#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31280603965668746014722854788
नेपाल652764271761147238

सङ्क्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी

चितवन ।

जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्नेछन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा मानेको छ । सङ्क्रमित स्वास्थ्यकर्मीहरु चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता र अस्पताल प्रशासन हेर्नेछन् । जिल्लामा कूल सङ्क्रमितमध्ये २४ प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मी रहेको पाइएको छ ।

जिल्लामा सबैभन्दा बढी चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार सात चिकित्सक, ३३ नर्स, एक पारामेडीक्स र पाँच एटेण्डर (सहयोगी) गरी ४६ सङक्रमित भएकामा दुई जना निको भएका छन् । दोस्रो धेरै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४३ सङ्क्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार चिकित्सक तीन, नर्स १९, पारामेडीक्स एक , प्रशासनका दुई र १८ सहयोगी सङ्क्रमित भएका छन् ।

पुरानो मेडिकल कलेजमा ३६ सङ्क्रमित भएका छन् । कलेजका डा प्रिया पाठकका अनुसार १० चिकित्सक, २० नर्स, तीन पारामेडीक्स र तीन सहयोगी सङ्क्रमित भएका छन् । भरतपुर अस्पतालमा ३० सङ्क्रमित भएको सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनका अनुसार चिकित्सक सात, नर्स नौ, पारामेडीक्स चार, प्रशासनका दुई र सहयोगी आठ सङ्क्रमित भएका छन् ।

एनपिआई नारायणी सामुदायिक हस्पिटलका ६ मध्ये चिकित्सक एक, नर्स दुई, प्यारामेडीक्स एक, प्रशासनका एक र सहयोगी एक रहेको अध्यक्ष डा भक्तमान श्रेष्ठले जानकारी दिए। यसैगरी सेन्ट्रल अस्पतालमा तीन नर्स र दुई सहयोगी, मौलाकालिका अस्पतालमा दुई नर्स र दुई सहयोगी, आशा अस्पतालमा दुई नर्स र एक पारामेडीक्स, रत्ननगर बकुलहर अस्पतालमा एक चिकित्सक र एक नर्स, मनकामना अस्पतालमा एक नर्स, पुष्पाञ्जली हस्पिटलमा दुई प्यारामेडीक्स र एक सहयोगी सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार निजी मेडिकलका तीन, नेपाल रेडक्रस सोसाइटीका एक प्राविधिक र एक एम्बुलेन्स चालक सङ्क्रमित भएका छन् । जिल्लाका सात पालिकामध्ये भरतपुर क्षेत्रमा काम गर्ने चार, खैरहनीमा दुई र राप्तीमा एक स्वास्थ्यकर्मी सङ्क्रमित भएको उनले जानकारी दिए । अन्य दुई एम्बुलेन्स चालक पनि सङ्क्रमित भएका छन् । उपचारमा अहोरात्र खटिनेहरु नै सङ्क्रमित भएपछि अस्पतालको सेवा सञ्चालनमा कठिन भइरहेको निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुँवरले बताए। जिल्लाका स्वास्थ्य संस्था सबैले नियमित तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयमा अद्यावधिक नगरेको हुँदा सङ्ख्या अझ थप हुन सक्ने अनुमान गरिएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै गर्दा अन्यले पालो मिलाएर रातदिन उपचार गरेको बताउँछन् । स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा अस्पताल नियमित सञ्चालनमा निकै असजिलो हुने गरेको उनको भनाइ थियो । स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ्मा उनीहरुसँग काम गर्ने अन्य स्वास्थ्यकर्मी पनि पर्ने हुँदा अस्पताल बढी प्रभावित भएका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र रत्ननगर बकुलहर अस्पतालका प्रमुख डा विश्ववन्धु बगालेसमेत सङ्क्रमित भएपछि दुई अस्पताल निमित्तका भरमा चलिरहेका छन् ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार