम नहोस् भनेर कम्पनीले उडान अवधिभरी जहाजको शौचालय प्रयोगलाई निषेध गरिएकाले कोभिड १९ को जोखिम नियन्त्रण नभएको अवधिसम्म यात्रुहरुले बोर्डिङ हुनु अघि नै शौचालय प्रयोग गर्नुपर्ने जनाइएको छ। संक्रमणबाट जोगिन कम्पनीले विमानस्थल, चेक इन काउण्टर, र्‍याम्प बस, टिकेटिङ काउण्टर, कार्गो लगायत स्थानमा एक आपसमा घटीमा १ मिटरको दूरी कायम गर्नुपर्नेछ । कम्पनीले बोर्डिङ हुनु अघि सबैको हात स्यानिटाइज गराइने र एक पटकमा सिट नम्बर अनुसार चार जनालाई प्रवेश गराइने र ओराल्दा पनि चार जनाको दरले ओराल्ने कम्पनीले जनाएको छ।

कम्पनीले कोभिड १९ नियन्त्रण नभएसम्म पिउने पानी बाहेक क्याटरिङ सेवा बन्द गर्ने, तत्कालका लागि कम्पनीले हवाई उडानमा घरपालुवा जनावर ओसारपसार गर्न नपाइने व्यवस्था समेत लागू गरेको छ । बुद्धले आफ्ना कर्मचारी, कार्यालय, मर्मत सम्भारस्थल, सवारी साधन र विमानस्थलमा रहेका मेशिन संयन्त्रलाई संक्रमणरहित बनाउनका लागि छुट्टै निर्देशिका तयार पारेको छ । आवश्यक सरसफाइका लागि कम्पनीले सफा कुचो, झाडु, सफा कपडा, स्यानिटाइज्ड स्प्रे लगायत प्रयोगमा उच्च प्राथमिकता दिने जनाएको छ।

कम्पनीले बारम्बार हातले छोइने वा प्रयोगमा आउने स्थान तथा वस्तुहरूलाई हरेक दुई घण्टाको अन्तरालमा स्यानिटाइज गर्ने जनाएको छ । टिकट काटेर उडान हुने दिन रिपोर्टिङ नगर्नेलाई अर्को उडानमा सहभागी नगराउने कम्पनीले जनाएको छ। कम्पनीले आगामी दिनमा र्‍याम्प बसको क्षमताको ७५ प्रतिशत हुने गरी मात्र यात्रुलाई सेवा दिइने जनाएको छ।

यसरी कम्पनीले तयार पारेको निर्देशिका आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ। नेपालमा गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउनका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ २ गतेसम्मका लागि सरकारले प्रतिबन्ध लगाएको छ ।

Logo